काठमाडौं, १५ मङ्सिर/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यसअघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।” सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तत्र्रिmया गर्दा पनि आफूले उक्त विषय उठाएको उनले जानकारी दिए ।

नेपालमा जलवायुको असरको विषय विश्वव्यापीरूपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाललाई अधिकार दिनुपर्छ भन्ने माहोल बन्दै गएको उल्लेख गरे । उनले कोप–२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले आज शुक्रवार आफ्नो मन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुशीको कुरा हो भने ।

युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो विषय सबैको दायित्व भएको बताए । उनले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारीरूपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिए । सम्मेलनमा सरकारले सशक्तरूपमा तयारी गरेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here