काठमाडौं, १८ मङ्सिर/रासस
हिउँदेबालीका लागि करीब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रिने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार ७६४ मेट्रिक टन युरिया, १९ हजार २८६ मेट्रिक टन डिएपी र एक हजार ९३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार ९८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिए ।
मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार ४४९ मेट्रिक टन मौज्दात छ । जसमा १५ हजार १७९ मेट्रिक टन युरिया, १८ हजार ४३२ मेट्रिक टन डिएपी र एक हजार ८३७ मेट्रिक टन पोटास छ ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेशनसँग छ हजार ५६४ मेट्रिक टन युरिया, ८५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार ५३४ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।
चालू आर्थिक वर्ष २०७९/८० का लागि मल खरीद गर्न सरकारले रु १६ अर्ब विनियोजन गरेको छ ।
चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमार्फत दुर्ई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरीदका लागि टेन्डर आह्वान भएको थियो । जसमा एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार ५०० मेट्रिक टन बिक्रीसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कृषि सामग्री कम्पनी लिमिटेड ५७ हजार २१२ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पाेरेशनले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेका छन् ।
साथै, २० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता नेपाल आइपुग्ने पनि कृषि मन्त्रालयले जनाएको छ । टेन्डर भएको बाँकी मल माघ तथा फागुन महीनामा नेपाल आइपुग्ने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले मन्त्रालयलाई दिएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन रासायनिक मलमध्ये पाँच हजार मेट्रिक टन भैरहवा र वीरगंज नाकामा आइसकेको तथा १० हजार मेट्रिक टन मल विशाखापटनमबाट नेपालका लागि निकासी भइसकेको पनि मन्त्रालयको भनाइ छ ।