रमेश लम्साल, काठमाडौं, १५ वैशाख/रासस
एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।
कुल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झन्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर रु १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोशीले महŒवपूर्ण योगदान पु¥याएको पाइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कुल छ महीना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ । विभागले भनेको छ, “खासगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन शुरू, अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ ।”
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्क अनुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एशियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कुल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।
आव २०७७/७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने आव २०७६/७७ मा माइनस २.४ प्रतिशत बराबरको आर्थिक वृद्धि भएको थियो । सरकारले चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ । त्यसमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ । यस्तै, आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कुल उत्पादन आधारभूत मूल्यमा भने रु ७३ खर्ब ५६ अर्ब ६१ करोड बराबर रहेको छ । यस्तै, कुल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा रु ३२ खर्ब ५१ अर्ब ६ करोड बराबर छ ।
चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधार मूल्यमा रु ४१ खर्ब पाँच अर्ब ५४ करोड बराबर रहँदा चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु ४८ खर्ब ५१ अर्ब ६३ करोड बराबर पुगेको छ । विभागका अनुसार चालू मूल्यमा कुल स्थिर पूँजी निर्माण रु १४ खर्ब २५ अर्ब आठ करोड बराबर छ । चालू मूल्यमा अन्तिम उपभोग खर्च रु ४४ खर्ब एक अर्ब ६७ करोड बराबर छ । चालू मूल्यमा वस्तु तथा सेवा निर्यात रु तीन अर्ब २० अर्ब ७१ करोड बराबर छ ।
यस्तै, वस्तु तथा सेवा आयात रु १८ खर्ब २० अर्ब ८२ करोड, चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.९५ प्रतिशत बराबर छ । कुल गार्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ । रु नौ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालू आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रु एक लाख ६४ हजार ५९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो । त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन रु एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो ।
विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ । हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालू आवको छदेखि नौ महीनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो ।
बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ । बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जान सक्ने विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वास्तविकतामा आधारित तथ्य तथ्याङ्कको विश्लेषण गरेर विवरण प्रकाशित गरिएकाले अन्तर्राष्ट्रिय निकायहरूको भन्दा विभागको तथ्याङ्क विश्वसनीय र भरपर्दाे रहेको बताए । आयोगका सदस्य डा रामकुमार फुँयालले रूस–युक्रेन सङ्घर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको बताए । कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः लयमा फर्किएको समेत उनको भनाइ छ ।
यस्तै, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले चालू आवमा कुल आयात कुल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिए । यस्तै, निर्यात भने रु तीन खर्ब २० अर्ब बराबर पुग्ने देखिएको छ ।