हेटौंडा, २४ चैत/

पानीको मुहान तल, बस्ती भने डाँडामाथि । राक्सिराङ गाउँपालिका–८ महांकालका स्थानीयलाई खानेपानीका लागि करीब २ घण्टा उकालोओरालो हिंड्नुपर्ने बाध्यता थियो । वर्षौंदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्ष अघि जनप्रतिनिधिको टोली पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिहरूलाई स्थानीयले आफ्नो समस्या मात्र देखाएनन्, समस्या समाधान गर्न रचनात्मक दबाब पनि दिए । जनप्रतिनिधि र नेताको टोलीलाई उकालो चढेर पानीको गाग्री बोकाए ।

आफैंले उकालोमा डोकोमा पानीको गाग्री बोकेर स्थानीयको पीडा महसूस गरेका जनप्रतिनिधि र नेताहरू जसरी पनि खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता गरेर फर्के । अहिले गाउँमा खुशीयाली छाएको छ । राक्सिराङ गाउँपालिकाले तत्कालै १६ लाख रूपियाँ बजेट विनियोजन गरी गाउँमा खानेपानीको व्यवस्था गरिदियो । बन्जीडाँडा खोलाबाट डाँडामाथि पानी तानेर स्थानीयलाई वितरण गरिएको छ । १५ घरधुरी रहेको महांकालमा चारवटा धाराबाट खानेपानी वितरण गरिएको छ ।

दुई वर्ष अघि स्थानीयले दिएको समस्याको भारी बोकेर फर्केका जनप्रतिनिधि र नेताहरू बुधवार पुनः महांकाल आउँदा गाउँलेले फूलमाला र अबीरका साथ भव्य स्वागत गरे ।

वर्षौंदेखिको समस्या समाधान भएकोमा उनीहरू अति हर्षित थिए । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको टोली गाउँ पुगेर स्थानीयसँग खुशी साटासाट गरे । टोलीले घरछेउकै धाराबाट पानी थापेर घरभित्रसम्म पु¥याइदियो, पानी छ्यापाछ्याप गरेर खुशी बाँडे ।

वडा सदस्य जयबहादुर तितुङले खानेपानीको समस्या समाधान भएसँगै गाउँलेको जीवनस्तर फेरिएको बताए । “हरेक दिन दुई खेप पानी बोक्दा आधा दिन बित्थ्यो । अरू काम गर्ने फुर्सदै हुँदैनथ्यो । अहिले घर नजीकै धारा झर्दा बारीमा तरकारी रोप्नेदेखि अरू काम गर्न पाएका छौं”–तितुङले भने । गाउँपालिकाले १६ लाख रूपियाँ विनियोजन र उपभोक्ताको श्रमदानबाट खानेपानी आयोजनाको लागत करीब ३० लाख पुगेको उनले बताए । 

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले स्थानीयको समस्या समाधान गर्न सधैं तयार रहेको बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्ने होइन, गरेर देखाउने बताए ।

१५ घरको सामूहिक प्रयोगका लागि चारवटा धाराबाट पानी वितरण गरिएकोमा अब घरघरमा धारा जडान गर्न बजेट व्यवस्था गरिने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here