- अनन्तकुमार लाल दास
विद्यार्थीहरूको सिकाइसम्बन्धी उपलब्धिका लागि विद्यालय र अभिभावकबीच सहकार्य हुनु अति आवश्यक छ । विद्यालय र अभिभावक दुवैले एकअर्काको सहयोग लिनुपर्छ भन्ने कुरा बुझेपछि विद्यार्थीहरू सजिलै उच्च उपलब्धि हासिल गर्न सक्छन् । यस कार्यमा सबै परिवारले विद्यार्थीको सिकाइको उद्देश्यमा सघाउन सक्छन् । यसका लागि अभिभावक पढेलेखेकै हुनुपर्छ भन्ने जरूरी छैन । विद्यालयले पनि अभिभावकसँग सहकार्य गर्ने योजना बनाई अग्रसरता देखाउनुपर्छ । अभिभावकको शिक्षामा सहभागिता र उनीहरूसँग सहकार्य गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।
विद्यार्थीहरूको चौतर्फी विकास अभिभावक र विद्यालय दुवैको साझा विषय हो । अभिभावकले आफ्नो बच्चाको शैक्षिक विकासका लागि विद्यालयसँग सहकार्य गर्ने एउटा पाटो हो भने विद्यालयको पाटोबाट हेर्दा आफ्नो प्रभावकारिता बढाउन अभिभावकसँग कसरी सहयोग लिने भन्ने हुन्छ । यसरी एकले अर्कासँग कसरी सहयोग लिने भन्ने चासो दुवैमा हुनुपर्छ । सफल विद्यालयले अभिभावकसँग सहयोग लिन सधैं प्रयत्न गरिरहन्छ भने असफल विद्यालयहरू सधैं अभिभावकप्रति गुनासो गरिरहन्छन् तर प्रयास भने गर्दैनन् । यसरी विद्यार्थीहरूको सिकाइका लागि दुवैबीच सहकार्य हुनु जरूरी देखिन्छ ।
यस सम्बन्धमा गरिएका शोधहरूले विद्यार्थीहरूको समग्र विकासमा अभिभावकको संलग्नता बढी आवश्यक रहेको देखाएको छ, किनभने विद्यालय छनोटदेखि नै अभिभावकको भूमिका महŒवपूर्ण रहेको छ । त्यस्तै घरको वातावरण, उनीहरूलाई दिइने प्रोत्साहन र पारिवारिक सहयोगले विद्यार्थीहरूको सिकाइमा महत्वपूर्ण भूमिका खेलेको अनुभवले देखाएको छ । एउटा शोधले के देखाएको छ भने विद्यार्थीहरूको सामाजिक–आर्थिक अवस्था केलाउनुपर्छ, किनकि यसबाट सिकाइ उपलब्धिमा फरक पर्छ । विद्यार्थी जस्तो परिवेशबाट आउँछ परिणाम त्यस्तै हुन्छ । यसको अर्थ विद्यार्थीको सिकाइ विकासका लागि तालीम, पाठ्यक्रम र व्यवस्थापनमा सुधारका लागि गरिने प्रयास निरर्थक हो ? यस कारण अन्य अध्ययनले विद्यालयको प्रयासले परिणाममा असर पार्न सक्छ भन्ने कुरो पनि देखाएको छ ।
यसर्थ के भन्न सकिन्छ भने पारिवारिक पृष्ठभूमि मात्र हैन, विद्यालयले गर्ने प्रयास, विद्यालयको रणनीति र समयानुसार अभ्यासले पनि विद्यार्थीहरूको सिकाइमा फरक पार्दछ । यस कुरोले कुनै विद्यालय अर्को विद्यालय भन्दा किन सफल छ प्रस्ट हुन्छ । सफल विद्यालयहरूले विद्यार्थीहरूको सिकाइ विकासका लागि के–के गर्छन् भन्ने कुरामा ध्यान केन्द्रित गर्नु आवश्यक हुन्छ । केही अध्धयनले विद्यालयमा गरिएको लगानी, शिक्षकहरूको टीम वर्क, व्यवस्थापनको शैक्षिक सिकाइमा भूमिका, शिक्षक र व्यवस्थापनबीच सम्बन्धजस्ता तŒवहरूले विद्यार्थी सिकाइमा योगदान दिएको कुरा प्रस्ट पारेको छ । यी यावत् कुराले विद्यालयको प्राथमिकता निर्धारण गर्दछ र हरेक निर्णयका लागि आधार प्रदान गर्दछ । साथै विद्यालय परिवारका हरेक सदस्यलाई साझा उद्देश्यमा आबद्ध गर्न पनि सहयोग गर्छ ।
सफल विद्यालयको अर्को पहिचान भनेको सुरक्षित र भरपर्दो वातावरण हो, जहाँको मुख्य कार्य पठनपाठन हुन्छ तर बाधा उत्पन्न हुने सम्भावनालाई न्यूनतम हदसम्म सीमित गरिएको हुन्छ । हरेक कार्यका लागि स्वतन्त्रतापूर्वक काम गर्न सक्ने माहौलसहित जिम्मेवारी तोकिएको हुन्छ । पारस्परिक सम्बन्ध र व्यवहारसमेत निर्धारित गरिएको हुन्छ जसले टीम भावनालाई बलियो बनाउँछ । परिणामस्वरूप परस्पर हुने झगडा र बेमेलले गर्दा काममा बाधा पर्ने सम्भावना न्यून हुन्छ ।
सफल विद्यालय यतिकैमा सन्तुष्ट हुँदैन । आफ्ना सबै विद्यार्थी उत्कृष्ट बनून् भन्ने कुरामा प्रयासरत रहन्छ । यसको लागि विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई थप मेहनत गर्ने प्रेरणा प्रदान गर्छ । विद्यालयले गर्ने यस्ता निर्णयहरूले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सघाउ पु¥याउँछ । विद्यालयको प्रभावकारितामा प्रधानाध्यापकको भूमिका पनि त्यतिकै महŒवपूर्ण हुन्छ तर प्रधानाध्यापकले काम गर्ने वातावरण बनाउन विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ । विद्यालयहरूमा विद्यार्थीले हासिल गरेको उपलब्धिको निरन्तर मूल्याङ्कन भइराख्नुपर्छ । सफल हुने विद्यालयले विद्यार्थीहरूबारे जानकारी लिन र परिवारमा सिकाइको वातावरण तयार गर्न परिवारसँग कसिलो सम्बन्ध स्थापना गरेको हुन्छ । यसरी परिवारको सहयोग सजिलै अपेक्षाभन्दा बढी प्राप्त हुन्छ ।
विद्यालयमा अभिभावकको संलग्नता र सहयोग विद्यार्थीहरूको विकासका लागि अति महŒवपूर्ण हुन्छ । यो लक्ष्य हासिल गर्न विद्यालयहरूले अभिभावक–शिक्षाको लागि पनि प्रयास गर्नुपर्छ । यसको अर्थ उनीहरूलाई छुट्टै कक्षामा राखेर पढाउने नभई विद्यार्थीलाई कसरी हुर्काउने, घरमा कसरी पढ्ने वातावरण उपलब्ध गराउने, विद्यार्थीलाई कसरी सुरक्षित विद्यालय पठाउने र लैजाने आदि कुरामा छलफल गरी अभिभावकहरूलाई सचेत गराउने कामतर्फ विद्यालयले प्रयास गर्नु उचित हुन्छ । यसका लागि सानो समूहमा वा व्यक्तिगत भेटघाट गर्न सकिन्छ ।
विद्यार्थीहरूको सबल र कमजोर पक्ष सम्बन्धमा अभिभावकहरूसँग निरन्तर संवाद भइरहनुपर्छ । अभिभावकहरूसँग नियमित संवाद गर्दा विद्यार्थी केन्द्रित समस्या समाधान गर्न सजिलो हुन्छ भने परिवारको सहयोग पनि प्राप्त हुन्छ । यसको लागि बैठक नै बोलाउनुपर्दैन । विद्यालय र अभिभावकबीच हुने राम्रो सम्बन्धले विद्यालय–शुल्कसम्बन्धी समस्या समाप्त हुन्छ भने विद्यालयको भौतिक वातावरणमा सुधार र स्थानीय सीप सिकाउन स्रोतव्यक्तिको रूपमा समेत अभिभावकलाई प्रयोग गर्न सकिन्छ । यस प्रकारको क्रियाकलापले अभिभावकमा ‘यो मेरो विद्यालय हो’ भन्ने भावना जागृत हुन्छ । यसले विद्यार्थीहरूमा विद्यालयप्रति सकारात्मक दृष्टिकोण जन्माउँछ र उनीहरूको सिकाइ उपलब्धिमा सुधार हुन्छ ।
यस आलेखको चासोको विषय हो विद्यालयले तयार गरेको क्रियाकलापको कार्यान्वयनका साथै विद्यार्थीहरूको समग्र विकास, विशेषगरी, सिकाइमा सहयोग पुर्याउन परिवारको तर्फबाट के गर्न सकिन्छ ? यस सम्बन्धमा युनेस्कोले प्रकाशित गरेको एउटा पुस्तिकामा के लेखिएको छ भने “घरमा केटाकेटीसँग सम्बन्ध र उनीहरूसँग गरिने व्यवहार र सिकाइबीच साझा सम्बन्ध हुन्छ ।” यसर्थ घर र परिवारले के–कस्तो काम गरेर आफ्नो सन्तानको सिकाइमा सहयोग गरिरहेका छन् त्यो महत्वपूर्ण हो । विभिन्न अनुसन्धानलाई केलाउँदै त्यस पुस्तिकामा लेखिएको छ– अभिभावकको भूमिका धेरै छ, तर तिनलाई तीन भागमा बाँड्न सकिन्छ । पहिलो बालबालिकासँग सम्बन्ध र उनीहरूसँग गरिने व्यवहार, दोस्रो परिवारको आशा, अपेक्षा र सुपरिवेक्षणको तरीका र तेस्रो परिवारको दैनिकी ।
पहिलो सम्बन्धलाई सञ्चारको विकासले समेत निर्धारण गर्दछ । यस अन्तर्गत आफ्नो सन्तानको दैनिकीबारे चासो राख्ने, उनीहरूको आवश्यकताबारे संवेदनशील हुने, स्नेह प्रदर्शन गर्नेजस्ता कुराहरू सिकाइभन्दा पनि सामीप्यसँग सम्बन्धित छ तर यसले सिकाइको आधार तयार गर्छ । यसर्थ उनीहरूसँग कुनै पुस्तक, कथा, घटना वा टेलिभिजनमा प्रसारित कार्यक्रमबारे छलफल गर्न सकिन्छ । कहीं घुम्न जाँदा नयाँ कुरा हेर्ने र सिक्ने अवसर दिने, उनीहरूका कुरा चासो लिएर सुन्ने र प्रश्न सोध्ने वा कुनै विषय सिक्न प्रोत्साहित गर्नाले केटाकेटीहरूको आत्मविश्वासमा वृद्धि हुन्छ र उनीहरूमा जिज्ञासु प्रवृत्ति उत्पन्न हुन्छ ।
दोस्रो अन्तर्गत अभिभावकले भन्ने गरेको ‘यसले के गर्ला, खै १ जस्ता अभिव्यक्तिले विद्यार्थीको आत्मविश्वास कमजोर पार्छ । यस कारण यस प्रकारको वाक्य उनीहरूसामु प्रयोग गर्नुहुन्न । विद्यालयले दिएको हरेक कामलाई महत्वका साथ हेर्नु, चासो राख्नु र सोध्नु जस्ता कामले उनीहरूलाई अझ राम्रो गर्ने प्रेरणा प्रदान गर्छ । उसको साथीबारे चासो राख्ने, के–कस्तो काम गरिरहेको छ भन्ने कुरामा ध्यान पुर्याउनाले बाटो बिराउने सम्भावना न्यून हुन्छ । त्यस कारण विद्यालयबाट उसको बानीबेहोरबारे जानकारी लिंदा उसको सफलतामा योगदान गर्न सजिलो हुन्छ ।
तेस्रो महत्वपूर्ण कुरा हो–विद्यार्थीहरू परिवारको दैनिकीबाट नै समय पालनाको अनुशाासन सिक्ने गर्दछन् । घरको खाने, पढ्ने, सुत्नेलगायत कामको नियमितताले उनीहरूमा सकारात्मक बानी बस्न सहयोग पुग्छ । तोकिएको समयमा हरेक काम गर्ने बानीले अनावश्यक तनावबाट बचाउनुको साथै जिम्मेवारीबोध प्रबल हुन्छ । यस प्रकारको दैनिकीमा रमाइलो गर्ने र फुर्सदको समय कसरी उपयोग गर्ने विषयसमेत पर्दछ । घरमा पढ्नका लागि उपयुक्त वातावरण दिने र पढ्ने समयमा उनीहरूको ध्यान अन्यत्र गइरहेको छ भने स्वयं टेलिभिजन र मोबाइलमा व्यस्त हुने काम छोड्नुपर्छ । यस प्रकारको अभ्यासले गर्दा बच्चाहरूलाई उसको पढाइ परिवारको लागि कति महत्वपूर्ण छ भन्ने कुराको बोध हुन्छ । यस कारण परिवारको दैनिकी निर्धारण गर्दा बालबालिकाको आवश्यकताबारे सचेत हुनु जरूरी हुन्छ ।
पारिवारिक सम्बन्ध र घरभित्र गरिने व्यवहार बालबालिकाको विकासका र सिकाइका लागि महत्वपूर्ण हुन्छ । यस परिवेशमा विद्यालय र परिवारबीच सहयोग र संवादको विशेष योजना आवश्यक हुन्छ । विद्यार्थीको सिकाइको सन्दर्भमा विद्यालय र अभिभावकको विशेष भूमिका हुन्छ भन्ने कुरा कुनै सन्देह छैन । यी दुवैले आआफ्नै योजना अनुसार चल्नुभन्दा एक आपसमा सहकार्य गरेर विद्यार्थीहरूको विकासमा सकारात्मक योगदान पुर्याउन सक्छन् । हाल विद्यालयको तर्फबाट यस प्रकारको प्रयासलाई निरन्तरता दिने खाँचो छ । यसर्थ विद्यालयको तर्फबाट सचेत प्रयत्न हुनैपर्छ । राम्रो विद्यालयको महत्वपूर्ण पक्ष भनेकै अभिभावकको सहकार्यलाई महŒवपूर्ण ठानेर त्यसका लागि आपैंm अग्रसरता लिनु हो छ ।