- कुमारबन्धु रुपाखेती
सङ्घीय सरकारको शक्तिशाली मन्त्रालयमा मन्त्री भइसकेको मान्छे नगरप्रमुखमा लड्छन्, सांसद भइसकेको व्यक्ति विधायकमा रुचि देखाउँछन् र विधायक भइसकेकाहरू गाउँपालिका ताक्छन् । यो राजनीतिक पदोन्नति हो कि घटुवा हो, मेरो सानो दिमागले बुझ्नै सकेन । माथिल्लो तहको स्वाद चाखिसकेकाहरू आखिर किन तल्लो पदमा झर्ने रहर गर्छन् । यो रहरले कि त पैसाको प्यास अथवा कुर्सीमा टाँसिरहने लोभ हो भन्ने जनाउँछ । अचेल दलहरूमा पदको चाहना राख्नेहरूको सङ्ख्या एकाएक वृद्धि भएकोले ‘जो हात वो साथ’ पनि होला । यस्ताहरूलाई ‘नपाउनेले केरा पायो बोक्रा सुद्धै चपायो’ पनि भनिन्छ । अचेल त आफ्नो दलबाट टिकट हत्याउनु पनि विजय उत्सव नै हो, निर्वाचनमा जित्ने, नजित्ने आफ्नो भाग्यको कुरा हो । संविधानले केन्द्रीय मन्त्री र मुख्यमन्त्रीलाई एउटै तह र स्तरमा राखेको देखिन्छ । माननीय भइसकेकाहरूको तल्लो तहप्रतिको यो मोहले गर्दा राजनीतिक पदहरूको गरिमा एकातिर घटेको देखिन्छ भने अर्कोतिर योग्यता र क्षमता भएका सहकर्मीहरूलाई समेत घरको न घाटको बनाएको देखिन्छ । राजनीतिकर्मीहरूभन्दा त बरु राष्ट्रसेवक कर्मचारीहरू नै नैतिकवान् देखिन्छन् । आफूभन्दा जुनियर सहकर्मी भनसुनको भरमा आफ्नो हाकिम बन्दा राजीनामा दिने कर्मचारी थुप्रै छन् । त्यस्तै, घटुवामा पर्दा राजीनामा दिने कर्मचारीहरू पनि छन् । अचेल भ्रष्टाचारमा कर्मचारीहरूभन्दा नेताहरू अग्रस्थानमा देखिन्छन् । बिचरा कर्मचारीहरूले त सानातिना घूस परिवार धान्न लिएको देखिन्छ, तर देश बेचुवाको आरोप त नेताहरूलाई नै लाग्ने गरेको देखिन्छ । नेताहरूले नै कर्मचारीलाई चेपुवामा पारेर भ्रष्टाचार गरे गराएका थुप्रै उदाहरण नेपालमा छन् । बरु पञ्चायतकालमा बहुचर्चित मन्त्री हेमबहादुर मल्ल कैदमा परे, आइजिपी र धीरेन्द्र शाहका अङ्गरक्षक लक्षु गुरुङसमेत जेल परेको इतिहास छ । अचेल त ‘जो चोर उसकै ठूलो स्वर’ छ । बहुचर्चित बालुवाटार जग्गाकाण्ड र योभन्दा डरलाग्दा भ्रष्टाचारकाण्डमा कोही कसैको कानसम्म समात्न सकिएको छैन । तर सरकारले करोडौं तलब सुविधा दिएर भ्रष्टाचारीलाई तह लगाउने नाममा थुप्रै कार्यालय खोलेको जगजाहेर छ । एकताका त भ्रष्टाचारीलाई कीरा परोस् भन्ने नारा नै बुलन्द गरिएको थियो । अचेल त कानून मिच्ने, कानूनको धज्जी उडाउने, लुट्ने, पिट्ने र हत्यासम्मको जघन्य अपराधमा समेत नेताहरूको नाम टाँसिने गरेको छ । नेपालमा बेथितिको जन्मदाता नै राजनीति दलहरू बनेका छन् । बदमास सबै राजनीतिक दलको संरक्षणमा देखिन्छन् । नबिराउनु–नडराउनु भन्ने जमाना अब रहेन । जबसम्म राजनीतिक दलहरूले नैतिकताको राजनीति गर्दैनन्, तबसम्म राजनीतिक पदहरूसमेत कसैलाई मातैमात, कसैलाई पुर्पुरोमा हात साबित हुनेछ । शायद चान्समा डान्स भनेको पनि यही हो ।
राष्ट्रिय सरोकारका नियुक्तिहरूसमेत नेताहरूको खेलौना बनेको छ । इमानदार कार्यकर्ताहरूका लागि लाभको पद भनेको ‘बाहुनले च्याउ खाए पो स्वाद पाओस्’ भएको छ । इमानदारहरू त जुलुस, बन्द, हडतालका अस्त्र साबित हुँदै गएका छन् । यसरी उपरीमा थुपरी गर्दै एउटैलाई दोहो¥याइ तेह¥याइ पदले विभूषित गर्नाले अचेल सबै पदमा होलटाइमर कार्यकर्ता घटेको र पार्ट टाइमर कार्यकर्ता वृद्धि भएका छन् । पार्ट टाइमरहरू ‘ताक परे तिवारी नत्र गोतामे’ प्रवृत्तिका हुन्छन् । राजनीतिमा अचेल जुनियर, सिनियर भन्ने नै छैन अचेल पालिस र तेल मालिसको जमाना छ । उहिले त हाम्रFे पालामा राजाको अगाडि र घोडाको पछाडि नबस्नु भन्थे अनि राजाको काम कहिले जाला घाम भन्थे तर अब त धाइ, सुसारे, छाने, ढोके, हुक्केको रूपमा शीर्ष नेताहरूको आगापाछा रहनेहरूले भाग्योदय चिठाझैं घटुवाको पद भएपनि बक्सिसमा पाइरहन्छन्, रमाइरहन्छन् ।