• शीतल महतो

विदेशी मुद्राको घट्दो सञ्चिति र बढ्दो व्यापार घाटाका कारण नेपाली अर्थतन्त्र अहिले बिग्रँदो अवस्थामा पुगेको छ । वैदेशिक व्यापारमा देखिएको बढ्दो असन्तुलन चिन्ताको विषय बनेको छ । निर्यातको तुलनामा आयातको परिमाण अत्यधिक बढ्दा व्यापार–घाटा चुलिंदो छ । व्यापार–घाटा बढ्दै जाँदा अर्थतन्त्र परनिर्भर, थप कमजोर र जोखिमयुक्त बन्दै जान्छ । कच्चा पदार्थ, अर्धप्रशोधित वा पूर्ण प्रशोधित उत्पादित वस्तु, सेवा र बौद्धिक सम्पत्तिको एक स्थानबाट अर्को ठाउँ वा सोही ठाउँमा बिक्री गर्ने कार्य व्यापार हो । देशभित्रै वस्तु खरीद–बिक्री भएमा आन्तरिक व्यापार र एक देशको उत्पादित सामान अर्को देशमा लगेर बिक्री वितरण गरिएमा त्यसलाई अन्तर्राष्ट्रिय व्यापारको रूपमा चिनिन्छ । आर्थिक विकास र समृद्धिका दृष्टिकोणले यी दुवै व्यापार महŒवपूर्ण हुन्छन् । वैदेशिक व्यापारले देशको अर्थतन्त्र र व्यापारलाई विश्व अर्थतन्त्रसँग सञ्जालीकरण गर्ने कार्य गर्दछ । अहिले अन्तर्राष्ट्रिय व्यापार र वाणिज्य क्षेत्रको विकास तथा विस्तारको अभावमा हाम्रो दैनिक क्रियाकलाप नै ठप्प हुने अवस्थामा रहेको देखिन्छ ।

आन्तरिक व्यापारले देशको आर्थिक क्रियाकलापमा सघनता ल्याउँछ भने अन्तर्राष्ट्रिय व्यापार विदेशी मुद्रा आर्जन गरी समृद्धि हासिल गर्ने महŒवपूर्ण औजारका रूपमा कार्य गर्दछ । शुरूमा वस्तुलाई मात्र व्यापारको रूपमा हेरिन्थ्यो भने आधुनिक अवधारणामा सेवा व्यापारलाई समेत व्यापारको रूपमा समावेश गर्ने गरिन्छ । आर्थिक वर्ष २०७८–०७९ को पहिलो आठ महीनामा आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो आठ महीनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा प्रतिवेदनमा नेपालको कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४७ अर्ब ७५ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो आठ महीनामा वस्तु आयात ३८.६ प्रतिशतले बढेर रु १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको छ ।  सोही अवधिमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१, ३७.७ र ७५.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस स्गरलगायत वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ । यस्तै गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यात भने ११ प्रतिशतले घटेको जनाइएको छ । राष्ट्र बैंकका अनुसार पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), उनी गलैंचालगायत वस्तुको निर्यात बढेको छ । अलैंची, चिया, जडीबुटी, तार, तामाको तारलगायत वस्तुको निर्यात भने घटेको छ । चालू आवको पहिलो आठ महीनामा कुल वस्तु व्यापारघाटा ३४.५ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

उच्च शोधनान्तर घाटा

यसैगरी चालू आर्थिक वर्षको पहिलो आठ महीनामा देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर (शोधनान्तर) घाटा रु २ खर्ब ५८ अर्ब ६४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६८ अर्ब १ करोड बचतमा थियो ।

विदेशी मुद्रा सञ्चिति

केही महीना अघिसम्म नेपालको मुद्रा सञ्चिति करीब १० महीनाको आयात धान्न सक्ने अवस्थामा थियो । तर अहिले यो घटेर करीब ६ महीनाको आयातमात्र धान्न सक्ने अवस्थामा पुगेको छ । मुद्रा सञ्चिति किन घट्यो भन्ने अहिलेको महŒवपूर्ण प्रश्न हो । मुद्रा सञ्चिति घट्नुमा विशेषगरी दुईवटा प्रमुख कारण सतहमा आएको छ । पहिलो, विप्रेषण घट्नु र दोस्रो, व्यापार घाटा बढ्नु । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कोभिड–१९ को समयमा विप्रेषण बढ्नुका विभिन्न सम्भावित कारणमध्ये एक उक्त समय विप्रेषण पठाउनेहरूले आफ्ना परिवारका सदस्यहरूको सुरक्षाको निम्ति बचत गरेको वा पेश्की लिएर भए पनि बढी पैसा पठाएकोले हो । जब कोभिड–१९ को लहरमा केही कमी भयो तब मानिसले पहिले लिएको पेश्की वा ऋण तिर्न थालेकाले विप्रेषणको मात्रा घट्यो ।

विप्रेषण घट्नुको अर्को महŒवपूर्ण कारण राष्ट्र बैंकको अव्यावहारिक नीति पनि हो । यसले विदेशी मुद्राको सञ्चिति घटाउन सहयोग गरेको छ । उदाहरणका लागि कुनै पनि नेपालीले विदेशमा काम गरेको छ र उसले आफ्नो तलब नेपालको बैंकमा जम्मा गरेको छ भने उसलाई राष्ट्र बैंकले वार्षिक १५ हजार डलरभन्दा बढी खर्च गर्न दिंदोरहेन छ । जबकि यो रकमले बाहिर खान–बस्नै पुग्दैन । यस्तो अवस्थामा उक्त मानिसले नेपालमा पैसा नै जम्मा गर्दैन । यस्ता अव्यावहारिक नीतिले गर्दा पनि विदेशी मुद्राको सञ्चिति बढ्न नसकेको अनुमान छ ।

घट्दो विदेशी मुद्राको सञ्चितिबाट अहिले नै हताश हुनुपर्ने अवस्था देखिएको छैन । उदाहरणका लागि भारतमा सन् १९९१ मा पी.भी. नरसिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री भएको बेला भारतसँग जम्मा दुई हप्ताको आयात धान्ने विदेशी मुद्रा सञ्चिति थियो । मनमोहन सिंह अर्थमन्त्री भएपछि गरिएको सुधारको कामले भारतलाई पुनः पुरानै लयमा फर्काएको थियो । तर हामीसँग अहिले पनि करीब ६ महीनाको आयात धान्ने सञ्चिति छ । त्यसमा पनि विप्रेषणको मात्रा बढ्न थालेको छ । त्यसैले अहिले देखिएको समस्याबाट हताश बन्नुपर्ने अवस्था देखिन्न । एकातर्फ श्रीलङ्काको अवस्था खराब हुनु र अर्कोतर्फ नेपालको पनि विदेशी मुद्राको सञ्चिति घट्नु र सामाजिक सञ्जालमा यसबारे व्यापक मात्रामा निराशाजनक कुरा आउनुले पनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ भन्न मिल्दैन । तर यसको अर्थ नेपालको अर्थतन्त्र स्वस्थ छ भन्न पनि सकिंदैन । त्यसैले अब सरकारले निर्यात बढाउनेतर्फ आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्छ । यसका लागि सरकार पारदर्शी र जवाफदेह हुनु जरूरी छ ।

व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्राको सञ्चिति बढाउनका लागि नेपालले उद्योगीकरणलाई सहयोग गर्ने गरी निर्यातमुखी उद्योगलाई आयकरमा छुट र सहुलियतलगायत दिएर प्रोत्साहन दिनुपर्छ । यसका साथै देशैभरि गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रममा सहज पहुँच हुनेगरी नीति–नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । नेपालको व्यापार नीति सबल र समयसापेक्ष नहुनुमा एउटा मुख्य कारण हो–भ्रष्टाचार नियन्त्रणमा सरकारको उदासीनता । व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्राको सञ्चिति बढाउने कुरा बहुआयामिक विषय हो । यसका लागि कुनै एक निकायको एकल प्रयास मात्र पर्याप्त नहुने हुँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सहयोग, सहकार्य, समन्वय र साझेदारी हुनैपर्दछ । सबैको साझा प्रयास र मेहनत भयो भने मात्र हाल देखिरहेको व्यापार घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्था कम गरी आर्थिक विकास र समृद्धिको राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here