- शीतल महतो
देशको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, क्रयशक्ति, रोजगार, उत्पादन र उपभोगलगायत समष्टिगत अर्थतन्त्रको परिसूचक बढ्नु नै आर्थिक वृद्धि हो । विश्व अर्थतन्त्रमा आएको परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ । नेपालको सन्दर्भमा पनि मूल्य एवं बाह्य क्षेत्र स्थायित्वमा देखिएको दबाब र लगानीयोग्य साधनमा आएको सङ्कुचनका कारण अर्थतन्त्रको पुनरुत्थानसँगै उच्च आर्थिक वृद्धिदर प्राप्त गर्ने दिशामा चुनौती सिर्जना भएको छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रको विकासले देशको भौतिक विकासमा कायापलट हुन सक्छ । अझ प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा भौगोलिक विविधताका कारण नेपालको विकासमा त पर्यटन क्षेत्रको गहन योगदान रहन सक्छ । तर कोभिड–१९ ले विश्वभर नै पर्यटन उद्योगमा उथलपुथल ल्याएको छ । सन् २०२० को शुरूआतदेखि तीव्ररूपमा फैलिरहेको घातक महामारीका कारण मानिसहरूको आवागमन प्रभावित भएसँगै पर्यटन र आतिथ्य सत्कारमा आधारित व्यवसायको आम्दानी ठप्प भएको थियो ।
कोभिड–१९ का कारण प्रभावित पर्यटन उद्योग अझै पुरानो लयमा आउन सकेको छैन । पर्यटन उद्योगले ठूलो सङ्ख्यामा रोजगार सिर्जना गरेका हुन्छ । तर यही क्षेत्र कोभिड–१९ को शिकार भइदिंदा यसमा आश्रित अर्थात् अन्तरआबद्ध व्यवसाय र स्वरोजगारसमेत सङ्कटमा परेको थियो । त्यसैले पर्यटन उद्योग र रोजगार जोगाउन अब बन्ने नयाँ सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । हुनत पर्यटन क्षेत्रलाई सुरक्षित, गुणस्तरीय र पर्यटकमैत्री बनाएर नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पन्ध्रौं पञ्चवर्षीय योजना (२०१९–२३) ले लिएको थियो । पर्यटन क्षेत्रमा विविधता ल्याएर अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउने र यस क्षेत्रको लाभ वितरणबाट सर्वसाधारण जनताको जीवनस्तर सुधार्ने लक्ष्य सो योजनाले लिएको थियो । सन् २०१८–१९ को करीब १२ लाख पर्यटकको सङ्ख्या बढाएर सन् २०२३ सम्म वार्षिक ३५ लाख पु¥याउने, पर्यटन क्षेत्रको २.७ प्रतिशत गार्हस्थ्य उत्पादनलाई १० प्रतिशत पु¥याउने, प्रतिवर्ष दुई लाख रोजगारीलाई ३,८२ हजार पु¥याउने, पर्यटकको सरदर १२.७ दिनको बसाइलाई १५ दिन पु¥याउने, पर्यटकको प्रतिदिनको खर्च ४४ डलरबाट १०० डलरसम्म पु¥याउनेलगायत उद्देश्य सो योजनामा समेटिएको थियो । त्यसैले नेपालको अर्थतन्त्रलाई सबल बनाउन पर्यटन क्षेत्रको पुनरुत्थान गरी पुरानै लयमा फर्काउन आवश्यक पहलकदमी चाहिन्छ ।
विश्वमा कोभिड–१९ पछिको अर्थतन्त्रलाई सबल बनाई जनताको जीवन सरल एवं गतिशील बनाउन विभिन्न राष्ट्र दिनरात प्रयासरत छन् । कोभिडले आक्रान्त पर्यटन उद्योगलाई लयमा ल्याउन सरकारले ‘नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान कार्ययोजना २०७९’ को ७३ बुँदे कार्यक्रमसमेत प्रस्तुत गरेको छ । सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत १० लाख पर्यटक भिœयाउने लक्ष्यसँगै होटेललगायत पर्यटन क्षेत्रसम्बद्ध व्यवसायको चालू आवको वार्षिक इजाजत र नवीकरण दस्तुरमा छुट दिने, पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिनेजस्ता कार्यक्रम नेपाल पर्यटन बोर्डबाट सञ्चालन गर्ने तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउनेलगायत पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका विभिन्न कार्यक्रम अगाडि सारेको छ । यसैगरी सरकारले ‘२०२३–३२’ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको छ । जस अनुसार सरकारले सन् २०३२ सम्म नेपालमा ५० लाख विदेशी पर्यटक भिœयाउने र पर्यटकको दैनिक खर्च १२५ अमेरिकी डलरसम्म पु¥याउने लक्ष्य लिएको छ । हालसम्म सबैभन्दा बढी करीब १२ लाख पर्यटक सन् २०१९ मा आएका थिए । हाल पर्यटकको सरदर प्रतिदिन खर्च ४७ डलर र औसत बसाइ १२ दिन रहेको छ । प्राप्त तथ्याङ्क अनुसार अक्टुबर, २०२२ सम्म हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या ४ लाख ७३ हजार ५६३ रहेको छ । सन् २०१९ को अक्टुबरसम्म ७ लाख ३९ हजार ३२३ विदेशी पर्यटक आएका थिए । यस वर्षको अक्टुबर महीनालाई मात्र हेर्ने हो भने ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल वायु सेवा निगम, कतार एयरवेज, फ्लाई दुबई, एयर इन्डिया र एयर अरेबियाले ती पर्यटक नेपाल भिœयाएका थिए । सन् २०१९ मा नेपाल आउने पर्यटकमध्ये निकुञ्ज र आरक्ष क्षेत्र घुम्ने ४ लाख २९ हजार, लुम्बिनी भ्रमण गर्ने १७३ हजार, ट्रेकिङ र माउन्टेनियरिङमा जाने १७१ हजार, पशुपति दर्शन गर्ने १७१ हजार थिए । देशका हिसाबले २५४ हजार भारतीय र १६९ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । हुनत विश्वभर अर्थ व्यवस्थाको सफलताका लागि पर्यटन क्षेत्र महŒवपूर्ण मानिन्छ । पर्यटनले अर्थ व्यवस्था सुदृढ बनाउन राजस्व बढाउँछ, रोजगार सिर्जना गर्छ, देशको पूर्वाधार विकास गर्छ र विदेशी पर्यटक तथा नेपाली नागरिकबीच सांस्कृतिक आदानप्रदानको भावना बढाउँछ । हालसम्म नेपालको पर्यटन केन्द्र काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बिनी, बर्दिया, सगरमाथा र अन्नपूर्ण क्षेत्रमा मात्र सीमित छ । नेपालले यीसहित अब नयाँ पर्यटन क्षेत्रको विकास गरी प्रचारप्रसार गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रले नयाँ गन्तव्य र आवश्यक पूर्वाधार विकास नगरेसम्म पर्यटन क्षेत्रको लाभ–वितरणबाट सर्वसाधारण जनताको जीवनमा सुधार आउँदैन । परम्परागत पर्यटकीय गन्तव्यबाट बाहिर निस्किन नसकेको पर्यटन व्यवसायले लाभ प्राप्त गर्न सक्दैन र त्यसबाट नेपाल र नेपालीको उन्नति पनि सम्भव छैन । नेपाल आउने पर्यटकको भौगोलिक वितरणको हिसाबले यो क्षेत्र रोजगार र आर्थिक आय–आर्जनका लागि निकै महŒवपूर्ण छ । पहिले शहर केन्द्रितभन्दा पर्यटकहरू नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई नजीकबाट अनुभव गर्न आउँथे । वर्तमान परिस्थिति नियाल्ने हो भने पर्यटन क्षेत्रका चुनौतीहरू त धेरै छन्, तर तीमध्ये नेपाली पर्यटन क्षेत्रको विश्वव्यापी प्रचारप्रसार र बजारीकरण गर्नुपर्ने प्रमुख आवश्यकता देखिन्छ । त्यसमा पनि मुख्यतः नेपाल सरकारले हालै ५० अर्ब लगानी गरी निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल सञ्चालन गर्न बुद्धिस्ट मार्केट (थाइल्यान्ड, भियतनाम, म्यान्मा) र भारतका प्रमुख शहर एवं चीन, बङ्गलादेशमा व्यापक प्रचारप्रसार गरी भारत सरकारसँग, हवाई सेवामा गर्नुपर्ने मुख्य कार्यमा नेपाल प्रवेश गर्ने हवाई रूटको स्वीकृति आदि कार्यसँगै भारतका विभिन्न शहरबाट भैरहवा र पोखरा, काठमाडौंमा उपयुक्त जहाजबाट हवाई सेवा शुरू गर्नुपर्ने देखिन्छ ।
त्यस्तै बङ्गलादेशलाई भारत र चीनपछिको तेस्रो प्रमुख स्रोत बजारको रूपमा लिई प्रवद्र्धनका लागि केही नयाँ प्रचारप्रसार कार्यक्रम गर्नुपर्ने हुन्छ । यसैगरी बुद्धिस्ट मार्केटका प्रमुख स्रोत बजार थाइल्यान्ड, म्यान्मा, लाओस, भियतनाम, श्रीलङ्का, कोरियाबाट भैरहवामा सीधा हवाई सेवा जोड्नुपर्छ । यसका साथै भारत सरकारसँग कूटनीतिक पहल गरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर भैरहवा, नेपालगंज र महेन्द्रनगर रूटबाट विमान नेपाल आउन दिन भारत सरकारको सहमति लिन सक्नुपर्दछ । यो सहमति जति छिटो लिन सक्यो, नेपालका लागि त्यति नै फलदायी हुनेछ । नत्र यहाँको सञ्चालन खर्च सबै हवाई सेवालाई अत्यन्त महँगो हुन जान्छ र यसै कारणले यी विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू आकर्षित भएका छैनन् । हाल पूर्व वा पश्चिम जुन रूटबाट आए पनि विमानहरू सिमराकै बिन्दुमा आएर काठमाडौं, भैरहवा, पोखरा प्रवेश गर्ने बाध्यतामा छन् । महेन्द्रनगरबाट एयर रूट पाइयो भने उडान समय २५ मिनेट छोटिन्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । यसले हवाई सेवा कम्पनीको नाफा बढ्न जान्छ र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले दिएको ल्यान्डिङ, पार्किङ आदिको छुटले गर्दा कम्पनीहरूले लाभ लिन सक्छन् ।
अर्कोतर्फ आन्तरिक व्यवस्थापनमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न वैदेशिक रोजगारमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवाहरू भैरहवा विमानस्थलमा नभई काठमाडौं आउनुपर्ने गुनासो छ । यस असुविधाका कारण जजिरा एयरलाइन्सलाई सञ्चालनमा अप्ठ्यारो भइरहेको गुनासो पनि छ । यसतर्फ अब बन्ने नयाँ सरकारको ध्यान जानुपर्ने देखिन्छ । श्रमबजारका लागि खाडी देश र मलेशियालक्षित गरी अन्तर्राष्ट्रिय हवाई सेवाहरू जजिरा एयरलाइन्स र कुवेत एयर भैरहवा विमानस्थलमा आउनु स्वाभाविक हो । उक्त सेवाले हाम्रो पर्यटन क्षेत्रलाई पनि टेवा दिने नै छ । वास्तवमा पर्यटन क्षेत्र नेपालको प्राकृतिक पूँजी हो । हिमाल आरोहण, पदयात्रा, वन्यजन्तु, वनस्पति, दृश्य, सम्पदा, संस्कृति बन्जी–जम्पिङ, क्यानोनिङलगायत क्षेत्र नै नेपालका असीम पर्यटकीय उपहार हुन् । यस्ता सम्पदाको उपयोग गरीबी निवारणसँग जोडिनुपर्छ । यो सम्पत्ति कमाउने र लाभको व्यापार बन्नुहुँदैन । विकसित र सम्पन्न मुलुकहरूले आफ्ना टुर अपरेटरलाई सहुलियत दिएका छन् । पर्यटकको आवागमन खुलेपछि अन्य क्षेत्रमा पनि आत्मविश्वास बढ्छ र क्रमशः पर्यटकको आवागमन बढ्न थाल्छ । नेपाल सरकारले पनि व्यवसायीलाई सक्दो सहयोग गर्नुपर्छ । नेपालको हवाई नीति पनि उत्कृष्ट हुनुपर्छ । जति धेरै एयरलाइन्स नेपाल आउँछन्, त्यति धेरै मार्केटिङ हुन्छ । अनि मात्र समृद्ध नेपालका लागि पर्यटन व्यवसाय राष्ट्रको आर्थिक विकासको मेरुदण्ड बन्न सक्छ ।