स्वस्थ रहन हामी सबैले आफ्नो खानपानमा ध्यान केन्द्रित गर्छौं । तर खानेकुरामा ध्यान दिएर मात्र पुग्दैन । बरु हामी आफ्नो खाना कसरी लिन्छौं, त्यो पनि धेरै महत्वपूर्ण छ । धेरैपटक हामीले स्वस्थकर खानेकुरा खान्छौं र खाइसकेपछि यस्ता ससाना गलती गर्छौं, जसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पार्छ ।

उदाहरणका लागि खाना खाएपछि धेरै निद्रा लाग्ने वा एक कप चिया पिउने इच्छा हुन्छ । हामीले यसमा कुनै हानि देख्दैनौं होला तर यी साना गलतीका कारण हाम्रो शरीरले खानाबाट प्राप्त हुने पोषक तत्वहरू सोस्न सक्दैन । यस्तो अवस्थामा हाम्रो स्वास्थ्यमा धेरै नोक्सानी हुन्छ । त्यसैले हामीले गर्ने प्रायः केही यस्ता गलतीका बारेमा चर्चा गरौं, जुन खाना खाएपछि गर्नुहुँदैन ।

सुत्ने गलती नगरौं

हामीलाई खाना खाएपछि निकै निद्रा लाग्छ । यस्तो अवस्थामा हामीहरू खाना खाएपछि तुरुन्तै सुत्न जान्छौं । तर त्यसो गर्नु कति पनि उपयुक्त मानिंदैन । खाना खाइसकेपछि तुरुन्तै सुत्दा खाना राम्रोसँग पच्ने मौका पाउँदैन । जसका कारण हामीलाई अपच, पेट फुल्ने, एसिडिटी र हार्ट बर्न जस्ता समस्या हुन सक्छन् ।

धुम्रपान नगरौं

धुम्रपान स्वास्थ्यको लागि राम्रो मानिंदैन । तर यदि हामीले खाना खाएपछि धुम्रपान गर्छौं भने त्यो हाम्रो स्वास्थ्यको लागि झनै घातक साबित हुन सक्छ । भनिन्छ, खाना खाएपछि धुम्रपान गर्नु भनेको १० वटा चुरोट पिउनु बराबर हो । त्यसैले धुम्रपान गर्ने बानीलाई पूर्णतया त्याग्नु राम्रो हुन्छ ।

खाना खाएपछि तुरुन्तै ननुहाऔं

यो पनि एक धेरै महत्वपूर्ण जानकारी हो, जसलाई हामीले ध्यान दिनुपर्छ । हामीलाई थाहा नहुन सक्छ तर खाना खाइसकेपछि नुहाउँदा पाचन प्रक्रियामा गडबडी हुन्छ । नुहाउँदा पाचनमा मदत गर्नुको साटो खाना पचाउन पेटको वरिपरिको जम्मा भएको रगत शरीरका अन्य भागमा पुग्छ । जसका कारण  खाना पचाउन निकै कठिन हुन्छ ।

फलफूल नखाऔं

खाना खाएपछि फलफूल खानु पनि राम्रो मानिंदैन । वास्तवमा विभिन्न खाद्य पदार्थहरू फरक गतिमा पच्छन् । यदि हामीले पहिले फलफूल खायौं भने त्यसलाई पचाउन धेरै सजिलो हुन्छ । तर खाना खाइसकेपछि फलफूल खाँदा पाचन प्रक्रियामा कठिनाइ हुन्छ । त्यसैले खाना खानु एक घण्टाअगाडि वा खाएको दुई घण्टापछि फलफूल खानुपर्छ । खाना खाएपछि तुरुन्तै फलफूल खाँदा राम्ररी पच्दैन ।

चिया नपिऔं

हुन सक्छ हामीमध्ये कोही चियाप्रेमी हुनुहोला र बिहानको खाजामा वा खाना खाएपछि चिया पिउन मन पर्छ । तर त्यसो गर्नु स्वास्थ्यको लागि राम्रो होइन । चियाले हाम्रो पाचन प्रक्रियालाई असर गर्छ । यदि हामी खानामा प्रोटिन खान्छौं भने चियाको एसिडले प्रोटीन सामग्रीलाई कडा बनाउँछ, यसलाई पचाउन गा¥हो बनाउँछ । खाना खाएको तुरुन्तै चिया पिउनाले शरीरमा आइरन अवशोषणमा पनि बाधा पुग्छ । त्यसैले खाना खानुभन्दा एक घण्टा अगाडि र पछिसम्म चियालाई परहेज गरौं ।

पानी नपिऔं

पानी पिउनु स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । तर खाना खाएपछि पानी पिउनुहुँदैन । खाना खाएपछि पानी पिउँदा पाचन प्रणाली कमजोर हुन्छ । तुरुन्तै पानी पिउँदा खानामा रहेका पोषक तत्व पानीमा मिसिन्छन् र पिसाबसँगै बाहिर निस्कन्छ । यसरी स्वस्थकर खानेकुरा खाए पनि शरीरलाई फाइदा हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here