- कुमारबन्धु रुपाखेती
पाँच वर्षका लागि राजनैतिक उछलकूद र आरोप–प्रत्यारोप मत्थर भएको छ । ठूला दलहरू सरकारको नेतृत्व गर्ने सपना बुन्न थालेका छन् भने साना दलहरू ठूलाको टाङमुनि छिरेर सरकारमा जाने बाटो पहिल्याउनमा व्यस्त छन् । तर पेन्डोरा’ज बक्स अर्थात् मतपेटिका खोलिंदैछ र लोभी–पापीहरू पानी में मछरी, नौ–नौ कुटिया बखरा लगाउँदैछन् । यसपालिको निर्वाचनमा सबै उम्मेदवार कमजोर मनस्थितिमा खुट्टा कमाउँदै निर्वाचनमा उत्रेको हामीले अनुभव गरेकै हो । सफलतापूर्वक सम्पन्न निर्वाचन २०७९ मा थुप्रै दल असफल हुने सम्भावना नकार्न सकिंदैन । आत्मविश्वासको कमी र असफलताको भयले गर्दा गठबन्धन, महागठबन्धन गर्न दलहरू बाध्य थिए । निर्वाचन अघि एउटासँग लगनगाँठो (गठबन्धन) र सरकार निर्माण गर्न कसैसँग लगनगाँठो कस्ने निर्लज्ज कसरत हाम्रो मुलुकमा साधारण कुरा हो । त्यसैले मझौला दलहरू सबै ठूला दलहरूसँग गोरु बेचेको साइनो जोड्न थालेको देखिन्छ ।
नेपाली राजनीतिमा तातै खाउँ, जली मरुँ प्रवृत्ति हावी देखिन्छ । मतगणनासम्म कुर्न नसक्ने, मतगणना अघि नै सरकारमा जाने जोड–घटाउ गर्ने प्रवृत्ति सबैका लागि घातक हुने निश्चित छ । यस्तो हतारलाई ‘बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने भनाइसँग दाँज्न सकिन्छ । जनादेश शिरोधार्य गर्ने संस्कारको नेपाली राजनीतिमा अकाल छ । देख्नु भएन विपक्ष्Fमा बस्ने जनादेश पाएका देउवा सरकारमा र सरकारमा बस्ने कम्युनिस्टहरू जैसन करनी, वैसन भरनी झैं प्रतिपक्ष्Fमा बस्न पुगे । आफ्नै पत्ता साफ हुने डरले यसपालि सबैजसो ठूलाठालू नेताले आफ्नो क्ष्Fेत्र छोडेर अन्यको प्रचारप्रसारमा जान आनाकानी गरेको प्रस्टै अनुभव गरियो । सबैभन्दा लाजमर्दो कुरा त के भने प्रचण्ड, देउवा र ओलीजस्ता खारिएका खप्पीसहरूसमेत नयाँ प्रतिद्वन्द्वी उम्मेदवारहरूसँग त्रसित देखिए । शीर्षहरूको त यस्तो हविगत देखियो भने जिल्लाका छोटे नेताहरूको त कुरै नगरौं । तर कतै–कतै बडे मियाँ तो बडे मियाँ छोटे मियाँ सुभानअल्लाह बनेको पनि सुनियो । गठबन्धनको नाममा प्रतिनिधिसभाको सिट जसरी बाँडफाँड गरियो त्यो हिसाबले त कुनै पनि दलको एकल सरकार निर्माण हुने कुरा असम्भव नै छ । सबभन्दा चिन्ताको विषय त के हो भने राजनैतिक दलहरू यस्तै लुरेझाम्रे पाराले चल्ने हो भने नेपाली जनताले भविष्यमा कहिल्यै कसैको एकलौटी सरकार देख्न दुर्लभ हुनेछ । यसपटकको निर्वाचनमा राजनैतिक दलहरूले मतदाताहरूलाई समेत गठबन्धनको नाममा अन्योलमा पारेका थिए । शायद यस्तै अन्योल र वितृष्णाले गर्दा मतदान कम भयो । जनताले नपत्याए पनि पटकपटक प्रधानमन्त्री बन्दासमेत मुलुक र जनताको हितमा सिन्को भाँच्न नसकेका देउवा, प्रचण्ड, ओली प्रधानमन्त्री पदमा ¥याल चुहाउदै हिंडेको देख्दा ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ हुन थालेको छ ।