- कुमार रुपाखेती
मुलुकमा कोरोना फैलिंदा र अहिले डेंगुको प्रकोप बढिरहँदा थुप्रै फेसबूके सल्लाहकारहरूले निश्शुल्करूपमा यो खानू, त्यो नखानू, यो गर्नू, त्यो नगर्नू भनेर सल्लाह दिइरहेको देखिन्छ । डेंगुको प्रकोपले त नेपाललाई ‘एक मच्छड आदमीको हिजडा बना देता है’ को अवस्थामा पु¥याएको छ ।
अहिले मुलुक आम निर्वाचनको सँघारमा छ । फेसबूके सल्लाहकारहरू पुनः सक्रिय देखिन्छन् । अमूक व्यक्तिलाई हराऔं, भ्रष्टाचारीलाई पाखा लगाऔं, वृद्ध होइन, युवालाई छानौं, आदि, इत्यादि । कतिपयले त नामै किटेर देउवा, प्रचण्ड, ओली, उपेन्द्र, राजेन्द्र, बाबूराम र माधवलाई पाखा लगाउन आह्वान गरेको देखिन्छ । स्थापित राजनैतिक दलका नेताहरूविरुद्ध यस्तो तीव्र विषवमन अन्यत्र कुनै मुलुकमा बिरलै देखिन्छ । तर अन्त्यमा ‘काग कराउँदै छ, पिना सुक्दैछ’ भनेझैं पाखा लगाउनुपर्नेहरूलाई मतदाताहरूले काखामा राखेको परिणाम आउने गरेको इतिहास नै छ । यति मात्र होइन, चुनावपछि प्रधानमन्त्री, उपप्रधानमन्त्रीसमेत यिनीहरू नै पड्काउँछन् । क्या बात ! निर्वाचनको महŒवपूर्ण समय भएकोले हामी पर्सावासीको ध्यान पर्सा जिल्लातफृ केन्द्रित हुनु स्वाभाविक हो । पर्सा जिल्लामा पनि पुरानै उम्मेदवारहरूबीच टिकटको रस्साकस्सी चालू छ । काङ्ग्रेसमा उही चिरपरिचित रमेश रिजाल, राजेन्द्रबहादुर अमात्य, अजय चौरसिया, अजय द्विवेदी, सुरेन्द्र चौधरीहरूको बोलबाला देखिन्छ भने जसपाबाट क्षेत्र नं. ३ बाहेक सबै पुराना अनुहारहरू उम्मेदवारको आकाङ्क्षी देखिन्छन् । एमालेबाट समेत उही घिसापिटा पुराना अनुहार र केही नवप्रवेशी शिशु कमरेडहरू टिकटको लागि मरिहत्ते गरिरहेको देखिन्छ । एमालेले त पर्साबाट समानुपातिकतफृ अन्डा, चल्ला, माउ सबैलाई उम्मेदवार बनाएर अनौठो उदाहरण प्रस्तुत गरेको छ । यसरी अन्डा, चल्ला, माउ सबैलाई समानुपातिकमा सिफारिश गर्दा गद्दारी हुने सम्भावना रहँदैन रे ! हुन पनि हो, स्थानीय निर्वाचनमा काठमाडौंलगायत स्थानमा लालसेनाले गद्दारी गरेर बालेन सेनालाई जिताएको ओली बाले हाकाहाकी सार्वजनिक गरेका थिए । काङ्ग्रेसमा त माउ नै धेरै भएकाले अन्डा, चल्लाहरूले न प्रत्यक्षमा, न समानुपातिक, कतै पनि चियाउने चान्स नै छैन रे ! अनि घात, अन्तर्घात किन नहोस् ?
जसपाले पर्सामा मुख हेरेर समानुपातिक छान्दैछ, अर्थात् समानुपातिकतफृ काम चलाउहरूलाई प्रश्रय दिने कार्य पर्सामा धडल्लेले बेरोकटोक चल्दैछ । दशैं, तिहार र छठ पर्व नजीकिएकोले पनि पर्सालाई छिट्टै निर्वाचनले गाँजेको देखिन्छ । पर्सा राजनीतिक दलका नेताहरू चाडपर्वलाई ढाल बनाएर चुनाव जित्न खप्पिस मानिन्छन् । पर्सा जिल्लाको काम चलाउ विकास निर्माण त हामी सबैलाई अवगत नै छ । जुन जोगी आए पनि कानै चिरेको अवस्थामा आम निर्वाचन २०७९ हामी सामु तेर्सिएको छ । तर पनि यसपटक भने निर्वाच्न मात्र होइन, जय चाडपर्व, जय निर्वाचन अर्थात् महँगो निर्वाचन हुनेवाला छ ।
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं वनमन्त्री प्रदीप यादव वनजङ्गल मासिंदै गएकोले जङ्गलका सबै जनावर समातेर पर्सामा चिडियाखाना बनाउन सक्रिय छन् । पर्साबाट पटक–पटक संसद्मा जितेको काङ्ग्रेसले पर्साको के हविगत बनायो सबैलाई थाहै छ । जसपाका हरिनारायणको कर्तुत कम उदेकलाग्दो छैन । कुनै बखत संसद्मा पर्साबाट एमालेसमेत जितेकै हो तर यिनले सूर्योदय होइन, सूर्यास्त गरिदिए । त्यसो त जिल्लावासीका लागि क्यै नगरे पनि पूर्व सांसद (रापस) चन्द्रदेव चौधरीलाई आसेपासेहरूले त्यतिखेर शेरे–पर्सा भन्दथे । जिल्ला र जिल्लावासीलाई क्यै नगरे पनि यहाँका सोझासाझा मतदाताहरूले आफ्ना स्थानीय नेताहरूलाई मान–पदवी र उपमाले विभूषित गर्ने चलन छ । वीरगंज, पर्सामा विमल श्रीवास्तवलाई विकासको पर्याय मान्नेहरू पनि छन् । पर्सा क्षेत्र नं. २ मा क्यै गर्न नसके पनि त्यता यिनी लालाजीको नामले पोपुलर छन् । यहाँ कुनै जमानामा जयप्रकाश नेपाली र आत्मारामसम्मको तुती बोल्दथ्यो । त्यसैले एमालेका अन्डा, चल्ला, काङ्ग्रेसका माउ र जसपाका मुँहदेखा उम्मेदवारहरूलाई मेरो अग्रिम बधाई र बडादशैं २०७९ को हार्दिक मङ्गलमय शुभकामना टत्र्याएको छु ।