छिट्टै नेपालमा पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात शुरू हुनेछ । भारत र नेपालबीचको यो साझेदारीले भूपरिवेष्टित मुलुकमा पेट्रोलको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न केही समय लागे पनि योजना अनुसार काम अघि बढेमा आगामी जनवरीदेखि शुरू हुने सम्भावना छ ।

नेपाल आयल निगमको अमलेखगंज डिपोका प्रमुख विनीतमणि उपाध्यायले आवश्यक पूर्वाधार निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको बताए । उनका अनुसार पेट्रोल ढुवानी खर्चमा केही कमी आउन सक्छ ।

हालसम्म नेपालमा पाइपलाइनबाट डिजेल मात्रै आपूर्ति हुँदै आएको छ । आपूर्ति शुरू भएपछि नेपालमा डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको थियो ।

दक्षिण एशियाकै पहिलो अन्तर्राष्ट्रिय पाइपलाइन

भारतको बिहारको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्म डिजेल पुर्याउन पाइपलाइन निर्माण गरिएको छ । यसको काम अगस्त २०१८ मा शुरू भएको थियो ।

यद्यपि दक्षिण एशियामा यो पहिलो अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइनले अहिले पेट्रोल होइन डिजेल मात्र आपूर्ति गरिरहेको छ ।

नेपाल आयल निगमका एक अधिकारीले अमलेखगंजमा पेट्रोल भण्डारण गर्न सक्ने पूर्वाधार पूरा नभएकाले त्यस्तो हुन नसकेको बताए ।

तर पाइपलाइन निर्माणको दोस्रो चरणमा इन्डियन आयल कर्पोरेशनसँगको साझेदारीमा यस्ता भण्डारण केन्द्रको निर्माण कार्य तीव्र गतिमा भइरहेको उनले बताए ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो अन्तर्राष्ट्रिय पाइपलाइनलाई चितवनको लोथरसम्म ७० किलोमिटर विस्तार गर्ने योजना छ । हाल निर्माण भइरहेको पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ, जसमध्ये ३६.२ किलोमिटर नेपालमा पर्छ ।

जनवरीदेखि पेट्रोल आपूर्ति शुरू हुनेछ

विनीतमणि उपाध्यायले पाइपलाइनको दोस्रो चरण अन्तर्गत अमलेखगंजमा भण्डारण केन्द्र र अन्य पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

उनका अनुसार अहिले एनओसी र आइओसीको संयुक्त लगानीमा विभिन्न पूर्वाधार निर्माणका काम भइरहेका छन् । अहिलेको गतिमा काम अघि बढेमा सन् २०२४ को जनवरीसम्ममा पाइपलाइनबाट पेट्रोल पुर्याउने काम शुरू हुनेछ ।

यसका लागि भण्डारण टङ्की, पम्प हाउस र आगो नियन्त्रण प्रणालीको काम पनि भइरहेको उनको भनाइ छ ।

नेपाल आयल निगमका अनुसार अहिले दैनिक करीब चार हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति भइरहेको छ ।

अहिले अमलेखगंज डिपोबाट भैरहवा र विराटनगरका डिपोमा ट्याङ्करमार्फत डिजेल आपूर्ति भइरहेको छ ।  त्यहाँबाट देशका दुर्गम क्षेत्रमा डिजेलको आपूर्ति हुन्छ । यसअघि विराटनगरको लागि बिहारको बरौनी र भैरहवाको लागि बनार क्षेत्रमा रहेका भारतीय आयल निगमका डिपोहरूबाट डिजेल आपूर्ति हुन्थ्यो । बढी दूरीमा पर्ने भारतीय डिपोहरूबाट डिजेल ढुवानी गर्दा ढुवानी खर्च बढ्ने भएकोले विराटनगर र भैरहवाको लागि कम दूरीमा पर्ने अमलेखगंज डिपोबाट डिजेल सप्लाइ गर्दा ढुवानी खर्चमा बचत हुने गरेको छ ।

कति भण्डारण क्षमता ?

उपाध्यायका अनुसार अमलेखगंज डिपोमा १९ हजार किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ ।

उनले भने, “नेपालको कुल पेट्रोलियम खपतमा डिजेलको हिस्सा सबैभन्दा बढी छ । देशको कुल खपतमा डिजेलको अंश ६५ देखि ७० प्रतिशतसम्म रहेको छ ।”

तर अमलेखगंजमा पेट्रोलको भण्डारण क्षमता निकै सीमित छ । यहाँ तीन हजार पाँच सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्न सकिन्छ ।

उनका अनुसार आइओसीको लगानीमा अमलेखगंजमा चार हजार किलोलिटरका दुईवटा पेट्रोल भण्डारण टङ्की निर्माण भइरहेका छन् । त्यस्तै, नेपाल आयल निगमको लगानीमा दुईवटा टङ्की निर्माण भइरहेका छन् ।

एउटै पाइपबाट डिजेल र पेट्रोल पठाउँदा केही मात्रामा तेल मिसिएको उनीहरूको भनाइ छ । यसका लागि तेल भण्डारण गर्न छुट्टै टङ्की बनाइँदैछ ।

भण्डारणस्थल बनेपछि अहिले बरौनीबाट ट्याङ्करमा भर्दै आएको पेट्रोल पनि पाइपलाइनमार्फत नेपाल ल्याइनेछ ।

यो योजनाको दोस्रो चरणमा नेपाल र भारत मिलेर दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने बताइएको छ ।

पाइपलाइन आपूर्तिको लाभ

अधिकारीका अनुसार पाइपलाइनको काम पहिले नै सम्पन्न हुनुपर्ने कोभिड महामारीका कारण केही ढिलाइ भएको हो । उपाध्यायले भने, “पाइपलाइन तेल ढुवानीको आधुनिक माध्यम हो, यसले ढुवानीलाई सहज मात्र होइन छिटो र भरपर्दो पनि बनाउँछ, चोरी र मिसावट पनि कम हुन्छ ।

उनका अनुसार अहिले काठमाडौंसम्म पेट्रोल पुर्याउन प्रतिलिटर ६.७२ नेपाली रुपैयाँ लाग्ने गरेको छ, पाइपलाइनबाट आपूर्ति भएपछि यो लागत घटेर साढे चार रुपैयाँमा पुग्छ । (स्रोतः बिबिसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here