भारतमा बिजुली निर्यात गर्ने कुरालाई नेपालले बढी प्राथमिकता दिइरहेको छ । भारतपछि चीन, बङ्गलादेशलगायतको पनि कुरा छ । स्वदेशमा भन्दा विदेशमा बिजुली बेचेर व्यापार घाटा कम गर्नेतर्फ मात्रै हाम्रो ध्यान छ । नेपालमा बढी भएको बिजुली भारत निर्यात गर्न शुरू भएको भनेर भनिन्छ । तर विश्व बैंकको तथ्याङ्क अनुसार नेपालको ७० प्रतिशत जनसङ्ख्या मात्रै बिजुलीको पहुँचमा छ । झन्डै एक करोड जनसङ्ख्या अझै पनि टुकीकै सहारामा छ । वञ्चितमध्ये केही प्रतिशतले मिनी सोलार वा फेमिली सोलार प्रणालीसम्म प्रयोग गरेका छन् । त्यसैगरी, अझै धेरै उद्योगले आवश्यकता अनुसारको बिजुली नपाएर विदेशी मुद्रा तिरेर खरीद गरिएको डिजेल प्रयोग गरिरहेका छन् । भर्खरै हेडौंडा सिमेन्टको पनि कुरा आयो । विद्युत् अनियमितताका कारण कोइला जलाउनुपर्ने हुँदा उद्योग घाटामा गइरहेको छ । फेरि पनि हामी भन्दैछौं, “बढी भएको बिजुली भारतमा निर्यात शुरू भएको छ ।”

विश्वका अन्य मुलुकका जनताले गर्ने विद्युत् खपतसँग तुलना गर्दा नेपालीहरूले खपत गर्ने बिजुली दर अति कम छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)को तथ्याङ्क अनुसार सबैभन्दा बढी आइसल्यान्डमा प्रतिव्यक्ति औसत ५०,४२० किलोवाट प्रतिघण्टा विद्युत् खपत छ । त्यसपछि नर्वे र लक्जमबर्गमा प्रतिव्यक्ति विद्युत् खपत दर क्रमशः २५,८५० र २५,६०० किलोवाट प्रतिघण्टा छ । हाम्रो मुलुक नेपालमा सन् २०१९ को तथ्याङ्क अनुसार प्रतिव्यक्ति विद्युत् खपत करीब दुई किलोवाट प्रतिघण्टा छ । विश्वव्यापी औसतमा प्रतिव्यक्ति ३,२६० किलोवाट प्रतिघण्टा छ । हामी त विश्वव्यापी औसतभन्दा पनि निकै तल छौं । विश्वको दोस्रो जलस्रोतको धनी भनिएको मुलुकको यो अवस्था लाजमर्दो हो । प्रतिव्यक्ति बिजुली जति बढी खर्च हुन्छ, त्यति नै त्यस मुलुक सम्पन्न छ भन्ने सङ्केत हो । त्यहाँ उद्योग, कलकारखानाहरू चलायमान छन्, उत्पादन निर्वाधरूपमा भइरहेको र रोजगारको मार्ग प्रशस्त रहेको भन्ने बुझ्न सकिन्छ । हाम्रो मुलुकमा कृषिमा सिंचाइ गर्न किसानलाई बिजुली छैन । धन र श्रमसमेत लगाएर हुर्काएको धानबाली पसाउने बेलामा पानी नपाएपछि परालमा परिणत हुँदैछ । विद्युत् खपत बढाउन सकिने क्षेत्रहरू पर्याप्त छन् । आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउने हो भने हामीसँग हाल उत्पादित बिजुली ७० प्रतिशतलाई होइन कि २५ प्रतिशतलाई पनि पुग्दैन ।

बिजुली बेचेर देश धनी हुने हौवाको पछाडि दौडनुभन्दा देशभित्रै बिजुली बढी खपत गराएर आत्मनिर्भर बन्दै देश धनी बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ । विद्युत् उत्पादन औद्योगिकीकरणको एक प्रमुख कदम हो । भरपर्दो र किफायती विद्युत्को उपलब्धताले व्यवसायीहरूलाई अझ प्रभावकारीरूपमा सञ्चालन गर्न सक्षम बनाएर आर्थिक वृद्धि गर्नमा मदत गर्छ । स्वदेशी उद्योग फस्टाएमा मुलुक धनी हुने हो । विद्युत्को उपलब्धताले देशको अर्थतन्त्रको समग्र प्रतिस्पर्धात्मक क्षमतालाई बढाउँछ । चुनावी भाषणमा भन्ने गरिएको नेपाली जनताको औसत आय पाँच हजार पुर्याउने हो भने विद्युत् उत्पादन पनि झन्डै पाँच हजार मेगावाट हुनुपर्छ । मुलुकको कुल क्षमताको तीन प्रतिशत पनि बिजुली उत्पादन भएको छैन । पहिले मुलुकका सबै उपभोक्ता र सम्भावित सबै क्षेत्रमा बिजुली पर्याप्त भए अन्य मुलुकसँगको प्रतिस्पर्धी क्षमतामा हाम्रो उत्पादन बलियो ठहर्छ । त्यसपछि बढी भएको बिजुली मात्रै अन्य मुलुकमा बिक्री गर्ने सोच हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here