- कुमारबन्धु रुपाखेती
पर्सामा प्रहरी उपरीक्षक (एसपी) हुँदा रमेश खरेलले भन्थे– मलाई कार्यालयमा भेट्न आउने सबैले आफ्नो परिचय दिंदा फलानो संस्थाको अध्यक्ष, ढिकानो सङ्घसंस्थाको सभापति वा संयोजक भनेर चिनारी गराउँथे । आमनागरिकको रूपमा उनलाई भेट्न कोही नआएकामा उनी अचम्भित हुन्थे । त्यसो त आमनागरिकले कार्यकक्षमा एउटा एसपीलाई भेट्नै पाउँदैन, आमहरूले त एसपी कार्यालयमा प्रवेश नै पाउँदैनन् । खरेललाई अचेल राजनीतिको चस्का लागेको छ र दल नै खोलेर बसेका छन् । जाबो एउटा एसपीलाई भेट्न त आफ्नो नामको अगाडि अध्यक्ष वा सभापतिको पगरी झुन्ड्याउनु जरुरी छ भने त्यसभन्दा माथिको दर्शनभेट पाउन कति पापड बेल्नुपर्छ होला । अध्यक्ष्F वा सभापति पदको महत्व बुझेका देउवा, ओली र प्रचण्डहरूले त यो पदलाई दाइजो, पेवा नै बनाएका छन् । कुनै बखतका ख्यातिप्राप्त कम्युनिस्ट नेता मोहन विक्रम सिंहलाई नै हेर्नुस्, एक्लै भएपनि विनासेनाको सेनापतिझैं सधैं पार्टी प्रमुख । नारायणमान बिजुक्छेको त्यही रवैया छ । पार्टी अध्यक्षको कुर्सी ताकेको भन्दै उपेन्द्र यादवले बाबुराम भट्टराईको पत्ता नै साफ गरिदिए । हृदयेश त्रिपाठी र रेशम चौधरीको के कुरा गर्ने ?
ओलीको पद ताकेको भन्दै भीम रावलको टिकट नै साफ र देउवाको समकक्षी बन्न खोजेको भन्दै काङ्ग्रेसमा गगन थापाको प्वाँख काटिंदैछ । पञ्चायतकालमा गाथगद्दी ताक्नेभन्दा चर्को अपराध हो, अचेल पार्टी प्रमुखको पद ताक्नु । अझै देउवालाई त पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री तीनै थोक चाहिएको छ । चिची पनि पापा पनि । त्यसैले त अस्ति वीरगंजमा जेसीजको अधिवेशनमा मुख्यमन्त्री लालबाबू राउत गद्दीले सधैं प्रचण्ड, देउवा, ओली र माधव मात्रै प्रधानमन्त्री बनिरहने हो भने युवाहरूले अथवा अरूहरूले किन राजनीति गर्ने भन्दै व्यङ्ग्य हानेका थिए । पार्टी अध्यक्ष पदको कत्रो महिमा छ भनेर कमल थापालाई सोधे हुन्छ, महन्थ ठाकुरलाई सोधे हुन्छ । हिजोसम्म कसैको नजरमा नपरेका जनमत पार्टीका सिके राउतलाई नै हेर्नुस् पार्टी अध्यक्ष बन्ने बित्तिकै फुर्ती नै अर्को । स्वयम् रमेश खरेलले समेत अचेल ठाउँ–कुठाउँ सुशासन पार्टी नेपालको अध्यक्ष भन्दै डिङ हाँकिरहेका छन् । त्यसो त अचेल सबै पेशामा युनियन र तिनका अध्यक्ष गजदम्भ बनेर विराजमान देखिन्छन् । पत्रकारका अध्यक्षहरूलाई त झन् छुनै सकिंदैन । नेपालमा अचेल बरु धर्मपरिवर्तन गर्न सजिलो छ, पार्टी अध्यक्ष अपरिवर्तनशील बुझिन्छ ।
राजनीतिक दलका नेताहरूको अध्यक्ष पदलाई माइबाप बनाएकाले सबै क्षेत्रमा अध्यक्ष बन्न लालायित हुनेहरूको भीड नै देखिन्छ । जेसीजजस्तो ख्यातिप्राप्त संस्थामा त हानाथाप महसूस गरिंदैछ । मलाई त अचेल अध्यक्ष पद गोमन सर्पझैं लाग्छ, कोही नजीक पुग्न खोज्यो कि फुँकार, हुँकार लगाइहाल्ने । प्रमुखको महत्व बुझेका बिचरा माधव नेपालले समेत नयाँ पार्टी खोल्दा आफैंलाई प्रमुख बनाए । त्यसो त ठूला राजनीतिक दलहरू सदैव एक व्यक्ति एक पदको सुगा रटाइ गरिरहन्छन् तर व्यवहारमा भने त्यस्तो पटक्कै देखिंदैन ।
पार्टी अध्यक्ष र संसदीय दलको नेता बन्न नसक्नेहरू प्रधानमन्त्री बन्नै सक्दैनन् । नपत्याए काङ्ग्रेसका रामचन्द्र पौडेल र एमालेबाट बाहिरिएका वामदेव गौतमलाई यो कुरा सोधे हुन्छ । बिचराहरूलाई प्रधानमन्त्रीको पद सधैं ‘अङ्गुर खट्टे है’ साबित भयो । वास्तवमा प्रजातन्त्रको युगमा हाम्रो राजनीतिक दलहरूभित्र प्रजातन्त्र होइन, निरङ्कुशतन्त्र हाबी छ । बरु निरङ्कुश भनिने राजतन्त्रका बखतका दलहरूमा शान्तिपूर्ण किसिमले प्रमुखहरू चुनिने र कुनै रोकटोकविना प्रधानमन्त्री चयन हुन्थे । पार्टी अध्यक्ष भएपछि डामेको साँढे बन्न पाइने प्रचलन छ हाम्रोमा ।