चितवन, १५ पुस/रासस
चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरूको भीड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकोले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरू निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्छन् । पर्यटकको रोजाइमा विशेषगरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेका छन् ।

क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताए । उनले भने, “विगत केही दिनयता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ ।” पाण्डेको ल्यान्डमार्क फरेस्ट पार्कमा मात्रै अकुपेन्सी ७५ प्रतिशत रहेको छ ।

सौराहामा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिति पनि राम्रो रहेको उनले बताए । सङ्घका महासचिव गुणराज थपलियाले शनिवार सबै कोठा भरिएका र आइतवार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताए । युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उनको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ तारिखसम्मका लागि शतप्रतिशत बुकिङ भएका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा १६० हाराहारी होटल छन् । ती होटलमा सात हजारजनालाई एकै साथ सेवा दिन सक्ने क्षमता छ । होमस्टेसहित गणना गर्दा सौराहामा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन् । आइतवार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उनले बताए ।

सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जीप सफारी गर्न जान्छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जीप सफारी हुन्छ । भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जीप सफारी भइरहेको छ । ती जीपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ ।

निकुञ्जभित्र सौराहातर्पmबाट ३२ वटा जीपले अनुमति पाएका छन् । यस्तै, कसराबाट २० वटा, मेघौलीबाट नौवटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट छवटा र कुजौलीबाट दुर्ईवटा जीपले जङ्गल सफारीको अनुमति लिएका छन् ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताए । उनका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन् । जाडो मौसममा पर्यटकहरू यहाँ घुम्न रुचाउँछन् । आउँदा दिनहरूका लागि बूकिङ राम्रो छ । उनले भने, “अब हामीलाई आशावादी बनाएको छ ।”

सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिएका छन् । रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ । दशैंपछि पर्यटकको राम्रो चहलपहल भएको उनले बताए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका खतिवडाका अनुसार उनीहरूसँग भएका ३० वटा हात्तीले दैनिक तीनपटक पर्यटक घुमाइरहेका छन् । यद्यपि कतिपयले हात्ती चढ्ने पालोसमेत पाउन सकेका छैनन् । उनका अनुसार राति सौराहामैं बसेका पर्यटकहरूले पालो मिलाएर हात्ती चढेका भएपनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपयले हात्ती चढ्न पाएका छैनन् ।

सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ । तेस्रो मुलुकका पर्यटकहरू यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ । पटिहानीको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताए । पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here