– सञ्जय मित्र
छठ पबनीलाई कतिपयले सूर्योपासनाको पर्व बताउने गरेका छन्, जुन होइन। पहिले अस्ताउँदै गरेको सूर्यलाई अनि भोलिपल्ट उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने चलन अवश्य छ तर पहिलेदेखि मान्दै आएकाहरूलाई थाहा छ, यो पर्वको एउटा अङ्ग हो। मूलरूपमा यो लोकदेवी छठीमाईको पबनी हो।
परम्परादेखि मान्दै आएकाहरूलाई थाहा छ, छठमा खरनाको दिन निराहार बस्छन्, व्रतालुहरू। निराहार बसेर राति खरना गर्छन्। कतिपयले खरनालाई खीरपुरी पनि भन्छन्। पुरी आधुनिकताको दृष्टान्त हो। यसमा वास्तवमा चामलको रोटी चढाइन्छ। आजभोलि चामलमा केही मात्रामा अन्य सामानहरू पनि मिलाउन थालिएका छन्। खीर, रोटी, मूला अनिवार्य हुन्, खरनामा चढाउनका लागि। खरनामा छठीमाईकै पूजा हुन्छ। कुनै मूर्ति वा तस्वीर वा कुनै प्रतीक चिह्न हुँदैन, परम्परागत खरनामा। पवित्र कोठाभित्र वा आँगनमा राम्ररी लिपपोत गरिएको ठाउँमा केराको पातमा खीर, रोटी र मूला मूल प्रसादसहित अन्य विभिन्न सामग्रीहरू प्रसादको रूपमा अर्पण गरिन्छ, छठीमाईलाई। यही खरना पूजा मूल पूजा हो, छठीमाईको।
खरना नै मूल पूजा यस अर्थमा हो कि छठ पबनी गर्नेमध्ये जो अशक्त हुन्छन् वा कुनै कारणले पूरा व्रत गर्न सक्दैनन् भने यही खरना गरेपछि छठ पबनी गरेसरह मानिन्छ। कसैले खरना नगरी छठ गरेको मानिन्न। निस्सन्देह, कात्तिक शुक्ल पञ्चमी तिथिको दिन खरना गरिन्छ। अझै पनि यस्ता धेरै मानिस छन्, जो खरना मात्र गर्छन्। छठको खरना, स्त्री र पुरुष दुवैले गर्न सक्छन्। सामान्यतया छठ पबनी महिलाले लिने व्रत हो तर पुरुषलाई बन्देज छैन। पुरुषले पनि यदाकदा छठ पबनी गर्ने गरेको पाइन्छ।
कात्तिक शुक्ल पञ्चमीको दिन निराहार व्रत बसेर साँझ खरना पूजा गरी खरनामा छठीमाईलाई चढाइएको प्रसाद ग्रहण गर्छन्। छठ पबनीको व्रत बस्नेहरूले खरनाको प्रसाद खान्छन् र पानी पिउँछन्। दिनभर अन्नको गेंडा वा पानीको थोपा पनि मुखमा हाल्न नपाउने व्रतालुहरूले खरनाको प्रसाद तृप्त हुनेगरी खान्छन्। अनि फेरि व्रत बस्नुपर्ने हुन्छ। भोलिपल्ट षष्ठीको दिन पनि पूरै निराहार व्रत बस्छन्। निराहार व्रत बसेका व्रतालुहरू सूर्यलाई अघ्र्य दिन घाटमा जान्छन्। अधिकांश ठाउँमा अब घाटमैं रात बिताउने चलन चलिसकेको छ तर घाटमा बस्नै पर्छ भन्ने चाहिं होइन। एक किसिमले यो पनि आधुनिकता नै हो। पछिल्लो एक दशकमा गाउँदेहाततिर पनि छठघाटमा रातभर जाग्राम बस्ने आधुनिक प्रवृत्तिको विकास भएको छ।
षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि राति फेरि छठीमाईको पूजा हुन्छ। छठीमाईको पूजा सामूहिकरूपमा गर्ने चलन छ। यसलाई कोसिया भन्ने गरिन्छ। कोसियामा व्रतालुहरू अनिवार्यरूपमा सहभागी हुनुपर्छ। गाउँदेहातमा अझै पनि जहाँ घाटमा राति जाग्राम बस्ने गरी व्यवस्थापन गरिएको हुँदैन, त्यहाँ राति सबै व्रतालु आफ्नो घरबाट छठको दउरा लिएर कोसिया भएको ठाउँमा पुग्छन् नै। यदि घाटमैं व्रतालुहरूको लागि बस्ने गरी जाग्रामको व्यवस्थापन गरिएको छ भने त्यहाँ पनि धेरैले कोसियाको भाकल पूरा गर्छन्, कोसियाको भाकल पूजा गर्छन्। कोसिया पनि दुर्ई किसिमका हुन्छन्, हात्तीवाला र विनाहात्तीवाला। भाकलको आधारमा दुवै मनाइएको पाइन्छ। षष्ठीको रातमा छठघाटमा धेरैले कोसिया गरेको हो भन्ने कुरा सजिलै चिन्न सकिन्छ। कोसिया पूजा पनि सूर्य पूजा होइन। सप्तमीको दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पबनी समापन भएको मानिन्छ। यसको मूल कारण हो दिन बदलिनु अर्थात् षष्ठीबाट सप्तमीमा प्रवेश गर्नु।
अझै पनि ग्रामीण मान्यता यो रहेको छ कि सूर्योदय नभएसम्म दिन बदलिंदैन। जसको दिन हुन्छ, उसैको रात हुन्छ। सामान्यतया मध्यरातदेखि नयाँ दिन हुने गरेको मानिन्छ तर सामाजिक व्यवहारमा मुख्यरूपमा चाडपर्वको दृष्टिकोणले मध्यरातमा नयाँ दिन हुने कुरोलाई स्वीकार गरिएको पाइन्न। बरु यो विचार गर्न थालिएको छ कि सूर्योदय कतिबेला हुन्छ। कुनै वर्ष छठको पारन अर्थात् उदाउँदो सूर्यलाई अघ्र्य दिने दिन कुहिरो लागेको छ भने विचार गरिन्छ कि आज सूर्योदय हुने समय कुन हो ? सूर्योदय हुने समय नाघेपछि अर्थात् नदेखिए पनि औपचारिकरूपमा सूर्योदय भएपछि कतिपय ठाउँमा नदेखिएको सूर्यलाई पनि अघ्र्य दिएर पबनीको समापन गरिन्छ। पबनीको समापनको लागि सूर्योदय अनिवार्य छ तर सूर्य देखिनै पर्छ भन्ने चाहिं होइन।
माथि अलिकति प्रसङ्ग आइसकेको छ कि छठ पर्वमा खरनामा आधुनिकता आउन थालेको छ, छठघाटमा राति जाग्राम बस्ने विषयमा आधुनिकता आउन थालेको छ। पहिले छठघाटमा राति जाग्राम बस्दा नाटक देखाइने चलन थियो। नाटक देखाउने चलन अझै पनि हराइसकेको छैन। नाटक देखाउन चलन अझै रहेको छ तर बिस्तारै कम हुन थालेको भने अवश्य हो। अब यसमा आधुनिकता आएर जागरणले कार्यक्रमको रूप लिन थालेको छ। पछिल्लो दशकमा यसले निकै विस्तार पाएको छ। बाहिरबाट कलाकार बोलाएर कलाकारहरूको प्रस्तुति हेर्दै रातभर जाग्राम बस्ने चलन बढ्दो छ। छठघाटमा रात बिताउने गरी जाग्राम बस्ने प्रवृत्तिको विकास हुँदै जाँदा छठघाटलाई अत्यधिक सजाउने, रातभरि त्यहाँ बस्नको लागि कम्तीमा शीतबाट जोगाउने तथा जाडोको हावाबाट जोगाउनको लागि त्यही किसिमको आधुनिक टेन्टको व्यवस्था गरिन थालिएको छ। टेन्टमा आधुनिक झिलीमिली बनाउन थालिएको छ। यसरी छठको सम्पूर्ण रूप बाहिरी सजावट आधुनिक हुन थालेको छ।
समाजको आर्थिक स्तर उकासिंदै जाँदा र मानिसमा खर्चको क्षमता वृद्धि हुँदै जाँदा एकातिर सबै क्षेत्रमा आधुनिकता देखिन थालिएको छ। दुर्ई दशकभन्दा पहिले चङ्गा एउटा पहिचान हुने गथ्र्यो छठको तर आजभोलि यो पूरै लोप भइसकेको जस्तो देखिन्छ। जुन उमेरमा मानिस छठघाटमा चङ्गा उडाउँथे, आज उक्त उमेरमा मानिसहरूले भने हातमा मोबाइल लिएर भिडियो बनाइरहेका वा भिडियो हेरिरहेका पाइन्छन्। चङ्गाको लटाइ हुने हातमा मोबाइल पुगिसक्यो। पटाका त अहिले यति उड्न थालेको छ कि हरहिसाब छैन। पहिले पनि पटाका पडकाइन्थ्यो तर अहिले भने पटाकाले छठको आकाश धूवाँ–धूवाँ भइसकेको हुन्छ। अहिलेका बालबालिकाहरूको यो प्रिय खेलौना भइसकेको छ, मन बहलाउने साधन भइसकेको छ। शायदै कोही नवयुवा होला, जसले आफ्नो र साथीहरूको भिडियो नबनाउला। आजको परिवेशमा छठले धेरै आधुनिकता आफूमा समाहित गरिसकेको छ र बदलिंदो परिवेश अनुकूल आफूलाई आर्थिक सरोकारसित सम्बन्ध राख्छ।
लोक आस्थाको महान् पर्वको रूपमा विश्व विस्तार भइसकेको छठ पबनीमा आधुनिकता स्वीकार भइसकेको छ। वर्तमानको धरातलमा टेकेर हेर्ने हो भने जहाँजहाँ छठ मनाइन्छ, सबै भौगोलिक परिवेशमा छठले त्यहाँको स्थानीयता, कृषिको मौलिकता तथा अन्य स्थानीयतालाई अङ्गीकार गरेको छ। साथै हरेक समाजमा आइरहने नवीनता तथा आधुनिकतालाई स्वीकार गरिरहेको छ। छठघाटको उघाटन तथा जाग्रामको पनि उद्घाटन जस्ता यसका नवीनतम दृष्टान्त हुन्। अब आगामी दिनमा विभिन्न नदी तथा पोखरीको किनारमा छठीमाईको मन्दिर बनाउने नयाँ चलनको सुरुआत भयो भने कुनै आश्चर्य मान्नुपर्दैन। अहिले धेरैतिर छठघाटमा स्थायी संरचनाहरू निर्माण भइरहेका छन्, भएका छन्। नदी किनार तथा पोखरीको किनारमा छठघाटको कारणले पनि लगानी बढिरहेको छ। छठ पबनीले सात समुद्र पार गरिसकेको वर्तमानमा अब धेरै देशमा समुद्रको किनार पनि छठ पबनीको लागि सजाइन थालिएको छ। छठले अनेक आधुनिकताका नवीनताहरू अङ्गीकार गर्दै लगेको छ र आउँदा दिनका आधुनिकताहरू पनि यस लोकपर्वले आफ्नो आस्थामा समेट्दै लैजाने विश्वास रहेको छ।