काठमाडौं, २१ पुस/रासस

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । यस काममा विज्ञापन एजेन्सीको पनि भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिए ।

विज्ञापन बोर्डले आज आयोजना गरेको ‘बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम शुभारम्भ गर्दै उनले यस्ता कार्यक्रमबाट सरोकार भएका व्यक्ति र निकायका सुझावका आधारमा विज्ञापन क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र स्वच्छ बनाउन सकिने धारणा व्यक्त गरे । विज्ञापन एजेन्सीले स्वनियमनमा बसेर आफ्नो भूमिका निर्वाह गरे सरकार सहजीकरणका लागि सदैव तयार रहेको सचिव डा अर्यालको भनाइ थियो । उनले यस कार्यक्रममा प्रस्तुत हुने कार्यपत्रमाथि गरिने छलफलबाट प्राप्त सुझावले विद्यमान कमीकमजोरी सच्याउनका लागि अवसर मिल्ने विश्वास व्यक्त गरे ।

विज्ञापनको आचारसंहिता विभिन्न चरणमा छलफल र  सरोकार निकायका सुझावसमेत समेटी ल्याइएको जानकारी गराउँदै सचिव डा अर्यालले यसमा समय अनुसार परिवर्तन र परिमार्जन गर्न सकिने बताए । बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तयार गर्न लागेकाले यसमा सुझाव दिन आग्रह गर्दै उनले यसले विज्ञापनसम्बन्धी ऐन र नियममा भएका कमीकमजोरी सच्याउन योगदान पुग्ने अपेक्षा गरे ।

सचिव डा अर्यालले बोर्ड स्वायत्त रहेको र यसको निर्णय प्रक्रियामा मन्त्रालयको कुनै हस्तक्षेप नभएकोसमेत स्पष्ट पारे ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इंंले अन्तक्र्रियाको उद्देश्य सरोकारवालाका आवाज सुनेर सम्बोधनका लागि प्रयास गर्नु रहेको उल्लेख गर्दै बोर्डमा सूचीकरण भएका एजेन्सीसँगको अन्तक्र्रिया यो पहिलो भएको जानकारी गराए ।

विज्ञापनका क्षेत्रमा सरकार र नियामक निकाय मात्र भएको बताउँदै उनले एजेन्सी र सरोकारवालाका सुझाव बोर्डको नीति र कार्यका लागि आधार हुने उल्लेख गरे । अध्यक्ष हुमागार्इंले यो व्यवसायलाई स्वच्छ, पारदर्शी, मर्यादित र प्रतिस्पर्धी बनाउन बोर्डले कार्य गरिरहेको बताउँदै बोर्ड आफ्नो क्षेत्रका कार्यमा स्वायत्त रहेको स्पष्ट पारे ।

एडभरटाइजिङ एशोसिएशन अफ नेपाल (आन)का अध्यक्ष सोमप्रसाद धितालले बोर्डलाई स्वायत्त बनाइ विज्ञापन क्षेत्रलाई नियमन तथा बढोत्तरीका लागि थप कार्य गर्नका लागि मन्त्रालयबाट  सहजीकरण गरिदिन आग्रहसमेत गरे । उनले बोर्ड सहजीकरण निकायका रूपमा मात्र रहनुपर्ने र व्यवसायीको हकहितमा काम गर्नुपर्ने बताए । अध्यक्ष धितालले बोर्डले सबै विज्ञापन क्षेत्रका विधालाई समावेश हुनेगरी काम गर्नुपर्ने र विज्ञापनको क्षेत्र बढाउनसमेत प्रेरित गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रपछिको सत्रमा विज्ञापन क्षेत्रसँग सम्बन्धित विभिन्न चार विषयका कार्यपत्र प्रस्तुत गरिने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here