• कुमार रुपाखेती

एमाले र माओवादी मिलेर बनेको नेकपाको हबिगत सबैलाई थाहै छ । कम्युनिस्टहरूलाई अरूले होइन आफैं बर्बाद हुँदै जान्छन् भन्ने किंवदन्ती नै छ नेपालमा । नेकपा टुक्रिएपछि ओली समूह, प्रचण्ड समूह, माधव समूह र वामदेव समूहहरू जन्मिएका छन् । यिनलाई कम्युनिस्ट भन्नुभन्दा समूह भन्नु उचित हुन्छ ।

भनिन्छ, एमाले फुट्दा माधव नेपाल शक्तिमा हुँदा सेवा, सुविधा उपभोग गर्ने कार्यकर्ताहरू माधव समूहमा पसे अनि ओली शक्तिशाली हुँदा पद र कुर्सीको सुविधा पाउनेहरू ओली समूहमा लागे । अनि यता पिछलग्गुहरूको भीडलाई समूह नभनेर कम्युनिस्टको बिल्ला कसरी भिराउने ? त्यसो त कम्युनिस्टको खोल ओढेर विप्लव, मोहन वैद्य, नारायणमान बिजुक्छे र नजाने अरू कति ज्ञात अज्ञात समूह सक्रिय छन् नेपालमा ।

२००७ सालको जनमुक्ति आन्दोलनसम्म नेपालमा कम्युनिस्टहरूको कुनै भूमिका देखिंदैन । २०१७ सालमा राजा महेन्द्रले व्यवस्था परिवर्तन गरेपछि काङ्ग्रेसको शेखी झार्न राजाले कम्युनिस्टहरूलाई फलाइ फुलाइरहेको आरोप लाग्दथ्यो । २०१७ सालको व्यवस्था परिवर्तन अर्थात् पञ्चायती व्यवस्थामा थुप्रै काङ्ग्रेसी तथा कम्युनिस्ट खेमा परिवर्तन गर्दै राजा महेन्द्रको सेवामा पञ्च बनेका थिए । ‘नयाँ बहुरिया अइली त लुगरीमे साबुन लगैली’ भनेझैं कालान्तरमा यस्ता नवप्रवेशीहरू राजाको अठपहरिया मात्र साबित भएनन्, अपितु खुङ्खार पञ्च, महापञ्च पनि साबित भए । केही चाहिं नयाँ लुगा नौ दिन, लुगरी बरिस दिन भन्दै पुनः बहुदलवादीमा परिणत भए । २०४६/४७ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा नेपाली कम्युनिस्टहरू  नेपाली काङ्ग्रेसको खटनपटनमा आन्दोलनमा होमिए । त्यसो त पाकिस्तानमा जियाउल हकले जुल्फिकार अलि भुट्टोलाई फाँसी दिएपछि भुरा कम्युनिस्ट अखिल (अनेरास्ववियु)ले ठूलै आन्दोलन ग¥यो, अस्कलकाण्ड भयो । यस घटनापश्चात् नेपालमा कम्युनिस्टहरूको राजनीतिक उपस्थिति उस्केको देखिन्छ ।

अहिले मुलुकको अवस्था जर्जर छ, ज्यादा जोगी मठ उजाडको अवस्था छ । तिब्बती, भुटानीपछि अब रोहिंग्या शरणार्थीहरूको हकहितको कुरा उठ्न थालेको छ, गनिमत छ कि युक्रेनी शरणार्थीहरू यहाँ आइपुगेका छैनन् । हाम्रो होनहार युवाहरू खाडीबाट बाकसमा उपहारस्वरूप आउँदासमेत उफ र आह नगर्ने सरकार कहिले तिब्बती, कहिले भुटानी र अहिले रोहिंग्या शरणार्थीको आवभगत र सेवामा हाजिर छ । यसरी शरणार्थीहरू हाम्रो मुलुकमा थुपार्न हाम्रो छिमेकी भारतको ठूलो योगदान देखिन्छ । तिब्बती, भुटानी, रोहिंग्या जस्ता शरणार्थीहरू भारतीय बाटो हुँदै नेपाल पठाइएका
हुन् ।

मुलुकको अवस्था हेर्नुस्, किसानले असारमा मल पाउँदैन, विद्यार्थीहरूले पुस्तक पाउँदैन, बिरामीले उपचार पाउँदैन, चेली–छोरीले सुरक्षा पाउँदैन, पढेलेखेकाले जागीर पाउँदैन, निमुखाले न्याय पाउँदैन तर सरकार उपरखुट्टी लगाएर बसेकै छ । देउवा त गोबर गणेशझैं देखिन्छन् । सधैं सरकार परिवर्तन र मन्त्री पदको हानथाप छ । सांसद भएका सबैले कम्तीमा एकपटक मन्त्री पद चाख्न पाउने गरी संविधान संशोधन गरी दिए, हरहर न कचकच । पढालिखा कम्युनिस्टको खोल ओढेका बाबुराम भट्टराई उपेन्द्र यादवसँग अझुराएका छन्, पार पाउन गा¥हो छ । बिचरा वामदेवले एकता पार्टीको पासो थाप्न पाए । उता रामचन्द्र पौडेल न पार्टी सभापति, न प्रधानमन्त्री, अहिले राष्ट्रपति बनाउने आश्वासन पाएका छन् । वामदेवलाई पनि पटक–पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री पाउने लोभ देखाइयो र अन्त्यमा माछा–माछा भ्यागुतो बनाइयो । वृद्ध भत्ता खाएर ज्येष्ठ नागरिकको सम्मानमा बस्नुपर्ने यी सबै अझै राजनीतिको रेसको लङ्गडा घोडा बन्न रुचाएको देख्दा संसार नै अचम्भित छ । एउटा हिन्दी गीत छ– ‘बस यही अपराध मैं हरबार करता हु, आदमी हुँ आदमी से प्यार करता हुँ ।’ यही गीतलाई हाम्रा नेताहरूले बङ्ग्याएर– ‘नेता हुँ कुर्सी से प्यार करता हुँ’मा परिणत गरेको भान पर्न थालेको छ । अन्त्यमा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here