- कुमारबन्धु रुपाखेती
एउटा हिन्दी गीत–इलु इलु क्या है, ये इलु इलु क्या है ? को अर्थ मैले आजसम्म बुझ्न सकेको छैन । तर अचेल म ‘सचिवालय’ के हो भन्ने बुझ्न तारन्तार प्रयास गरिरहेको छु । किनकि अस्ति महानगरपालिकामा छुटभैया नेताहरूको बथाने घम्साघम्सीपछि मेयर र उपमेयर दुवैले सचिवालयको हवाला दिंदै, सफाई पेश गर्दै आएका छन् । अहिले भने मेयर र उपमेयर दच्किंदै पर्दा पछाडि बसेर सचिवालयमार्फत जोरआजमाइस गर्न थालेका छन् । अनवरत प्रयासको नतीजास्वरूप मैले के बुझें भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू आफ्नो कार्यव्यस्तता मिलाउन, विभिन्न विषयमा जानकारी लिन विज्ञहरूको एउटा समूहलाई सरकारी सुविधा, तलब दिनेगरी सचिवालय स्थापना गर्दा रहेछन् । गणतन्त्र आएपछि आजकाल पाएको सुविधा हसुर्न ऐरुगैरु नत्थुखैरुहरू समेत विज्ञको नाममा लडन्ते, भिडन्ते र मगन्तेहरूको जमात जम्मा गरी सचिवालय खडा गर्न थालेका छन् । हामी महानगरवासी भएर पनि मेयर उपमेयरको पनि सचिवालय हुँदो रहेछ भन्ने कुरा अस्तिको जोर आजमाइसपछि बल्ल थाहा पायौं । खाने–पिउने रामे, चोट पाउने च्यामे भनेझैं झगडाका असली साझेदार मेयर, उपमेयरको सट्टा तिनका सचिवालयले घटनाको चिरफार र बेलिविस्तार भ्रामक विज्ञप्ति जारी गरेर प्रकाशमा ल्याए । जगजाहेर छ यो विवाद रकमी हो । मान्नुस् वा नमान्नुस् हाम्रो महानगर भ्रष्टाचारशून्यको सट्टा भ्रष्टाचारमुखी र कमिशनतन्त्रमा टिकेको छ । ‘लुट कान्छा लुट’को स्तरमा यहाँ ‘मिशन कमीशन’ हावी छ । भन्नेहरू त ६० र४० बिथोलिएपछि यो रँडाको मच्चिएको हो भन्छन् । पाठकहरूले ६० र ४० को अर्थ बुझ्नुभएकै होला । गणतान्त्रिक नेताहरूको व्यवहारले बिच्केको नेपाली जनता नेताहरूलाई इंगित गर्दै ‘नायक नहीं खलनायक है तू’ भनेको सरेआम सुनिन्छ । अस्ति बिहीवारको प्रतीक दैनिकमा मैले जनप्रतिनिधिहरूको कुटाइ–पिटाइको मौसम शुरू भएको लेखेको मात्र के थिएँ–कोशी प्रदेशमा एकजनाले ओलीबालाई झ्याप्प चडकाई हाले ।
अचेल तीन तहको सरकारमध्ये स्थानीय तहको सरकारको स्तर गिर्दो छ । कतै शिक्ष्Fकलाई तलब नदिने, कतै कर्मचारी नियुक्त गर्ने तलब नदिने, शिक्षकलाई हेप्ने, जनतालाई नटेर्ने, स्थानीय जनप्रतिनिधिहरूको हेपाहा प्रवृत्तिविरुद्ध पालिकामा ढुङ्गामुढा, प्रतिनिधिको गाडी तोडफोड, हातपात, गोली चलाचल भइरहेको छ । प्रत्येक पालिकाको डरलाग्दो बेरूजु छ । जति ठूलो पालिका, त्यति नै ठूलो कमिशन, भ्रष्टाचार र बेरूजु देखिन्छ । धुर्बे हात्तीझैं बलशाली, विनाशकारी र ताण्डव नृत्य गर्ने वीरगंज महानगरको त क्या बात १ बेरुजु तीन अर्ब पुगेको छ । जनताको कर, सरकारी अनुदान यिनको बपौती हो र खैरात बाँडेको ? खाने मुखलाई जुँगाले छेक्दैन तथा वीरगंज महानगरपालिकालाई धनकुबेरको अड्डा भनिन्छ । जसको वार्षिक बजेट अर्बमा हुन्छ, त्यसलाई धनकुबेर नै भन्नुपर्छ । पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भनेपछि एउटाले ‘नपाउनेले केरा पायो, बोक्रैसुद्धा खायो’ प्रवृत्ति देखाउन थालेपछि डाहा, छटपटी र विद्रोह हुने नै भयो । सङ्घीय सरकार त भागबन्डामा टिकेको छ भने नाथे स्थानीयमा एउटाले मात्र हसुर्न मिल्छ त ? भ्रष्टाचार र कमिशन इमानदारीपूर्वक भयो भने ठीक, भाइमारा र लुच्चगिरी पटक्कै बर्दास्त हुँदैन । एउटैले हिङ लगे न फिटकरी, रंग चोखा गर्न पाउँछ त ? यस झगडाले गर्दा विजय सरावगी फेसबूकमा चटखारा लिइरहेका छन् । अस्ति आफ्नाबीच सरावगीले व्यङग्य गर्दै भने रे–अब म जेल जाने कि मेयर, सबै गलल्ल हाँसेका थिए रे । महानगरका दुई धुर्बेबीचको झगडा परालको आगोजस्तै सल्किंदै छ । यो लोग्ने–स्वास्नीबीचको झगडा परालको आगोजस्तो त होइन नि १ यो विकराल रूप धारण गर्ने भागबन्डा, अंशबन्डाको झगडा हो । अनि अंशियार इम्तियाज बिचरी शान्ति कार्कीजस्तो कहाँ हुन् र १ जेतरे आई ओहितरे फरियाई भन्ने खालका हुन् ।
अनि राजेशमान पनि के कम ? ठाकुररामतिरबाट उनको हुल आउँछ भने यिनको स्वीमिङपुल कहिले काम लाग्छ ? ६० र ४० भन्दा त लडन्ते, भिडन्ते, मगन्ते पालेर निस्तेज गर्ने नीति लिन मेयर पनि बेर मान्ने देखिंदैनन् । खाईपाई मुस्तण्ड भएका केही चाटुकार वडा अध्यक्षहरूको साथ पनि छ मेयरलाई । त्यसैले सचिवालय–सचिवालयबीचको टक्कर भनिएको यो झगडा मलाई त वाहियात लागेको छ । हात हुँदाहुँदै मुखले किन कुरा गर्ने भन्ने यी दुवैको नीति नै छ । यसै पनि भनिएको छ, शरीरमा लागेको घाउ केही दिनमा निको हुन्छ, तर मुखले दिएको घाउ कहिले निको हुँदैन । भोलि फेरि कालेकाले मिलेर खाउँ भालेको परिस्थिति उत्पन्न हुन सक्ला, त्यसैले सधैंभरिका लागि घाउ लाउनुको साटो निको हुने घाउ नीतिमा जाँदा उपयुक्त । अस्ति यिनको हुलतन्त्रले यस्तै कुरा प्रमाणित पनि भइसक्यो । प्रहरीले पनि कति दिन पहरा दिने ?