काठमाडौं, ८ माघ/रासस
मौसम विज्ञान विभागले भोलि सोमवार रातिदेखि पश्चिम नेपालबाट शुरू भएर बिहीवारसम्म काठमाडFैं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।
यसैगरी, यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको जनाइएको छ । विभागको तथ्याङ्क अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव एक मिलिमिटर पानी परेको थियो । नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायुविज्ञ धर्मराज उप्रेतीले जानकारी दिए । उनका अनुसार हिउँदमा पानी कम पर्दा सुक्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै बहुआयामिक असर पर्नेछ । हिउँदमा पानी कम पर्दा पानीका मुहानहरू सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउन सक्ने जलवायु क्षेत्रका जानकारहरूले बताएका छन् ।