• कुमार रुपाखेती

कुनै बेला काठमाडौंलाई जात्रैजात्राको शहर भनिन्थ्यो । इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा, जीवित देवी कुमारीजात्रा आदि । अचेल हाम्रो तराई पनि के कम । तराईमा समेत अचेल नयाँ–नयाँ जात्रा भिœयाइएका छन् । कलशजात्रा, रथजात्रा, गणेशजात्रा, कृष्णजात्रा, हनुमानजात्रा आदि । कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने त उखान नै छ ।

अचेल तराईमा किन हो कुन्नी जय श्रीराम खुबै घन्किन थालेको छ । सेनाको कप्तानले दुश्मनमाथि आक्रमण अथवा प्रहरीले हडतालीमाथि लाठीचार्ज भनेर जुन जोश खरोशले आदेश दिन्छ, अचेल यस्तै रोबिलो र कडा आवाजमा जय श्रीराम भनिन्छ । राम त विचरा सोझासाझा थिए, बुवा दशरथले सौतेनी आमा कैकेयीको वशमा परेर वनवास जाऊ भन्नेबित्तिकै १४ वर्ष वनमा बिताए । अब यस्तो आज्ञापालक रामको नाम किन भयङ्कर आवाजका साथ कसलाई झस्काउन र जिस्क्याउन फलाकिन्छ भन्ने सबैलाई थाहै छ । एकताका रामको नाम भजाउन हाम्रा बडबोले एमाले नेता ओलीले राम त नेपाली, ठोरी चितवनतिरका भनेर नयाँ र असफल शगूफा छोडेका थिए । उता २०२४ को निर्वाचनमा रामको नाम भजाउन रामजन्मभूमिमा रामको मन्दिर बनाउने भाजपाको सपनामा झन्डैझन्डै असर परेको छ रे । अचेलको यो जय श्रीराम भारतका भगवाधारीहरूको प्रपञ्च हो । जय श्रीराम भनेपछि हिन्दूहरू नतमस्तक भइहाल्छन् भनेर भाजपाले बिछाएको जाल हो यो । देखो ए दिवाने ऐसा काम ना करो, नामका नाम बदनाम ना करो भन्ने सन्देशलाई यस्ताहरूले लङ्गौटी लगाइदिएका छन् ।

आस्थाको आधारमा भगवान्को नाम जप्ने छुट सबैलाई छ तर जय श्रीराम भन्दै बजारमा लाठीफाटा बोकेर निस्कने, हडताल गर्ने, बजार बन्द गराउने, विपरीत समुदायप्रति आक्रामक बन्ने शिक्षादीक्षा यिनलाई कुन गुरुले दिए ? धर्मको नाममा अधर्म गर्ने छुट छ र ? सीतासँग स्वयंवर गर्न जनकपुर आउँदा विशाल धनुष भाँचेर कीर्तिमान कायम गर्ने शान्त प्रवृत्तिका मनुवा हुन् राम । अनि तिनै रामको ससुराली नेपालमा किन रामको नाम आक्रामकरूपमा फलाकिन्छ ? रामको–हँसकर सब दुःख त्यागे, तुम लोग दुःख से डरकर भागे भन्ने भावनालाई किन संस्थागत गर्न सकिएन । भनिन्छ हिन्दूहरूको तेतीस कोटी देवता छन् । गहवा पुगे गहवामाई, बिर्तामा बिर्तामाई, भुटनदेवी पुगे भुटनदेवीमाई,   विन्ध्यवासिनीमा विन्ध्यवासिनीमाई आदि । यी सब आस्थाका कुरा हुन्, यस्तो पवित्र आस्था कसैले खलबल्याउनुहुँदैन ।

नेपाल अब हिन्दू राष्ट्र रहेन, गणतन्त्रवादी नेताहरूले मुलुकलाई धर्मनिरपेक्ष बनाइदिए । तसर्थ हामीले सबै अन्य धर्म र धर्मावलम्बीहरूको सम्मान र कदर गर्नुपर्दछ । हाम्रो हिन्दूशास्त्रले समेत यही भन्छ । हिन्दू धर्म शस्त्रमा होइन शास्त्रमा विश्वास गर्छ । अचेल धर्मलाई राजनीतिमा घोलघाल गरेर राजनीतिक रोटी सेक्नेहरूले गर्दा एक आपसमा वैमनस्यता पैदा गर्ने षड्यन्त्र रचिंदैछ जसबाट तपाईं हामी सावधान हुनु जरूरी छ ।

नेपाल हिन्दू राष्ट्रबाट कसरी धर्म निरपेक्षतामा परिणत भयो भनेर प्रचण्ड, माधव, ओली, देउवा, बाबुराम, उपेन्द्र यादवहरू र महन्थ ठाकुर, राजेन्द्र महतोलाई सोध्ने हो । अन्य समुदायसँग रिस राख्ने र रिसइवि साध्ने कुनै मतलब र अर्थ नै छैन । स्मरण रहोस् नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न सबै हिन्दूवादी नेताहरू नै थिए, अन्य समुदाय र जातको त एकजना पनि थिएन । जड फसादका प्रमुख कारण त यिनै प्रचण्ड, माधव, ओली, देउवा, बाबुराम, उपेन्द्र, महन्थ, राजेन्द्र नै हुन् नि १

तर स्मरणीय कुरा के छ भने धर्म निरपेक्ष हुँदाहुँदै पनि नेपालमा हामी हिन्दूहरूकै बोलबाला छ । हिन्दूबाहेक अन्य सबै अल्पसङ्ख्यक नै छन् । देख्नुभएन अस्ति जनकपुरतिर क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै हाकाहाकी थपडियाइदिए । त्यसैले त हिन्दूहरूले अनेक बखेडा खडा गर्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । पहाडे र मधिसे दुवै हिन्दू हुन् तर मधेस आन्दोलनमा मधिसेहरूले पहाडेको खेदो खने । यही हो राजनीति । अब अहिले पहाडे मधिसे हिन्दू भाइ भाइ भन्दै अन्तै खनिने अवसर सिर्जना गर्दैछन् धर्मभिरू नेताहरूले । यस्ता छेपारेहरूसँग बच्नु बचाउनु हाम्रो दायित्व हो । हामीहरू प्रेमले सीताराम भन्छौंं । पहिले सीता अनि राम । भडकाउहरूले सीतालाई रामसँग अलग गरेर जय श्रीराम निर्माण गरेका छन् । शिव पार्वती, विष्णु र लक्ष्मी, राधाकृष्ण र सीताराम उस्तैउस्तै परिवार होइन र ? नेपालमा समेत अहिले बाहिरी बेमौसमी हावाले गर्दा जय श्रीराम बेमौसमी बाजा बज्न थालेको छ । श्रीराम सीतालाई घरको पूजाकोठामा तन, मन र धनले स्मरण गर्ने हो । गल्लीमा राजनैतिक दलहरूले नारा लगाएझैं हाम्रFे माग पूरा गर भन्ने होइन । जय सीताराम १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here