पोखरिया, २६ माघ/रासस
नेपाली धानको मूल्यवृद्धि भएकोले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत महसूस गरेका हुन् । भारतले धान निकासीमा कोटा लगाएको र भारतमैं पनि मूल्यवृद्धि भएकोले नेपाली धानको मूल्य पनि गत वर्षको तुलनामा बढेको हो ।
धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपियाँँमा पाइने सोना मन्सुली चामल रु ५८ तथा रु ५० प्रतिकिलोमा पाइने मन्सुली चामल रु ६४ पुगेको छ ।
धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान मारमा पर्दै आए पनि यसपाली भने केही भए पनि राहत पाएका छन् । वीरगंज–३० लालपर्साका किसान सीतारामप्रसाद भन्छन्–“धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले पनि कम हुने गरेको भए पनि यसपाली भने थोरै भए पनि खुशी भएको छु ।”
उनी भन्छन्–“म अहिले ६५ वर्षभन्दा माथिको भएँ, करीब १६ वर्षको उमेरदेखि धानखेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन मल समयमा नपाउने, महँगो पाइने, भारतबाट ल्याउँदा दुःख पाउने अवस्था छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या हुनेगरेकामा अहिले अलिकति भए पनि धानको मूल्यवृद्धि हुँदा हामी किसान खुशी छौं तर यो पर्याप्त चाहिं होइन ।”
पर्सा, सबैठवा–४ की किसान किसमतिया देवी भन्छिन्–“धान उत्पादन गर्न सिंचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन् धानखेतीलगायत सबै खेती महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि भएको हो । यो वृद्धिले केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्छ ।
धानको मूल्यवृद्धिले एकातिर किसान खुशी भएका छन् भने अर्काेतर्फ उपभोक्ता भने मारमा परेका छन् । धानमा प्रतिक्विन्टल ३०० रुपियाँँसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १५ रुपियाँँदेखि २५ रुपियाँँसम्म मूल्यवृद्धि भएको कारण मारमा परेको उपभोक्ताको गुनासो छ ।
वीरगंज महानगर–१२ मुर्लीकी सरिता देवी कुर्मी चामलको मूल्य अचानक बढेपछि गर्जाे टार्न समस्या हुने गुनासो गर्छिन् ।
भारतले नेपालका लागि चालू वर्षमा छ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेको कारण भारतमैं धानको मूल्य बढेकोले नेपालमा पनि धानको मूल्यसँगै चामलको मूल्य पनि बढ्दा उपभोक्ताहरू मारमा परेका हुन् ।
नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ता भारतले गत वर्षदेखि समर्थन मूल्य पाँचदेखि छ रुपियाँँ बढाएर बिक्री गर्ने गरेको र भारतबाट धान, चामल नेपालतर्फ आयात गर्दा त्यसमैं भन्सार कर र भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने भएकोले मूल्यवृद्धि भएकोे बताउँछन् ।
उनी अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारतमैं निर्भर रहेको र नेपालको बजारमा पनि भारतकै धान, चामलको समर्थन मूल्यले ठाउँ लिने हुँदा यस्तो अवस्था सिर्जना भएको बताउँछन् ।
गत वर्ष यही याममा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल रु दुर्ई हजार आठ सय थियो भने हाल तीन हजार एक सय रुपियाँँ छ ।
त्यही धान भारतमा प्रतिक्विन्टल रु तीन हजार दुर्ई सय ५० रुपियाँँ अर्थात् नेपालको धान, चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको सुबोध गुप्ताको भनाइ छ ।