• अनन्तकुमार लाल दास

बालबालिकाहरू परिवारका आकाङ्क्षा र अपेक्षाका केन्द्र हुन्छन् । बालबालिकाहरू पारिवारिक सुख, समृद्धि र सफलताका आधार हुन्छन् । यस अर्थमा सम्पूर्ण सामाजिक व्यवस्थाको आधारस्तम्भ नै बालबालिका हुन्छन् र उनीहरूकै लागि हामी जीवनपर्यन्त सङ्घर्षरत रहन्छौं । मानिस प्रकृतिको सबैभन्दा विकसित प्राणी भएकै हुनाले बालबालिकाको सुरक्षा र उनीहरूको मानसिक विकासका लागि दिनरात परिश्रम गर्ने गर्छन् । ज्ञान सँगसँगै उनीहरूको भित्री प्रतिभा पनि उजागर हुन्छ । यसै योग्यता र प्रतिभाले गर्दा समाजमा उनीहरूले मान र सम्मान प्राप्त गर्छन् र यसरी समाज र राष्ट्रलाई त्यसको लाभ प्राप्त हुन्छ ।

प्रत्येक मानिसले आआफ्नो पारिवारिक र सामाजिक स्तर अनुसार बालबालिकालाई योग्य, प्रतिष्ठित, सम्पन्न र प्रभावशाली बनाउने प्रयत्न गर्छन् तर अभिभावकको क्रियाकलाप, स्वभाव, आदत र मानसिक सोचको छाप बालबालिका माथि पनि पर्छ । यस कारण प्रत्येक अभिभावकले बालबालिकाप्रतिको चाहना र आफूद्वारा गरिने क्रियाकलापबीच सामञ्जस्य स्थापित गर्नु नितान्त आवश्यक छ ।

हाम्रो देश गरीब छ । यहाँ किसान र मजदूरहरूको सङ्ख्या नै बढी छ । जुन वर्ग आर्थिकरूपले सम्पन्न छन्, उनीहरू आफ्ना सन्ततिलाई अङ्ग्रेजी विद्यालयमा पढाउनुमा गर्वानुभूति गर्छन् । तर नौलो कुरा के छ भने गरीबी र अभावका बावजूद आज अभिभावकहरूमा शिक्षाप्रतिको जागरूकता बढेको छ । सदरमुकाम होस् वा गाउँ विद्यालयहरूको सङ्ख्यामा वृद्धि भएको छ । निम्न मध्यमवर्गीय परिवारले पनि आफ्ना छोराछोरीलाई प्री–नर्सरी, नर्सरी, एलकेजी, युकेजी भएका विद्यालयमा पढाउन चाहन्छन् किनभने उनीहरूको नजरमा सरकारी विद्यालय काम नलाग्ने र राजनीतिको अखाडा भइसकेको छ ।

यी सबै कुराका पछाडि अभिभावकको एकमात्र उद्देश्य के रहेको छ भने उनीहरूको सन्तान समय सँगसँगै हिंड्न सकोस् र कसैभन्दा पछाडि नपरोस् । यी सबैका बावजूद अधिकांश अभिभावक आफ्नो नानीको उच्छृङ्खलताले दुःखी, निराश र हताश देखिन्छन् । वास्तवमा वर्तमान सामाजिक परिवेश, सिनेमाई संस्कृति, त्यसको ग्लैमर र मोबाइलले बालबालिकाहरूको मानसिक सोचलाई प्रदूषित गरिराखेको छ । तर निराशामा नै आशाको बीउ पनि हुन्छ । यस कारण त्यस्ता अभिभावकहरूले रचनात्मक सोचलाई अपनाउनुपर्छ ।

सामाजिक र नैतिक दृष्टिकोणले अभिभावक आफ्नो सन्ततिप्रति समर्पित हुन्छन् तर पति–पत्नीको इच्छाविपरीत संयोगवश जन्मिने बालबालिकाले आमाबुबाबाट चाहिएको जति स्नेह प्राप्त गर्दैनन् । उदाहरणस्वरूप गरीबीको रेखामुनि जीवनयापन गर्ने परिवारका यस्ता लाखौंैं बालबालिका छन्, जसमा प्रतिभा भए तापनि त्यो विकसित हुन सकिरहेको छैन । भोक र कामको अभावमा यस्ता बालबालिकाहरूको प्रतिभाले बाध्यतावश गलत दिशा लिन्छ र परिवारका साथसाथै देशका लागि पनि टाउको दुखाइको कारण बन्ने गरेको हाम्रोसामु छर्लङ्ग छ ।

वास्तवमा प्रतिभाको आफ्नै मनोविज्ञान छ । जस्तै चक्कुको काम काट्नु हो । यसबाट कसैको घाँटी पनि रेट्न सकिन्छ भने कसैको शरीरमा पसेको गोलीलाई निकाली जीवनरक्षा पनि गर्न सकिन्छ । यो त चक्कुको उपयोगमाथि निर्भर छ । यस्तै, प्रतिभालाई राम्रो अभ्यासमार्फत सीपयुक्त र दक्ष बनाउन सकिन्छ भने गलत अभ्यासमार्फत पाकेटमार पनि बनाउन सकिन्छ । यस कारण बालविकासको सम्पूर्ण दायित्व अभिभावकमाथि निर्भर छ । यसो भन्नुको तात्पर्य के हो भने पारिवारिक वातावरणको प्रभाव बालबालिकामाथि अत्यधिक पर्छ । यस कारण स्वस्थ पारिवारिक वातावरण बनाउने कर्तव्य अभिभावकको हो किनभने बालबालिकाहरू आफ्नो मनका धेरै कुरा अभिभावकसामु व्यक्त गर्दैनन् । वर्तमानमा सानो परिवार आधुनिक जीवनशैलीको अङ्ग बन्दै गएको छ । एक्लो सन्तानले बढी माया वा कामकाजी महिलाहरूका सन्तानले मायाको अभावमा विपरीत सोच राख्न सक्छन् । अर्कोतर्फ ठूलो परिवारमा आर्थिक साधन सीमित हुनाले कलहको बढी सम्भावना हुन्छ । यस परिवेशमा यदि बालबालिकाहरूको आवश्यकता समयमा पूर्ति भएन भने उनीहरू हीन भावनाका शिकार हुन सक्छन् । यसर्थ अभिभावकहरू आफ्ना सन्तानको भविष्यप्रति सधैं सतर्क र सजग रहनुपर्छ ।       

जुन विद्यालयमा शिक्षकहरूले व्यक्तिगतरूपमा विद्यार्थीहरूमाथि ध्यान दिन्छन्, ती विद्यालयका विद्यार्थीहरूका हरेक क्रियाकलापमा प्रगतिको लहर देख्न र सुन्न पाइन्छ । एकल होस् वा संयुक्त परिवार आवश्यकता छ बालबालिकाहरूको क्रियाकलापमाथि रुचि लिनु किनभने यसको अभावमा उनीहरूले आफूलाई असुरक्षित र तनावग्रस्त अनुभव गर्छन् । जसरी पानीको अभावमा बोटबिरुवा उम्रन सक्दैनन्, त्यसैगरी स्नेह, प्रेरणा र प्रोत्साहनको अभावमा उनीहरूभित्र रहेको प्रतिभाको विकास हुँदैन । प्रेरणा र प्रोत्साहनबाट उनीहरूमा सङ्घर्ष गर्ने शक्तिको विकास हुन्छ र प्रथम स्थान प्राप्त गर्न नसके तापनि पुनः बढी उत्साह र लगनका साथ प्रथम आउने कोशिश गर्छन् र प्रथम स्थान प्राप्त गर्न सफल पनि हुन्छन् ।

परिवारमा बालबालिकाहरूको स्थितिले पनि उनीहरूको विकासमाथि प्रभाव पार्छ । छोरा वा छोरी माइलो वा कान्छो छन् भने प्रायः दाजु वा दिदीको स्वभाव र आदतले प्रभावित हुन्छन् । विद्वान् गोल्डस्टीनका अनुसार परिवारबाट नै बालबालिकाहरूले सामाजिक व्यवहार सिक्छन् । यस कारण पारिवारिक सम्पर्कमा आउने सबैबाट उनीहरू प्रभावित हुने गर्छन् र यही नै पछि गएर उनीहरूको संस्कारमा परिवर्तित हुन्छ । यस कारण परिवारलाई प्रथम पाठशालाको रूपमा मान्यताप्राप्त छ । भन्नुको अर्थ के हो भने बालबालिकाहरूको व्यक्तित्व विकास पूर्णरूपेण परिवारमाथि निर्भर छ । मनोवैज्ञानिकहरूको भनाइ अनुसार उनीहरूको संस्कार, चालचलन, उनीहरूद्वारा गरिने व्यवहार आदि सबै परिवारका देन हुन् । यस कारण अभिभावकहरूले आआफ्नो छोराछोरीलाई साथी जस्तै समान व्यवहार गर्नुपर्छ अर्थात् उनीहरूका हरेक गतिविधिमा रुचि लिनु, उनीहरूको कुरा सुन्नु, उनीहरूको सफलतामा प्रशंसा गर्नु र असफलतामा प्रोत्साहन प्रदान गर्नुपर्छ । “मेरो टाउको नखाऊ, गएर बुबासँग सोध” जस्ता वाक्यको प्रयोग गर्नुहुँदैन ।

विद्यालय जाने बालबालिकाहरूमा विद्यालय नजाने बालबालिकाहरूभन्दा बढी सामाजिक भावना पाइन्छ । विद्यालय जाने बालबालिकाहरूमा सिक्ने इच्छा, सहयोगी भावना, एकअर्काप्रति सहानुभूति, समयको सदुपयोग गर्ने बानी, शारीरिक विकास, भाषाको ज्ञान, भावना व्यक्त गर्ने क्षमताको विकास, सामूहिक उत्तरदायित्व वहन गर्ने क्षमता र प्रकृतिसँग प्रेम गर्ने जस्ता सामाजिक भावनाको विकास भएको पाइन्छ, जसले बालप्रतिभालाई नयाँ स्वरूप प्रदान गर्छ । यस कारण प्रत्येक अभिभावकले अनिवार्य आफ्नो सन्ततिलाई विद्यालय पठाउनुपर्छ ।

मनोवैज्ञानिकहरूको कथन अनुसार बालबालिकामा भएको प्रतिभा सुषुप्त अवस्थामा हुन्छ र यसको विकास बिस्तारै वातावरण र समय अनुसार हुन्छ । प्रारम्भिक अवस्थामा कोही बढी रुन्चे, कोही बढी हाँस्ने, कोही सुतिराख्ने वा कोही उदास देखिने हुन्छन् । बिस्तारै परिवारसँगको घुलमिल प्रारम्भ हुन्छ । त्यसपछि छरछिमेकसँग र छरछिमेकका एकै उमेरका केटाकेटीहरूसँग लगाव, बिस्तारै लिङ्ग भेदको ज्ञान आदि कुराहरूको विकास परिवारमैं हुन्छ । विद्यालय प्रवेश गरिसकेपछि उनीहरूका साथीहरू पनि एकअर्काको घर आउनेजाने गर्छन् । यस अवस्थामा अभिभावकको दायित्व उनीहरूका साथीमाथि ध्यान दिनुपर्ने हुन्छ । समयसमयमा विद्यालय गई शिक्षकहरूसँग सन्ततिको प्रगति र विद्यालयमा गरिने क्रियाकलापबारे जानकारी लिई राख्नुपर्छ ।

किशोर अवस्था नै बालबालिकाहरूको प्रतिभा विकसित हुने अवस्था भएकोले यस अवस्थामा अभिभावकहरू बढी सचेत हुनुपर्छ । यस अवस्थामा बालबालिकाहरूमा विभिन्न प्रकारका शारीरिक परिवर्तन हुन थाल्छन् । उनीहरूको आकर्षण विपरीत लिङ्गसँग हुने बढी सम्भावना हुन्छ । यस अवस्थामा नयाँनयाँ रुचिहरूको पनि विकास हुन्छ । उनीहरूको चाहनामा पनि परिवर्तन आउने सम्भावना बढी हुन्छ । यस प्रकार ज्ञानवृद्धिका साथै यदि कुनै विकृति उनीहरूमा देखा पर्छ भने यसप्रति अभिभावकहरू गम्भीर हुनु नितान्त आवश्यक हुन्छ किनभने यस अवस्थामा उनीहरूसँग गलती हुने सम्भावना बढी हुन्छ । यसको एकमात्र निदान उनीहरूसँग मित्रवत् व्यवहार गर्नु नै हो । मित्रवत् व्यवहारले गर्दा उनीहरू खुलेर आफ्ना मनका कुराहरू अभिभावकसँग व्यक्त गर्छन् र त्यसको उपचार पनि सजिलै गर्न सकिन्छ । यस कारण बालबालिकाहरूको भावनाको मूल्याङ्कन आफ्नो स्तरबाट गर्नु एउटा जागरूक अभिभावकको पहिलो दायित्व हो ।

यस प्रकार के भन्न सकिन्छ भने बालबालिकाहरूमा देखा पर्ने गुण वा अवगुण परिवारको देन हो । परिवार त्यो संस्था हो, जसले बालबालिकाहरूलाई जन्माउँछ, उनीहरूको पालनपोषण र मनोवैज्ञानिक संरक्षण प्रदान गर्छ र समग्रमा समाज र राष्ट्रको लागि योग्य नागरिक बनाउनमा सक्रिय भूमिका खेल्छ । परिवारमा जन्मिने बालबालिकाहरूले नै सामाजिक सम्बन्ध, व्यवस्था र मान्यताहरूलाई प्रतिष्ठा प्रदान गरी आफूलाई आफ्नो अपेक्षा अनुसार स्वरूप प्रदान गर्छन् । यस कारण प्रत्येक अभिभावकले माटोको भाँडो बनाउने कुम्हालको भूमिका निर्वाह गर्नुपर्छ, जसले काँचो माटोलाई एउटा हातले माथिबाट आकार दिई अर्को हात सहाराको रूपमा तल राखिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here