– कुमार रुपाखेती

‘पशुपतिनाथको सुनको छानामा चारखुट्टे बाँदर’ भन्ने गीत केटाकेटी छँदा धेरैले सुनेका होलान्। शायद अधबैंसे हुँदा ओलीले पनि यो गीत सुनेका रहेछन्, र त उनले अस्ति प्रधानमन्त्री बन्दा पशुपतिनाथमा एक क्विन्टलभन्दा बढी सुनको जलहरी लगाउने बन्दोबस्त मिलाए। तर यो जलहरी पनि कचहरी पुगेको छ। जलहरी निर्माण गर्ने क्रममा थुप्रै किलो सुनको घपला भएको कुराले संसद् गर्माएको छ । कुनै बेला नेपाललाई काण्डैकाण्डको मुलुक भनिन्थ्यो। अहिले त काण्ड मात्र होइन, सबै राजनीतिक दलका शीर्षहरू भस्मासुर साबित हुँदै गएका र तिनले जे छोए पनि भस्म हुन थालेको देखिन्छ। हिन्दूहरूको सबैभन्दा पूजनीय आराध्यदेव महादेवको निवास पशुपतिनाथ मन्दिरलाई समेत यिनले बाँकी राखेनन् । बिचरा राजा महाराजाहरू सधैं आफ्नो भाषणको पुछारमा ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् भन्दै’ शिवलाई पुकार्थे। यिनै हिन्दूहरूको आस्थाको केन्द्र श्री पशुपतिनाथलाई समेत जलहरी काण्डले सडकमा छताछुल्ल पारेको छ। मन्त्री, प्रधानमन्त्रीको शपथ खाँदा ईश्वरको ठाउँमा यी क्रान्तिवीरहरूले अन्यथा शब्द बोलेर भगवान्को निरादर गर्ने गरेको सबैलाई थाहै छ। सत्ताबाहिर रहँदा धर्मलाई अफिम र चाडपर्वलाई सामन्तीसूचक प्रथा भन्दै विरोध गर्ने यिनीहरू सत्ताको चमकदमकमा आएपछि  रातो टीका निधारमा टिलिक्क टल्काउँदै लाजै नमानी धर्मभिरू भएको पनि देखिएकै हो। अचेल यी धर्मभिरू त ज्योतिषको भर पर्ने, जादूटोना मान्ने अनि कोही कोही त अघोरीको रूप धारण गरेर हिंडेको समेत देखिन्छ। यिनीहरूको छेपारे चरित्रले प्रभावित छोटेनेताहरूसमेत गाउँघरमा बोक्सी र टुनामुना गर्न जान्ने भन्दै गरीब, निमुखा, असहाय एक महिलाको घरखेतसमेत ताक्न थालेका छन् । नेपालगंजकी निर्मला कुर्मी यसको उदाहरण हुन् भन्ने पूर्वएमाले सांसद बादशाह कुर्मी यसको जिताजागता प्रमाण हुन्।

 

जलहरी काण्डमा समेत उल्टे चोर कोतवाल को डाटे झैं एमालेले संसद् नै ठप्प पार्ने रे १ जति घिच्दा पनि नपुग्नेलाई घिचास, हाँडीघोप्टे भनिन्छ। के गर्नु पैसा देखेपछि महादेवको पनि तीन नेत्र बल्छ भन्ने कुरा यिनले अक्षरशः पालन गरिरहेका छन्। प्रसिद्ध भारतीय सिने जोकर महमुदले ठीक भनेका रहेछन्– बाप बडा ना भैया, सबसे बडा रुपैयाँ। त्यसैले त हिजोआज पशुपतिनाथमा सुनको छानामा ओलीको बाँदर भन्न थालिएको छ।

त्यसो त राजनैतिक दलहरू एकअर्कालाई बदनाम गराउने, हिलो लिपापोती गर्ने धन्दामा लागेको देखिन्छन् । जनताले सत्य तथ्यको भेद पाउन गा¥हो छ। तर पशुपतिको जलहरीकाण्डमा घपला भएको छ भने ठाडो कारबाई हुनुपर्छ। अनि भूटानी नक्कली शरणार्थी काण्डजस्तो त्रिदेव (ओली, प्रचण्ड, देउवा) एक हुने, नातेदारलाई र ठूलालाई बचाउने, कारिन्दालाई फसाउने काइते काम नहोस्।

रेशम फिरिरी

रेशम फिरिरी भन्ने एउटा लोकप्रिय गीत छ। तर अचेल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठका पति रेशम चौधरी सबै दलका प्रिय भएका छन्। भनिन्छ, अफताब आलम, रञ्जन कोइराला र रेशम चौधरी एउटै ड्याड्ढा मूला हुन्, जघन्य अपराधका जन्मदाता हुन्। २०७२ साल भदौ २७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनको नाममा सुरक्षाकर्मीहरूको हत्याको ठूलो षड्यन्त्रको जालो बुन्दै, हत्यालाई अन्जाम दिइएको थियो। जसमा नेपाल प्रहरीका एसएसपीसहित थुप्रै प्रहरीको हत्या गर्दै एउटा सानो बालकसमेतको निर्मम हत्या भएको थियो। त्यतिखेर सबै राजनीतिक दलहरूले यो हत्याकाण्डको एकै स्वरमा निन्दा र विरोध गरेका थिए। तर आज दुर्गति हेर्नुस्, ती सबै शक्ति रेशम फिरिरी अर्थात् रेशम चौधरीको रिहाईका लागि सक्रिय छन्। कस्तो अचम्म भने रेशमको रिहाइका खातिर मधेस केन्द्रित दलहरू मौन अनि ठूला दलहरू सक्रिय भएका छन्। यस अघि प्रचण्ड प्रधानमन्त्री बन्दा भारत भ्रमणका बखत अभियुक्त रेशम चौधरीलाई दिल्लीमा भेटेर उनको रिहाईको वातावरण मिलाउन थालिएको थियो। त्यतिखेर प्रचण्डले बाँकी थाती राखेको यो काम संयोगले अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा फत्ते गर्ने प्रयास जारी छ।

नेपालका सबै तहका अदालतले आजीवन कारावासको सजाय सुनाएको मसी सुक्न नपाउँदै रेशम चौधरी रिहाईको फाइल चोरबाटो हुँदै राष्ट्रपतिसमक्ष पुगेको छ। यसले राजनेताहरूको मिलिभगतले अदालतको शिर निहुराउने कुकर्म हुँदैछ भन्ने शङ्का उब्जिदैन र ? धिक्कार छ ! नेपालमा २० वर्षे कारावासलाई जन्मकैद भनिन्छ। नेपाली कानून अनुसार उनको रिहाई २०९४ फागुन १३ गते हुनुपर्ने हो। भनिन्छ टीकापुर योजनाका प्रमुख योजनाकार हुन् रेशम चौधरी, जसले घटनास्थलबाट अलि टाढा बसेर निर्देशन दिंदै थिए। त्यति बेलाको साक्ष्यले त्यसै भन्थ्यो। अनि त नेपालका सबै तहका अदालतले उनलाई ठोक बजाएर आजीवन कैदको आदेश दिए। रेशम रिहाईको फाइल राष्ट्रपतिकोमा पुगेको हल्लीखल्ली हुँदा थरुहट आन्दोलनका शहीद सुरक्षाकर्मी पत्नीहरू राष्ट्रपतिलाई भेट्ने तर्खरमा छन् । दिनदहाडै निहत्था राष्ट्रसेवक प्रहरीहरू मारिनु अनि दोषीलाई रेशम फिरिरी गर्ने तानाबुना बुनिनु शहीद पत्नी र परिवारका लागि कत्रो ठूलो बज्रपात र असह्य घटना होला त ?

के नेपाली राजनीति लोभीपापीहरूको जमातले हाउसफुल छ, जहाँ सत्यलाई असत्यले पराजित गर्नेवाला छ। एकताका सत्ता बचाउन युगान्डाका राष्ट्रपति इदी अमिनले यस्तै राष्ट्रघात कुकर्म गर्थे। इदी अमिनको पतनको इतिहासबाट पनि हाम्रा भलामानस नेताहरूले क्यै सबक सिक्न सकेको देखिंदैन। धृतराष्ट्र प्रवृत्तिले महाभारत निम्त्याउने त हो। हाम्रFेमा पनि धृतराष्ट्र र शकुनिहरू एक भएर जोरआजमाइस गर्दैछन्, नयाँ महाभारत रच्दैछन् ।

महाराजाको जयजयकार

अस्ति उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आफैंले आयोजना गरेको एउटा सरकारी कार्यक्रममा राजा ज्ञानेन्द्रलाई हाकाहाकी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र भनी सम्बोधन गर्दा सभामा उपस्थित पूर्वराजा मुसुमुसु हाँस्दै थिए। भनिन्छ, बुबा, आमा, मामा, काका र राजालाई पूर्व वा भूतपूर्व भन्न मिल्दैन रे १ अर्थात् राजा भनेको राजा हो। भारतमा मात्र होइन अचेल राजाको नागरिक अभिनन्दन कार्यक्रम नेपालमा हुँदासमेत कार्यक्रममा मान्छेको स्वस्फूर्त घुइँचो लागेको देख्दा गणतन्त्रवादी नेताहरूलाई आफू पुड्को भएको ठान्ने  र औडाहा चल्न थालेको छ रे ! शक्तिहीन राजाको ताकत घट्नुपर्नेमा झन्झन् वजनी हुँदै जानु चानचुने कुरो होइन।

ज्ञानेन्द्रलाई किन श्री ५ महाराजाधिराज सम्बोधन गरेको भनी योगीसँग प्रश्न गर्ने आँट कसैमा छैन र त नेपाली नेताहरू खिसियाइल बिल्ली खम्बा नोचेझैं राजा र दरबारियाहरूलाई गाली गर्दै मूतको न्यानो खोज्न थालेका छन्। नेपाली जनतामा राजपरिवार र राजाबारे सोधखोज र ताजा जनकारी लिने प्रवृत्ति मौलाएको देखिन्छ । सदनमा पनि राजाको कुरो उठाउने बढेका छन्। सडकमा २०४७ पछि नै ‘राजा आऊ देश बचाऊ’ घन्किन थालेको छ। बालको खाल झिक्न पल्केकाहरू अहिले एकत्रित भएर एकै स्वरमा राजाको विरोध गर्न कोठे बैठक गर्दैछन् रे ! राजाको राजपाट फर्किन लागेकै हो भन्ने झस्को सबैमा व्याप्त छ । नेताहरूको ओठ सुक्न, चिटचिट पसिना देखिन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here