कास्की, ५ भदौ/रासस

नवौं राष्ट्रिय खेलकूदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आइतवार सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकूदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताए । सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाई नै प्रतियोगिताभरिका लागि मुख्य काम गर्ने स्थल बनाइने उनले बताए ।

कार्यक्रममा युवा तथा खेलकूद मन्त्री गहतराजले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकूदलाई सफल बनाइने बताए । राष्ट्रिय खेलकूद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भएपनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताए । उनले भने, “खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकूदलाई सफल बनाउनु समग्र भूमिका आयोजना स्थल रहेको प्रदेश र स्थानीय सरकारको हुन्छ । त्यसैले गण्डकी सरकार र पोखरा महानगरपालिकासँग मिलेर प्रतियोगिता सम्पन्न गर्ने दृढ सङ्कल्प गरेका छौं ।”

मन्त्री गहतराजले ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकूद पोखरा र गण्डकीका लागि महŒवपूर्ण अवसर बन्ने भन्दै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकूदको महाअभियानलाई सफल बनाउन कार्यकारी समितिको सचिवालयले प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गरे ।

नेपालका लागि विशेष महŒव राख्ने राष्ट्रिय खेलकूद गण्डकीको राजधानी पोखरामा हुनु गौरवको विषय रहेकाले यसलाई सम्पन्न गर्न तीनै तहका सरकारका संयुक्त प्रयत्नबाट काम गर्न सरकार प्रतिबद्ध रहेको बताए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ४० वर्षपछि हुन लागेको प्रतियोगिता आयोजनाको महŒवपूर्ण अवसर प्राप्त भएकाले खेलकूदका माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप टेवा पुग्ने बताए ।

स्थानीय सरकारले राम्रो हुँदा जस र नराम्रो हुँदा अपजससमेत लिनुपर्ने भएकाले सानोभन्दा सानो कामलाई पनि व्यवस्थित गरी पाहुनाका लागि राम्रो आतिथ्यता प्रदान गरिने प्रतिबद्धता उनले व्यक्त गरे । नवौं राष्ट्रिय खेलकूदका लागि पोखरामा अहिले तयारीका काम अघि बढाइएको छ । खेलाडी प्रशिक्षण, खेलस्थल अवलोकन, निरीक्षण तथा निर्माणाधीन खेल पूर्वाधारलाई सम्पन्न गर्न लागिएको प्रदेश खेलकूद परिषद्ले जनाएको छ ।

निर्वाचनका कारण नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता स्थगित हुँदैन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गराउने  क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताएका छन् । उनले भने, “विगतका संस्करणको अनुभवलाई समेटेर सामूहिक दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व हो ।”

प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले शनिवार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

छलफलमा युवा तथा खेलकूद मन्त्री गहतराजले आगामी मङ्सिर ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता स्थगन नहुने जानकारी दिए । उनले निर्वाचनभन्दा एक महीनाअघि नै राष्ट्रिय खेलकूद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताए ।

उनले भन, “राष्ट्रिय खेलकूदका लागि  सरकारले बजेट निकासा गरिसकेको छ । यसका लागि सरकारको खर्चसमेत भइसकेको छ । निर्वाचन आयोगसँग समेत परामर्श गरेर राष्ट्रिय खेलकूद तय गरिएकोले यसलाई निर्वाचनले असर गर्दैन, आयोजक प्रदेशका हिसाबले तपाईंहरू तयारीमा लाग्नुहोस् ।”

यही भदौ २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोज १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराइनेछ । खेलस्थल र खेलाडी आवास क्षेत्रमा सुरक्षा प्रबन्ध, स्वागत सत्कार र यातायात तथा खेलाडीको हौसला बढाउनका लागि प्रदेश सरकारबाट आवश्यक काम हुने विश्वास राखेपले लिएको सदस्य–सचिव घिसिङले बताए ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकूदका ३६ र दुई प्रदर्शनी खेल छन् । प्रतियोगितामा ४०७ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा ७०८ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कुल सात हजार ७८८ खेलाडी मात्र सहभागी हुने गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here