काठमाडौं, ३० असोज/रासस

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ ।

प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, “सुरक्षा व्यवस्थालाई मजबूत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।”

प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानूनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानून बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय गरेको छ ।

उडान खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो ।

आइतवार बिहान पोखराको सारड्ढोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा खेलाडी २६ वर्षीय निशिम थापामगरको मृत्यु भएको थियो । पोखरा महानगरपालिका–१८ स्थित नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लू स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात् सय मिटर माथिबाट खस्दा थापामगरको मृत्यु भएको जनाइएको छ । उनले नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here