- कुमार रुपाखेती
वीरगंज–रक्सौल सीमामा पर्ने मितेरीपुल अब मितेरीपुल रहेन । पुलको आधाभन्दा बढी भाग भारतीय सीमा सुरक्षा बलले सुरक्षित चेकजाँचको नाममा एकलौटी कब्जामा लिएको छ । कुरा चपाएर बोल्ने हाम्रा स्थानीय प्रशासकहरू करीब–करीब मौन देखिन्छन् भने स्थानीय राजनैतिक दलहरूले मौन धारण गरेका छन् । मधेस आन्दोलनका क्रममा मितेरीपुलमा नाकाबन्दी गरेर बसेका आन्दोलनकारीहरूलाई दशगजा क्षेत्रको सम्मान भन्दै नेपाल सरकारले खाली गराउन सकेको थिएन । दशगजा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमैं ‘नो मेन्स ल्यान्ड’ भनिन्छ र अहिले एसएसबीले यही क्षेत्रमा कब्जा जमाएको छ । नेपाली यात्रीहरूलाई सताउने मामिलामा भारतीय सुरक्ष्Fाकर्मीहरू पहिलेदेखि नै बदनाम छन् । यसपालिको दशैंमा कथित मितेरीपुलबाट आउनेजानेहरूले मनग्यै अप्ठेरो सामना गर्नुपर्ने देखिन्छ । यसरी मितेरी पुलमैं एसएसबीले कब्जा जमाउँदासमेत वीरगंज अवस्थित भारतीय महावाणिज्य दूतावास भित्रभित्रै खुशीले गद्गद् छ रे !
मैत्रीपुलमा राखिएको यो चेकपोस्टको नाम भारतले फ्रन्टलाइन चेकपोस्ट राखेको छ । आखिर भारत किन बेलाबखत देखादेखी यस्तो अर्घेल्याइँ गर्ने गर्दछ ? शायद भारत भरोसे चल्ने हाम्रो सरकारले आम नेपालीलाई अबरा के मौगी भर गावँके भौजी बनाइसकेको छ क्यारे !
के मितेरी पुललाई एकलौटी प्रयोग गर्न थालेपछि भारतमा आतङ्कवाद कम हुन्छ ? जाली नोटको कारोबार रोकिन्छ ? भारतमा अवैध प्रवेश बन्द हुन्छ ? यो कदापि हुँदैन, बरु उल्टै भारतलाई साम्राज्यवादी, विस्तारवादी भन्ने मान्यताले नेपालमा मलजल प्राप्त हुन्छ ।
मितेरी पुललाई भारत र नेपालले साझा सम्पत्तिका रूपमा प्रयोग गर्नुपर्ने, दुवै देशका नागरिक र सरकारले यसलाई दुई देशबीचको सेतुका रूपमा सम्मान गर्नुपर्ने भनेर यो पुलको उद्घाटनका बखत माधव नेपालले भाषण ठोकेका थिए । सीमा छुट्याउने यो पुललाई नेपालले मितेरीपुल र भारतले मैत्रीपुल भन्दै आएका छन् । नेपालको प्रवेशद्वार भनेर परिभाषित यो पुललाई भारतीय पक्षले एकाएक विनासूचना एसएसबीलाई मनोमानी ढङ्गले प्रयोग गर्न दिनु कुनै पनि दृष्टिकोणले जायज ठहरिन्न ।
यो पुललाई भारतीय जोरजबरजस्तीले गर्दा यसको नाम मितेरीपुलको सट्टा भारतीय पुल नामाकरण गरे विवादै समाप्त ।
भर्खरै जी–२० को सम्मेलनमा भाग लिन आएका क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले क्यानेडियन नागरिक निज्जरलाई भारत सरकारको उक्साहटमा क्यानडेली भूमिमा गोली हानी हत्या गरिएको भन्दै भारतीय राजनयिकलाई देश निकालाको घोषणा गरेको सर्वविदितै छ । यसरी सीमा टाँसिएको नेपालमा मात्र होइन, सात समुद्र पारीसमेत भारत दुर्गन्धित देखिन्छ । खुला सिमानाको फाइदा उठाउँदै भारतीय अपराधीहरूले मिर्जा दिलशाद बेग, जमीम शाहको नेपालमैं सरेआम हत्या गरेका थिए । मारिने यस्ताहरूलाई भारतीयहरूले आइएसआई अथवा पाकिस्तानी एजेन्टको ठप्पा लगाई केस रफादफा गरिदिन्छन् । घोक्रो फुलाएर चुच्चे नक्शा र कालापानी भन्नेहरूसमेत दुई देशको सेतु मानिने मितेरी पुलमा भएको एक पक्षीय कब्जाबारे मौन देखिएका छन् ।
‘उपर के आदेश से अस्थायी चौकी बनाया गया’ भन्ने हलुका कुरा भारतीय पक्षबाट आइरहेको छ । यस्तो आदेश दिने ‘उपरका’लाई मितेरीपुलको महत्व र गरिमा बोध छैन ?
उपरका आदेश भनेर सामूहिक सम्पत्ति कब्जा गर्न पाइन्छ र ? एसएसबीले मितेरी पुल कब्जा गर्दा हामी आफ्नै संविधान २०७२ को पक्ष, विपक्षमा रमाइरहेका थियौं । चीनको सीमा क्षेत्र तातोपानीमा पनि नेपाल–चीन छुट्याउने मितेरीपुल छ तर खै चीनले तातोपानीको मितेरीपुल कब्जा गरेको छैन त ? पोइको रिसले सौताको काखमा मुत्ने प्रवत्ति भारतको छ । ऊ चीनसँग मिल्दैन, पाकिस्तानसँग मिल्दैन । चीन र पाकिस्तानको झाँक्रो झार्न उसले खिसियाइल बिल्ली खम्बा नोचे झैं नेपालसँग अनावश्यक टसल गरिरहन्छ । मितेरीपुल होइन, अरुणाचल प्रदेशमा चीनसँग आफ्नो गुमेको क्षेत्र माग्नु भारतका लागि श्रेयस्कर देखिन्छ । तर म त हाकाहाकी सौं बात कि एक बात, दो टुक भन्छु– भारतीय सुरक्षाकर्मीहरूले मैत्रीपुलमा एकलौटी घुसपैठ गर्न पाउँदैनन्, मितेरीपुल खाली गर्नैपर्छ । मैत्रीपुललाई भारतले वैमनस्यपुलमा परिणत नगरोस् । जाग हे, जाग नेपाल सरकार जाग ।