जनकपुर, १० चैत/रासस

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसूल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसूल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ ।

मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटेको टोलीले चालू आर्थिक वर्षको सात महीनाको अवधिमा विद्युत् महसूल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रू ६४ करोड ३५ लाख महसूल सङ्कलन गरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ. मुनीन्द्र ठाकुरले जानकारी दिए ।

लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट रू ४२ करोड ९२ लाख ३९ हजार १९० राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताए ।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने, तर लामो समयसम्म महसूल नबुझाउने प्रवृत्ति बढेकोले विद्युत् लाइन काट्ने अभियान चलाइएको उनले बताए ।

यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालू आर्थिक वर्षको सात महीनामा करीब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालू आर्थिक वर्षको साउनदेखि माघ महीनासम्म विद्युत् चुहावट ३.८२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा १६.१२ प्रतिशत विद्युत् चुहावट भएकोमा चालू आर्थिक वर्षको सात महीनामा विद्युत् चुहावट १२.३ प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३.९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलङ्गवा वितरण केन्द्रले चार प्रतिशत विद्युत चुहावट नियन्त्रण गरेको प्रमुख इ ठाकुरले जानकारी दिए ।

यसरी हेर्दा मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियानबाट विगत सात महीनाको अवधिमा रू ३४ करोड बराबर विद्युत् चुहावट घटेको अनुमान गरिएको छ ।

सो अवधिमा चुहावट नियन्त्रण अभियान अन्तर्गत विद्युत् हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवानाबापत रू तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here