काठमाडौं, २२ साउन/रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजूरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालू आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ वटा उजूरी परेका छन् ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजूरी ५५७, हुलाकमार्फत २७२, इमेलमार्फत २५३, वेबसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबूकमार्फत १०, भाइबरमार्फत दुई र अन्य गरी २५ उजूरी परेका छन् ।

यसैगरी, आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगंजमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौंडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टङ्गालमा ७९४ वटा उजूरी परेका थिए ।

आयोगले चालू आर्थिक वर्षको २० दिनमा घूस मागेको आरोपमा तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एकजना उपसचिव र दुईजना अधिकृत छन् ।

यही साउन १ देखि २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घूससहित पक्राउ गरेको हो । प्रधानले कम्प्युटर बिलिड्ढो सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग रु तीस हजार घूस मागेको उजूरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै, साउन १८ गते सेवाग्राहीबाट घूसबापत लिएको रु छ लाखसहित र स्रोत नखुलेको रु १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट घूसबापतको रकमसहित नियन्त्रणमा लिएको थियो । त्यससम्बन्धी अनुसन्धान अघि बढेको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै, चालू आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले रु ३० हजार घूससहित पक्राउ ग¥यो । घोडाघोडी नगरपालिका–१ स्थित नवरत्न होटेलबाट सेवाग्राहीको ३० हजार घूसबापतको रकमसहित उनी पक्राउ परेका थिए । 

सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा रु ३० हजार घूस माग गरेको भन्ने उजूरीका आधारमा उनी पक्राउ परेका हुन् । आयोगले आव २०७८/७९ मा भ्रष्टाचार भएको भन्दै १३१ वटा आरोपपत्र विशेष अदालतमा दायर गरेको थियो ।

सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजूरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो । चालू आर्थिक वर्षको साउन २० गतेभित्रमा आयोगले छवटा आरोपपत्र दायर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here