काठमाडौं, २३ असोज/रासस

तराई–मधेश केन्द्रित दुई ठूला राजनीतिक दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करीब–करीब टुङ्गो लगाएका छन् । दुवै दलका अध्यक्ष एवं शीर्षस्थ नेताहरूको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ ।

सो बमोजिम लोसपाका अध्यक्ष महन्त ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट  उम्मेदवारी दिने भएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिने निश्चित भएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ का लागि सिफारिश भएको उक्त दलका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका छन् ।

उक्त क्षेत्रमा गठबन्धनबाट दुईजना उम्मेदवार बन्ने भएका छन् । सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादव पनि उम्मेदवारका लागि सिफारिश भएका छन् । त्यस्तै, शरत्सिंह भण्डारीले महोत्तरी क्षेत्र नं २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् । सप्तरी क्षेत्र नं २ मा जयप्रकाश ठाकुरले उम्मेदवारका लागि मनोनयन दर्ता गराउने भएका छन् । उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । बारा क्षेत्र नं ३ बाट प्रमोद गुप्ताले टिकट पाएका छन् । लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ । यता जसपाका अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवारी दिने जसपाका प्रवक्ता मनीष कर्णले जानकारी दिए ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री राजकिशोर यादव सिराहा २ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराएका छन् । अर्का पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारीका लागि सिफारिश भएकी छन् । उनले सिराहा–३ ‘ख’बाट प्रदेशसभामा उम्मेदवारी दिएकी छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दी पनि सोही प्रदेशमैं दोहोरिएका छन् ।

त्यसैगरी, सङ्घीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा १ र मोहम्मद इस्तियाक राईले बाँके २ बाट उम्मेदवारी दिएका छन् ।

महोत्तरी क्षेत्र नं ४ बाट डा सुरेन्द्र यादवले टिकट पाएका छन् । जसपाले नेकपा (एमाले)सँग  तालमेल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here