काठमाडौं, २८ साउन/रासस
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा टेलिभिजन तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिंदा भन्सार छली अनुसार कारबाहीको भागीदार हुने गरेका थिए ।

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसूल बुझाइ सजिलै लैजान पाउने व्यवस्था गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

सो अनुसार विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार एक्स–रे मेशिनमा पुग्नुअगावै स्वयम् घोषणाको सुविधा पाउने व्यवस्था गरिएको हो । विदेशबाट नेपाल फर्कने महिला यात्रुले अधिकतम ५० ग्रामसम्म र पुरुष यात्रुले अधिकतम २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । साथै एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसूल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन ।

मोबाइलको हकमा भने यात्रु आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महीनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानूनी व्यवस्था रहेको प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महीना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महीना काम गरी फर्केको भएपनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था छ ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियम अनुसारको महसूल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । यसैगरी, पाँच हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्छ । रकम घोषणाको भने कुनै महसूल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here