- शीतल महतो
कुनै पनि वित्तीय सेवाको पहुँचबाहिर रहेका बेरोजगारी वा न्यून आय भएका व्यक्ति वा साना व्यवसायीलाई लक्षित गरेर उनीहरूको आर्थिक उन्नति गराउने उद्देश्यले सञ्चालन गरिने वित्तीय वा बैंकिङ सेवा नै लघुवित्त (माइक्रोफाइनान्स) हो । सामान्यतया लघुवित्त सेवा गरीब र विपन्न वर्ग, सामाजिकरूपमा सीमान्तकृत तथा भौगोलिकरूपमा पछाडि परेका वर्गलाई आत्मनिर्भर बन्न मदत गर्ने किसिमले सञ्चालनमा आएको हुन्छ । ती वर्ग र समुदायका नागरिकलाई वित्तीय सेवा प्रदान गर्दै उनीहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्न परिचालन गरिने आर्थिक स्रोत हो, लघुवित्त । जसले लक्षित वर्गको व्यक्तिगत वा सामूहिक उद्यमशीलता विकास गर्न महŒवपूर्ण योगदान पु¥याउँछ । लघुवित्त आफैंमा सानो पूँजीको संरचना हो । जसले सानो ऋण प्रवार्हलाई महŒव दिन्छ ।
विश्वव्यापीरूपमा लघुवित्तको अवधारणा वर्षौं पुरानो भए पनि सन् २००६ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित बङ्गलादेशी प्रोफेसर मोहम्मद युनुसले बङ्गलादेशमा सन् १९८३ (शुरूआत १९७६) मा ग्रामीण बैंक स्थापना गरी विपन्न नागरिकलाई दिगो पारिवारिक आय प्रदान गर्दै लघु उद्यम स्थापना गर्न मदत गरेको दृष्टान्तबाट प्रेरित भएको पाइन्छ । हाल कम विकसित र विकासोन्मुख देशमा लघुवित्तको अभ्यास भइरहेको पाइन्छ । नेपालमा लघुवित्तको उपस्थिति सन् १८८२ मा कृषि विकास बैंकले साना किसान विकास कार्यक्रम शुरू गरेसँगै भएको पाइन्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने हाल नेपालमा ६६ लघुवित्त कम्पनी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ अन्तर्गत रही सञ्चालनमा रहेका छन् । पछिल्लो समय नेपालमा पनि लघुवित्तको विकास र विस्तारले व्यापकता पाएको देखिन्छ । नेपाल राष्ट्र बैंकद्वारा २०७८ मा प्रकाशित लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदन २०७६–७७ मा ४६ लाख ८६ हजार ६ सय ग्राहकले लघुवित्तको सुविधा लिएको उल्लेख छ ।
हाल नेपालका अधिकांश ग्रामीण क्षेत्रमा कुनै न कुनै रूपमा लघुवित्तको उपस्थिति रहेको पाइन्छ । लघुवित्तको विस्तार व्यापक भइरहे पनि ग्रामीण समाजमा यसको आवश्यकता किन ? लक्षित वर्गमा वित्तीय साक्षरता कसरी विकास गर्ने ? लघुवित्तबाट लिएको ऋणलाई कहाँ र कसरी उत्पादक बनाउने ? यसले लागू गरेका कार्यक्रममा स्थानीय तहको भूमिका कस्तो हुने ? यसको पूँजी अनुत्पादक क्षेत्रमा लगानी भए के हुन्छ ? ऋणीको पारिवारिक सहमति आवश्यक हुन्छ कि हुँदैन ? जस्ता प्रश्नमा अझ अलमल देखिनुले लघुवित्तको प्रभावकारिता कम आकलन भइरहेको छ । हाल नेपालका ग्रामीण क्षेत्र र त्यहाँ बसोवास गर्ने गरीब नागरिकलाई आधार बनाएर सञ्चालन भइरहेका लघुवित्त पक्कै पनि ग्रामीण समुदायमा आर्थिक उन्नतिको पूर्वाधार निर्माण गर्ने विकासका संवाहक हुन् । वास्तवमा यो सानो लगानीमा ठूलो परिवर्तन गराउन सक्ने वित्तीय प्रणाली हो ।
यसरी ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिला र पुरुषलाई विशेषगरी सामूहिक आधारलाई धितो मानेर ऋण उपलब्ध गराउँदै उनीहरूको पारिवारिक जीवनको गुणस्तर सुधार गर्ने र समाजमा स्थापित गराउने लक्ष्य राखेर काम गर्नु लघुवित्तको विशेषता हो । ग्रामीण क्षेत्रका गरीब तथा विपन्न नागरिकको बैंकिङ वा वित्तीय बानी प्रोत्साहन गर्दै उनीहरूको नियमित बचतलाई दीर्घकालीनरूपमा लाभदायक हुनेगरी आर्थिकरूपमा बलियो बनाउने कार्यलाई लघुवित्तले आफ्नो उद्देश्य बनाउनुपर्छ । लघुवित्तले चालेका कार्यक्रम स्थानीय परिस्थिति अनुकूल र लागत प्रभावकारी हुँदै स्थायी हुनुपर्छ । लघुवित्तले ग्रामीण र विपन्न समुदायमा कृषि तथा पशुपालन, घरेलु तथा साना उद्योग, व्यापार, वैकल्पिक ऊर्जा, वैदेशिक रोजगार, शिक्षा, गृहनिर्माण, स्वास्थ्य बीमालगायत क्षेत्रमा पूँजी प्रवाह गर्न सकेमा पूँजी लगानीमा विविधीकरण हुन गई भविष्यमा राम्रो प्रतिफल देखा पर्न सक्छ । लक्षित वर्गको आयआर्जनमा वृद्धि गर्दै आर्थिक अनुशासन कायम गराउन सके लघुवित्तहरूले ग्रामीण विकासमा ठूलो सहयोग पु¥याउन सक्छन् ।
हाल नेपालमा सञ्चालित लघुवित्तहरू केन्द्रमा दर्ता भएर ग्रामीण क्षेत्रमा लगानी गर्दा स्थानीय सरकारसँग सहकार्य गर्दै साझा कार्यक्रम तयार गर्न नसक्नुले कहीं कतै अप्ठ्यारो देखापरेको छ । लागू गरिएका कार्यक्रममा समावेशीकरण, उद्यमशीलता, समानता र गरीबी समेट्न नसकेको खण्डमा प्रभावकारिता दिगो बन्न सक्दैन भन्ने प्रश्न पनि आउन सक्छ । त्यस्तै कतिपय दुर्गम जिल्लामा लघुवित्तको ऋण तिर्न नसकेर महिला घर छोड्न बाध्य, ऋणको विषयमा परिवारका अन्य सदस्य अनभिज्ञजस्ता समाचार आइरहँदा पक्कै पनि कार्यान्वयनमा कमीकमजोरी रहेको पाइन्छ । त्यसैले हाल देखिएका कमीकमजोरीलाई तत्काल सम्बोधन गर्दै सम्बन्धित पक्षबाट उचित कदम चाल्नुपर्ने अहिलेको आवश्यकता हो । लक्षित वर्गको आयआर्जनमा वृद्धि गर्दै आर्थिक अनुशासन पालना गर्न–गराउन सके लघुवित्तहरूले ग्रामीण विकासमा महŒवपूर्ण सहयोग पु¥याउन सक्छन् । कुनै पनि क्षेत्रको विकासको शुरूआत आर्थिक प्रगतिबाट मात्र सम्भव देखिने भएकोले गरीब समुदायमा उनीहरूको आम्दानीको स्रोत पहिल्याउँदै दिगो आर्थिक अनुशासन पालना गराउन सके पक्कै पनि ग्रामीण विकासको सकारात्मक परिवर्तनमा लघुवित्तको भूमिका उल्लेखनीय हुन्छ ।
लघुवित्तहरूले प्रवाह गरेको ऋण अनुत्पादक क्षेत्रमा लगानी हुनुहुन्न । गरगहना, कपडा वा घरायसी सरसामानमा लगानी गर्दा ऋणको प्रतिफल तयार हुँदैन र ऋणीको पूँजी वृद्धि नभई नष्ट हुन्छ । त्यसैले रोजगार वा उद्यमशील बनाउने औजार–जस्तै, कपडा सिउने, साबुन बनाउने मेशीन, उन्नत जातको पशु पालन, घरेलु उद्योग स्थापना वा नगदे तरकारी खेतीजस्ता उत्पादक क्षेत्रमा लगानी गर्न सकेमा लघुवित्त र लक्षित वर्ग दुवैमा फाइदा हुने देखिन्छ । लघुवित्तमार्फत सञ्चालित कार्यक्रममा भरपर्दो नियमन हुनु जरूरी छ । एकै क्षेत्रमा एकै किसिमका कार्यक्रम सञ्चालन गर्दै लघुवित्तहरूले परस्पर अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा स्थानीय पालिकासँग सहकार्य गर्दै कार्यक्रममा विविधीकरण गर्नु उचित हुन्छ । स्थानीय सरकार र सहकारीसँग समन्वय गर्दै लघुवित्तहरूले ऋण प्रवाह गरेको खण्डमा समस्या कम गर्न सकिन्छ । लघुवित्तले प्रवाह गर्ने ऋणबाट ग्रामीण गरीब–विपन्न परिवारले दिगो आत्मनिर्भर बन्ने र उत्पादक क्षेत्रमा लगानी गरेर ऋण चुक्ता गर्नुपर्छ । यसप्रकार आर्थिक निर्भरताले समाजको सबै पक्षको सर्वोपरि विकास सम्भव हुन्छ । अनि मात्र समग्र मानव विकासमा सकारात्मक प्रभाव पर्न सक्छ । लघुवित्तले गरीब–विपन्न वर्गमा ऋण प्रवाह गर्नु मात्र नभई स्थानीय तहमा उपलब्ध स्रोतसाधन परिचालन गर्दै जीवन निर्वाह गर्ने नयाँ–नयाँ सीप विकास गर्न सहयोग गर्दै उनीहरूको परिवारको दिगो आर्थिक उन्नति गराउन सकेमा पक्कै पनि नेपालको ग्रामीण क्षेत्रमा विकासको जग बसाउन सकिन्छ ।
वास्तवमा लघुवित्त विपन्न वर्ग एवं ग्रामीण भेगका जनताको लक्षित संस्था हो । आँट र सीप भएर पनि पैसाको अभावमा उद्यम गर्न नसकेका व्यक्तिहरूलाई लघुवित्त वित्तीय संस्थाले कर्जा प्रदान गर्दछ । गरीबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न लघुवित्तको विकास भएको हो । यसरी स्थापित लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या नेपालमा ९१ पुगेको छ । एउटै गाउँमा धेरै लघुवित्त वित्तीय संस्था पुगेका छन् । जसको फाइदा उठाउँदै केही व्यक्तिले कर्जाको दुरूपयोग गरेका कारण लघुवित्तको क्षेत्रको कर्जामा जोखिम बढ्दै गएको छ ।
एउटै व्यक्ति धेरै लघुवित्तको ऋणी
धितोविना सजिलै कर्जा पाइने भएपछि यसको दुरुपयोग गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । एउटा लघुवित्तबाट लिएको कर्जा चुकाउन अर्को लघुवित्तबाट कर्जा लिने गर्दागर्दै एकै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिएको पाइएको छ । यो प्रवृत्ति लघुवित्त क्षेत्रका लागि पक्कै सुखद होइन । लघुवित्तले उद्यम गरेर आएको आम्दानीबाट ऋण चुक्ता गर्छ भन्ने विश्वासमा कर्जा दिएको हुन्छ । उद्यममा लगानी भएन भने ऋणीले उक्त कर्जा चुक्ता गर्न सक्दैन र अर्को लघुवित्तबाट कर्जा लिन्छ । फेरि त्यो लघुवित्तको कर्जा चुकाउन अर्कोबाट लिन्छ । श्रम नै नगरी पैसा पाउने भएपछि यो क्रम कहिल्यै रोकिंदैन । यस प्रवृत्तिले धेरैवटा लघुवित्तको कर्जा खेर जान्छ र उद्यमशीलता विकासमा काम आउँदैन ।
कर्जा सूचनामा लघुवित्त पछाडि
लघुवित्तको कर्जाको दुरुपयोग हुनुको प्रमुख कारण भनेकै कर्जा सूचनाको व्यवस्थापन नहुनु हो । कुन लघुवित्तबाट कसले कर्जा लगेको छ भन्ने थाहा नहुने भएपछि जसले जुनबाट जति बेला पनि कर्जा लिन सक्छ । एउटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले अर्कोमा कर्जा लिन गएको थाहा पाउन कर्जा सूचना केन्द्रको व्यवस्था हुनुपर्छ । प्रवाह भएको कर्जा सही ठाउँमा प्रयोग भएको छ छैन भनी अनुगमन पनि गर्नुपर्छ । कर्जा फिर्ता आएको छँदैछ भनेर लघुवित्तहरू चुप बसे भने कर्जाको दुरुपयोग झन् बढ्छ । कर्जा लिन आउने व्यक्तिले यस अघि कतै कर्जा लिएको छ छैन भनी जाँचबुझ नगरी कर्जा प्रवाह गर्नुहुँदैन । लघुवित्तका ऋणीहरूको यस किसिमको जानकारीका लागि समन्वयन गर्न कर्जा सूचना केन्द्रको आवश्यकता देखिएको छ ।
मर्जरपछि समस्या
अहिले लघुवित्तहरू धमाधम मर्जरमा गइरहेका छन् । मर्जरपछि यस्ता ऋणीहरूबाट ऋण असुली गर्न झन् समस्या हुने देखिन्छ । मर्जरपछि बन्ने संस्था ठूलो हुन्छ, शाखा धेरै हुन्छन् र ऋणीहरू पनि धेरै हुन्छन् । अध्ययन अनुगमन गर्ने क्षेत्र विस्तार हुन्छ । जोखिममा रहेका कर्जाको हिस्सा बढ्दै जान्छ । त्यसैले बैलैमा संयम राखेर सदुपयोग हुने ग्यारेन्टी भएका व्यक्तिहरूलाई मात्रै कर्जा प्रदान गर्ने, ऋणीहरूबारे जाँचबुझ गर्ने, कर्जाको सदुपयोगिताबारे अनुगमन गर्ने र दुरुपयोग गर्नेलाई कारबाई गर्ने गर्नुपर्छ ।
लघुवित्तबाट ऋण लिने ऋणी कमजोर हुन्छ । कृषिमा निर्भर भएका वा ग्रामीण भेगमा बसोवास गर्ने व्यक्ति लघुवित्तको ग्राहक हुन्छ । त्यसमाथि लघुवित्तले धितोविना कर्जा दिने भएकोले जोखिम यसै पनि बढी हुन्छ । त्यसैले यस विषयमा ध्यान दिनु आवश्यक छ । वास्तवमा उद्यम गर्ने हो भने एउटै लघुवित्तबाट लिएको कर्जा पर्याप्त हुन्छ । राम्रो काम गर्दै गयो भने व्यवसाय विस्तार गर्न सोही लघुवित्तबाट थप कर्जा पनि पाइन्छ । यसको मतलब धेरैवटा लघुवित्तबाट कर्जा लिने व्यक्तिले उद्यम गरेको हुँदैन । यस विषयमा बेलैमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ । अनि मात्र मुलुकको दिगो आर्थिक विकास र समृद्धि सम्भव हुन्छ ।