– डा शिवशङ्कर यादव
पाठकवृन्द गत अङ्कमा स्पेसिफिक वा विशिष्ट पर्सनालिटी डिजार्डरको पहिलो प्रकार पारान्वायड पर्सनालिटी डिजार्डरसम्मको वर्णन सिद्धिएको थियो। अब बाँकी केही मात्रको वर्णन सिध्याउन सकिन्छ र अरूको बेहोरा अर्को अङ्कमा पनि जारी रहन्छ किनभने विषय नै त्यस्तो छ।
२. सिज्वायड पर्सनालिटी डिजार्डर ः यसमा पनि सामान्य लक्षणबाहेक निम्नलिखितमध्ये कुनै तीन लक्षण स्पष्टरूपले देखिनुपर्छ यथाः रोगीका केही काम खुशी महशूश गराउन सक्ने खालको हुन्छ तर त्यस्तो क्रियाकलाप भए पो। यस्ता रोगीमा प्रशंसा वा आलोचनामा कुनै चासो हुँदैन। यस्ता रोगी सेक्सुअल अनुभवमा पनि कम चासो राख्छन्। रोगीले एक्लै काम गर्न बढी रुचाउँछ। अनुमान, कल्पना र आत्मविश्लेषणप्रति बढी दुराग्रही हुन्छ। रोगी साथी बनाउन असफल हुन्छ र बनाउने चाहना पनि राख्दैन। समाजमा कायम रीतिरिवाज र समारोहप्रति रोगी बढी संवेदनहीन हुन्छ। यस्तो रोगीमा अन्य पर्सनालिटी डिजार्डरका लक्षण पनि मिसिएको हुन सक्छ, जसमा पारान्वायड र सिज्वायडटाइपल आउँछन्। साइकोडायनामिक थ्योरीले यो भन्छ कि यसको बीजारोपण बालपनमा नै भएको हुन्छ। रोगी आफ्नो बालपनमा मातापिताबाट मायाको साटो दुत्कार पाएको हुन्छ। कसैकसैको अनुसार यही सिजोफ्रेनियामा बदलिन्छ तर आधुनिक अध्ययनमा यस्तो पाइएको छैन। यो पुरुषमा पाइन्छ र रोगीले उपचार खोज्न आउँदैन, सम्बन्धीहरूले ल्याउनुपर्छ। यसको उपचारमा व्यक्तिगत र ग्रेजुअल ग्रुप साइकोथेरापी तथा साइकोएनालिसिस विधि अपनाइन्छ। यसमा पनि औषधिले कम काम गर्छ।
३. सिजोटाइपल पर्सनालिटी डिजार्डर ः सिज्वायड र सिजोटाइपल नाम यस कारण दिइएको छ कि यसका लक्षण सिजोफ्रेनियाको लक्षणका नजीकनजीक हुन्छन् तर यी दुवैमा हाFलिसिनेशन र डेल्युजन दुवै हुँदैन। सामान्यका साथै निम्नलिखितमध्ये कुनै तीन यसमा पनि हुनु आवश्यक छ यथाः कुनै पनि विचारको अनुचित र सङ्कुचित अर्थ लगाउने जसले मानिस चीसो र निराश हुन्छ। रोगीको व्यवहार सनकी र अनौठो हुन्छ। समाजबाट कटेर रहने र कसैसँग पनि सम्बन्ध बनाउन नसक्ने। परम्परा र सांस्कृतिक चलनको विरोधी तथा अचम्मको र जादुयी सोचको प्रभावमा रहने। शङ्कालु हुनु र कहीं नभएको सोच नरोकिने गरी दोहो–याइराख्ने जुन सोच अक्सर सेक्सुअल आक्रामकताको हुन्छ। असाधारण रूपको अनुभवको साथै डिपर्सनलाइजेशन र डिरियलाइजेशन। कुनै घटनालाई अस्पष्ट र लाक्षणिकरूपले अत्यधिक तन्काएर भन्ने र एकनासको सोचमा रुमलिने तथा नराम्रो भाषा र असङ्गत तरीकाले व्यक्त गर्ने। कहिलेकाहीं साइकोटिक लक्षण पनि देखिने जसमा कडा रूपको हालिसिनेशनल र डेल्युजनल विचार पनि हुन सक्छन्, जुन विना कुनै स्टिमुलसले उत्पन्न हुन्छ। उपरोक्त लक्षणहरू लगातार दुई वर्षसम्म अथवा केही केही अन्तरालमा पनि दुई वर्षसम्म देखिनुपर्छ। यो सिज्वायड र सिजोटाइपल पर्सनालिटी डिजार्डरको बीचको स्थिति हो। यो जिनेटिक र क्रोनिक हुन्छ। साइकोएनालिसिस, व्यक्तिगत साइको थेरापी यसको उपचार हो। यसको साइकोटिक इपिसोडमा एन्टिसाइकोटिक औषधि पनि दिने गरिन्छ।
४. एन्टिसोशल पर्सनालिटी डिजार्डर ः यसमा पनि त्यही नियम छ कि निम्नलिखितमध्ये कुनै तीन लक्षण अवश्य देखिनुपर्छ। यसलाई साइकोपैथी वा सोसियोपैथी वा सामाजिक विकार पनि भनिन्छ तर सधैं यो आपराधिक पनि हुँदैन। लक्षणहरू निम्निलिखित छन्ः अरूप्रति कडा र असम्बन्धित र अनावश्यक संवेदना। सामाजिक चालचलन र नैतिक बन्धनको सधैं अपहेलना गर्ने। अरूसँग सम्बन्ध बनाउन नसक्ने र बनाए पनि टिकाउ नहुने। कम सहनशीलता र निराश हुने तथा छिट्टै क्रोधमा आउने तथा हिंसा गर्ने। सजायपछि पनि कुनै अपराधबोध नहुने र आफ्नो दोष महशूश गर्नमा असमर्थता। अरूमा दोष लगाउन उन्मुख रहने र युक्तिपूर्वक समाजमा द्वन्द्व उत्पन्न गराउनमा माहिर हुने। रोगी हरदम चिडचिडा रहने तथा बालपन र किशोरावस्थादेखि नै खराब चालचलन देखिने आदि। पहिले यसलाई एग्रेसिभ, इनएडिक्वेट, क्रिएटिभ र सेक्सुअल गरी चार भागमा बाँडिन्थ्यो तर सबैका लक्षण एकसाथ मिसिएका हुन्छन्। अतः त्यसरी बाँड्ने कुनै जरुरी छैन। यसको कारणमा जीन, वातावरण र बायलोजिकल तीनवटै थ्योरीले काम गर्छ। यो मुख्यतः पुरुषमा पाइन्छ र क्रोनिक हुन्छ। यसका रोगी आफैंले उपचार गराउँदैन तर सम्बन्धी र कानूनी अधिकारीको दबाबमा उसले इलाज गराउँछ। साइकोथेरापी, साइकोएनालिसिस, ग्रुप र सेल्फ हेल्प थेरापी यसका उपचार हुन्। औषधिको यसमा कम भूमिका भएपनि पेरिसाइयाजिन दिएर कोशिश अवश्य गरिन्छ।
५. हिस्ट्रियोनिक पर्सनालिटी डिजार्डर ः जसरी नामले नै थाहा हुन्छ कि यस्ता रोगीलाई हिस्टेरियासँग जोडेर नै हेरिन्छ र अक्सर महिलामा नै पाइन्छ, जसमा निम्नलिखितमध्ये कुनै तीन लक्षण हुनु जरुरी हुन्छ ः सेल्फड्रामाटाइजेशन वा स्वनाटकीयता, सगेस्टिभिटी अर्थात् सुझाव स्वीकारिता, एफेक्टिभिटी अथवा अस्थिरता, एटेन्सन सिकिङ अथवा ध्यान आकर्षित गर्ने क्रियाकलाप, अनुचित र दूषित व्यावहारिकता र एट्रेक्टिभनेस अथवा आफूलाई लोभलाग्दो बनाउनु आदि। स्वनाटकीयतामा रोगी नाटकीय अन्दाजमा आफ्नो भावुकतालाई प्रकट गर्छ। सगेस्टिभिलिटीको मतलब हुन्छ कि रोगी सजिलै कुनै व्यक्तिको सुझाव वा घटनाको जालमा फस्छ। एफेक्टिभिटीको मतलब हुन्छ कि मानिसमा पर्ने असर सतही र अस्थिर हुन्छ। एटेन्सन सिकिड्ढो मतलब यो हुन्छ कि रोगी सबैबाट प्रशंसा मात्र खोजिरहन्छ। यसको अलावा रोगी अनुचित र दूषित व्यवहार देखाइरहन्छ। आकर्षणकारिताको मतलब यो हुन्छ कि रोगी सधैं आफ्नो शारीरिक आकर्षणलाई बढाउने वा शृङ्गारपटारमा मात्र लागिरहन्छ। यी सबै लक्षण रोगीमा अहंकेन्द्रित, अतिभोग, लगातार प्रशंसाको चेष्टामा हुन्छ, जुन घातक तवरले र आफ्नो जरूरतको प्राप्तिको लागि धूर्त व्यवहार प्रदर्शन गर्ने गर्छ। यस्ता रोगीको रिस विस्फोट भइरहने एउटा आम कुरा हो। उसको कुनै पनि कार्य योजनारहित र दूरदर्शी लक्ष्यको प्राप्तिमा नभएर तत्काल सन्तुष्टि पाउने खालको मात्र हुन्छ। भड्किलो लुगा लगाउने प्रदर्शनकामिताको शिकार उसको बोलीको तरीका र हाउभाउ हुन्छ। रोगीको हर कोशिश सुन्दर देखिनु र अरूलाई लोभ्याउने खालको मात्र हुन्छ। यस्ता रोगीले आत्मघाती हाउभाउ पनि प्रदर्शित गर्छन् र त्यस्ताको व्यक्तिगत सम्बन्ध उदण्ड र कृतघ्न खालको हुन्छ। पहिले यो मानिन्थ्यो कि हिस्टेरियाग्रस्त महिलामा यो आम कुरा हो तर आधुनिक अध्ययनले यसलाई अस्वीकार गर्छ। मतलब यो कि आजभोलि यो हिस्टेरिया नभएकोमा पनि आम कुरा भइसकेको छ। यसको उपचारमा साइकोएनालिसिस र सोही अनुसारको उपचार धेरै सफल पाइएको छ तर केवल केही मात्र लक्षणलाई कम गर्नको लागि।
६. नार्सिसिस्टिक पर्सनालिटी डिजार्डरः ग्रीक माइथोलोजीमा नदीको देउता सिफेसिससका छोरा थिए नार्सिसस, जसलाई कसैकसैले गड अफ भेनिटी वा प्राइड पनि भन्थे तर वास्तवमा उनी देउता थिएनन्। नार्सिसस अप्रीतम सुन्दर थिए, जसलाई सबैले प्रेम गर्न चाहन्थे तर आफ्नो सुन्दरताको घमण्डमा उनी भने कसैलाई पनि प्रेम गर्दैनथे। एकपटक देवी नेमिसले उनलाई पे्रम गर्न थालिन् तर नार्सिससले उनको पनि अवज्ञा गरे। देवीले रिसमा उनलाई श्राप दिएर गइन् कि तिमीले केवल र केवल आफ्नो छायासँग मात्र प्रेम गर्न सक्छौं। श्राप लागेका नार्सिससले एक दिन एक पुलमुनि पानीमा आफ्नो छायालाई देखे र त्यस छायालाई प्रेम गर्न थाले। छायाको प्रेममा उनी यस्तो पागल भए कि खानापिना र निद्रासमेतलाई त्यागिदिए तथा मृत्युलाई अँगाले। मरेपछि भनिन्छ कि नार्सिसस एउटा फूलमा परिवर्तित भए।
कथा यही हो जो आफ्नो अहङ्कारमा नै सन्तुष्ट हुने र अरूको कुनै मतलब नराख्ने कुराको परिचय दिन्छ। यसै मिथलाई सिग्मन्ड फ्रायडले टिपे र यस्तो किसिमको बिमारीलाई नार्सिसस डिजिज नाम राखे। यहाँ यस्तै किसिमको व्यक्तित्व विकारको नाम नार्सिसस पर्सनालिटी डिजार्डर राखियो, जसका निम्नलिखित लक्षणहरू हुन्छन् ः श्रेष्ठताको अभिमान र विचार तथा आफ्नो महत्वप्रति सर्वाधिक संवेदनशीलता। अत्यधिक कल्पनाशीलता र फेन्टेसी रुचाउने तथा आफ्नो सफलताप्रति दुराग्रही। आफूतिर अरूको ध्यानाकर्षित गर्ने उपक्रम, नाटकीय व्यवहार र सबैबाट प्रशंसा मात्र अपेक्षा राख्ने तथा आलोचनालाई सुन्न पनि नसक्ने। अरूप्रति कुनै सहानुभूति नराख्ने र शोषण गर्ने व्यवहार।
अस्थिर र चञ्चल तथा घमण्डपूर्ण व्यवहार तर वास्तवमा भित्र लुकेको हीनभावना। सजिलै सानो कुरामा पनि अवसादग्रस्त हुने आदि। यस्तो रोगीमा व्यक्तिको साइकोएनालिसिस त गरिन्छ तर त्यो पनि यसको निश्चित उपचार होइन।
क्रमशः