–शङ्कर श्रेष्ठ
मलेखु, ११ मङ्सिर/रासस
अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौं मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिड्ढो त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारस्थित माइथानबेंसीमा यसरी तामझामसित सारिन्छ ।
भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्परा अनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्परा छ । भगवतीमाईको दर्शनका लागि बाटो कुरेर बसेका स्थानीय कृष्णबहादुर थापाले भने, “पहिलेदेखिकै परम्परा यही हो । भगवान्लाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चढाउने हो ।”
देवीको दर्शन गर्न सयौंको सङ्ख्यामा भक्तजन मध्यरातिदेखि नै बाटो ढुकेर बसेका थिए । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरिरहेका थिए । बडादशैंको चतुर्थीको दिन पूर्वतर्फ दशैं घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतवार बिहानै न्वाँघी घर आगिञ्चोक हाँसेबजार मन्दिरमा सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरासुन्दरी भगवतीमाईको मूर्तिलाई पिठ्यूँमा बोकेका थिए । वर्षमा तीनपटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरू कसैले हेर्न र छुन नपाउने परम्परा छ । यी तीन जातिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूल अक्षताले पूजा गर्ने स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए ।
विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीका विभिन्न मन्दिरको बसाइलाई तुलना गरिएको छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको दुईवटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रूपमा प्रसिद्ध छ । स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीका रूपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महीनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ ।
मङ्सिर महीनाको विशेष तिथि पारेर आइतवार गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा भगवतीलाई ल्याइँदै गर्दा भक्तजनले बाटोमा नै भगवतीको दर्शन र पूजापाठ गरेका थिए । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्येक वर्ष मेला हेर्न आउँछौं, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामी यो परम्परा बदल्न सक्दैनौं,” मेला हेर्न आएकी अप्सरा खड्काले भनिन् ।
नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । तर भगवतीको माइतीका रूपमा परिचित माइथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित बन्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।
जिल्ला सदरमुकाम धादिङबेंसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौंलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मङ्सिर महीनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्यूँमा बोकेर करीब तीन घण्टाको पैदल दूरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माइथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।