यौनसम्पर्क गर्दा पुरुषमा उत्तेजना हुन नसक्ने कारणले पेनिट्रेशनमा समस्या हुन्छ, जसलाई इरेक्टाइल डिसफंक्शन भनिन्छ ।
इरेक्टाइल डिसफंक्शनलाई नपुंसकता र स्तम्भन दोष पनि भनिन्छ । धेरैजसो पुरुषले समय–समयमा इरेक्टाइलसम्बन्धी कठिनाइहरू अनुभव गर्छन् र यो चिन्ताको विषय होइन । तर समस्या रहिरह्यो भने यो रोग हुन सक्छ ।
नपुंसकता हुनुमा शारीरिक र मनोवैज्ञानिक कारणहरू हुन सक्छन् । यस्तो शारीरिक कारक उच्च कोलेस्ट्रोल हुन सक्छ । शरीरमा उच्च कोलेस्ट्रोलले नसा र वेसेल्सलाई हानि पुर्याउँछ, जसका कारण लिङ्गमा रगत प्रवाह हुँदैन । यसले इरेक्टाइल डिसफंक्शन वा नपुंसकता निम्त्याउन सक्छ । यदि कसैमा यो समस्या छ चिकित्सककहाँ गई चेकजाँच गराउन ढिलो गर्नुहँुदैन ।
स्वास्थ्य विज्ञहरूका अनुसार यदि इरेक्टाइल डिसफंक्शन उच्च कोलेस्ट्रोलको कारणले हो भने कोलेस्ट्रोलको स्तर जाँच गराउनुपर्छ ताकि लिङ्गको नसा र वेसेल्सहरूलाई थप क्षति हुनबाट जोगाउन सकिन्छ ।
उच्च कोलेस्ट्रोलको मात्रालाई स्वस्थ जीवनशैली अपनाएर नियन्त्रण गर्न सकिन्छ । यसमा नियमितरूपमा व्यायाम गर्ने र रक्सी, तम्बाकू, धुम्रपान र अन्य कुनै पनि प्रकारका पदार्थको सेवन छोड्ने समावेश छन् । खानामा परिवर्तन गरेर पनि कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सकिन्छ । बोसोयुक्त मासु, घ्यू, क्रिम, केक, बिस्कुट जस्ता चीजहरू खानुहुँदैन । यसको सट्टा सैल्मन माछा, खैरो चामल, गहुँको रोटी, नट, बीउ, फलफूल र तरकारीहरू खानुपर्छ ।
उच्च कोलेस्ट्रोलबाहेक इरेक्टाइल डिसफंक्शनका अन्य शारीरिक कारणहरू जस्तैः मुटुरोग, रक्तवाहिकाहरूमा अवरोध, उच्च रक्तचाप, मधुमेह, मोटोपन, पार्किन्सन रोग, मल्टिपल स्क्लेरोसिस, निद्रासम्बन्धी विकारहरू, कम टेस्टोस्टेरोन आदि हुन् ।
माथि उल्लिखित कारणहरूबाहेक प्रोस्टेट क्यान्सर वा बढेको प्रोस्टेटको उपचारले पनि इरेक्टाइल डिसफंक्शन निम्त्याउन सक्छ । मेरुदण्डलाई असर गर्ने शल्यक्रिया वा चोटहरूले पनि यो अवस्था निम्त्याउन सक्छ ।