काठमाडौं, ४ वैशाख/रासस
“मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड हुनेवाला छ ।” मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भने । एउटा कार्टूनभित्रको दृश्यचित्रले औंल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्ची वास्तविकताको नजीक देखिन्छ । उक्त दृश्यलाई कार्टूनिस्ट राजेश केसीले उतारेका हुन् । उनका ती चित्रले हजार शब्दले बोल्न नसकेको कुरा स्पष्ट पारेका छन् । कार्टून सरकारका मन्त्रीहरूको व्यवहारबारे दर्शक पाठकको मन उद्धेलित गराउने खालको छ ।
अर्का चर्चित कार्टूनिस्ट वात्सायनले पनि भ्रष्टाचारप्रति दरिलो झापड हान्ने गरी कार्टुन बनाएका छन् । समसामयिक विकृति विसङ्गतिलाई जीवन्त बनाउने उनले यसपटक दुई महिलाको संवादलाई जोडेर भ्रष्टाचारविरुद्ध अभियानमा कार्टूनमार्फत ऐक्यबद्धता जनाएका छन् ।
आकर्षक महल देखेर एक महिला सोध्छिन्–“कसरी जोड्नुभयो यति धेरै सम्पत्ति ?” पतिले अफिस र जनताको सेवा गरेर उपहार पाएको”–अर्की महिलाबाट सहज जवाफ आउँछ । छोटो संवाद छ तर यसले समाजलाई ठूलो सन्देश प्रवाह गर्न सफल भएको छ ।
यी दुई कार्टून समाजका विकृतिको प्रतिविम्ब हुन् । केही कर्मचारी र मन्त्रीले छोटो समयमा अस्वाभाविक सम्पत्ति जोडेको बेलाबेलामा समाचारहरू सार्वजनिक हुने गरेको पाइन्छ ।
विनास्रोत र विनाश्रम रातारात धनी बन्ने प्रवृत्तिविरुद्ध तीखो प्रहार वात्सायन र राजेश केसीका कार्टूनले मात्रै गरेका छैनन् । आजदेखि काठमाडौंको नेपाल कला परिषद्मा प्रदर्शन गरिएका अन्य ४८ कार्टून पनि भ्रष्टाचार, विकृति, विसङ्गतिविरुद्ध उभिएका देखिए ।
कलाकारले भ्रष्टाचारविरुद्ध अभियानस्वरूप ‘निशाना’ शीर्षकमा शुरू गरेको कार्टून प्रदर्शनीमा कार्टुनिस्ट विश्व थापाले खुल्लमखुला घूस मागेको सन्दर्भदेखि वासु क्षितिजले अनुदानको रकम कसरी दुरुपयोग भइरहेको र कुर्सीको लडाइँ कस्तो छ भन्ने कुरा कार्टूनमार्फत छर्लङ्ग पारेका छन् ।
कार्टूनिस्ट सुदर्शन सिग्देलले विद्यालय खाजा कार्यक्रमलाई प्रहार गर्दै कार्टून बनाएका छन् । विद्यार्थीका लागि आएको विद्यालय खाजा कार्यक्रमले विद्यार्थी दुब्लाइरहेका तर अन्य व्यक्ति मोटाइरहेका उनको चित्र यथार्थ चित्रण गर्न सफल देखियो । सिग्देल भन्छन्–“खाजा कार्यक्रममा जे भइरहेको छ, त्यही दृश्य उतार्ने प्रयास गरेको छु ।”
अर्का कार्टूनिस्ट देवेन्द्र थुम्केली एकजना विद्यार्थीलाई विम्ब बनाएर विद्यार्थीमाथि थोपरिएको भार चित्रण गर्न सफल भएका छन् । ट्युशन फी, अतिरिक्त फी, विलम्ब फी, मासिक र परीक्षा फी तिर्दातिर्दा विद्यार्थी आजित भएको कुरा उनले देखाएका छन् । जबकि शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने कुरा हो तर यहाँ विद्यार्थीमाथि कसरी आर्थिक प्रहार भइरहेको छ भन्ने कुरा उक्त कार्टूनले स्पष्ट पार्छ ।
प्रदर्शनीमा कलाकारले कार्टूनमार्फत राजनीतिक दल, सरकारी गतिविधि, न्यायालय, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा भएका विकृतिलाई कार्टूनमार्फत देखाउने प्रयास गरेका छन् ।
“हरेक कार्टून लिड स्टोरी हो, कार्टुनले दिने सन्देश अझै तीखो हुनु जरूरी छ”– नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले भन्छन्–“सांसद, जनप्रतिनिधिका निकायका कार्टून बनाउनुपर्ने अवस्था किन आइरहेको छ, हेर्नु जरूरी छ ।”
विकृति–विसङ्गतिविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरूद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् । चित्रकार देवेन्द्र थुम्केली कार्टूनिस्ट जहिले पनि प्रतिपक्ष हुने र विकृति र विसङ्गति उत्खनन गर्नु उनीहरूको दायित्व भएकोले एउटा प्रयास गरिएको बताउँछन् ।
कार्टूनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिज भन्छन्–“पत्रिकाको पानामा कार्टून बनाइरहेका छौं, तर विकृति विसङ्गतिको नेटवर्क यति ठूलो भइसकेको छ कि पत्रिकाका पानामा राखेर मात्रै सम्भव भएन, त्यसैले सातै प्रदेशमा भ्रष्टाचारविरुद्ध कार्टून प्रदर्शन गरेर सचेतना फैलाउन पहिलो अभियान थालेका हौं ।” उनले हेरेर मात्रै सीमित नगरी सामाजिक सञ्जालमार्फत पनि कार्टूनहरू सार्वजनिक गर्न अनुरोध गरे ।
पत्रकार महासङ्घका अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरीले प्रणाली धेरै बदलिए पनि पद्धति बदल्न सकिएन भन्ने उदाहरण कार्टूनले देखाएको बताए । उनले राज्य–प्रणाली कमजोर भयो भने नागरिकको अवस्था झन् कमजोर हुने उल्लेख गर्दै नागरिकलाई जागरूक बनाउन बलियो सन्देश कार्टूनले बोकेको छ भने । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल कार्टून भ्रष्टाचारविरुद्ध सशक्त रहेको र खबरदारी आवश्यक भएको बताउँछन् ।
कार्टून प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । उनले भने–“कार्टून भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसको सिर्जनामा साँच्चीको समाजको चित्रण हुन्छ”–सापकोटाले भने–“अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।”