• कुमार रुपाखेती

२०४७ सालमा बहुदल आएपछि तत्कालीन नेकपा मालेलाई अल्लारे ठिटाहरूको पार्टी भन्ने आरोप लाग्न थालेपछि नेकपा माक्र्सवादी र माले एकीकरण गरी नेकपा एमाले बनाइयो । जसको अध्यक्षमा अनुभवी वयोवृद्ध मनमोहन अधिकारीलाई नियुक्त गरियो । अचेल त सस्तोमा लिलामी सकार गर्ने पारामा सजिलै कम्युनिस्ट पार्टीको सदस्यता पाइन्छ ।

एमालेमा वयोवृद्ध ओली अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सेवानिवृत्त हुने उमेरमा ओली अध्यक्ष बनेपछि उत्साहित भएका थुप्रै देश खाएर शेष भएकाहरू मुर्झाएका, निराश बनेका, पदलोलुप बूढाखाडाहरू, अवकाशको उमेरमा पुगेकाहरू र गन्जागोल गर्न माहिर ठानिएकाहरू धमाधम एमालेमा प्रवेश गरिरहेका देखिन्छन् । जस्तो आफू उस्तै च्यापु भनेझैं ओलीले यस्ताको पार्टी प्रवेशलाई ग्राह्यता दिन थालेपछि एमाले अब चुस्त, दुरुस्त युवाहरूको पार्टीको सट्टा पदलोलुप लोभी, पापीहरूको विश्राम र आश्रयस्थलमा परिणत हुँदै जाने पक्कापक्की देखिन्छ ।

दलबदलु र एमालेको सट्टा आफू बलियो बन्ने, सुरक्षित हुने, शर्त राखेर एमाले प्रवेश गर्ने धुरन्धरहरू मौका कुरेर साइत जुराएर, ज्योतिष देखाएर प्रवेशको तिथिमिति जोखना गरिरहेका छन् । भनिन्छ, आफ्नो स्वार्थ पूरा गर्न ओलीले वामदेव गौतमलाई कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको चारो हाल्थे, त्यस्तै नवप्रवेशी बूढाखाडाहरूलाई अहिले ओलीले कसैलाई मेयर, कसैलाई विधायक र कसैलाई सांसदको टिकट दिने सपना बाँडेका छन् । वाचा गर्ने तर पूरा नगर्ने ओलीको आदत नै छ ।

ओलीले जथाभावी, बेठेगानी र अस्थायी बसेरा बनाउनेहरूलाई प्राथमिकता दिन थालेपछि, पार्टीका पुराना, त्यागी र इमानदार युवा कार्यकर्ताहरूले ओझेलमा परेको महसूस गर्न थालेका छन् र नवप्रवेशीलाई आफ्नो गाँस खोस्न आएको सौता ठान्न थालेका छन् । त्यसो त विकल्प खोज्न र रोज्न कम्युनिस्ट युवाहरू माहिर नै मानिन्छन् ।

देख्नुभएन माधव नेपालले एमालेका थुप्रै जुझारु र इमानदार कार्यकर्ता लिएर हिंडेपछि सट्टाभर्ना गर्न खोलीले गुमनाम, बदनाम र तथानामलाई पार्टी प्रवेशको बाटो फराकिलो बनाएका छन् । ओलीको यो कदमलाई ‘मेरी बूढी आमा सा¥है नै बाठी छन्, पीठोसँग चामल पो साटी छन्’सँग दाँज्न सकिन्छ ।

बिस्तारै गए अवश्य पुगिन्छ, छिटो हिंडे भन्न सकिन्न, तीव्र गति जीवन क्षति भन्ने जस्ता वाक्यहरू भाडाका ट्रकबसमा नसिहतस्वरूप लेखिएका देखिन्छन् । ओली निकै हतारमा देखिन्छन् भने माधव नेपाल बिस्तारै सुस्त गतिमा अघि बढिरहेका देखिन्छन् । एउटा नीतिकथामा हामीले घमण्डी खरायोलाई सुस्तरी हिंड्ने कछुवाले दौडमा सहजै पराजित गरेको पढेका थियौं । साँच्चै एमाले अब गोर्खा भर्ती केन्द्र बन्दैछ, जहाँ भाडाका लडाकूहरूलाई सुरक्षार्थ खटाइन्छ ।

एमाले र नेकपा एस दुवैले आगामी आमनिर्वाचनमा न त बहुमत ल्याउने हैसियत राख्छन्, न त नम्बर वन पार्टी बन्ने क्षमता नै देखिन्छ । ओली र माधवको मुँछ की लडाइँ त आगामी निर्वाचनमा एकले अर्कालाई कसरी उछिन्नेसम्म मात्र सीमित छ । दुई दल बनेपछि दूरी बढ्नु स्वाभाविकै हो । दूरीले दुश्मनी बढाउनु अनौठो होइन । तर यिनीहरू त एकअर्काको जानी दुश्मन नै बनेका छन् ।

नित्य नयाँ आरोप लगाउनु ओली र माधवको राजनीतिक धर्म नै बनेको छ । जसले गर्दा माले, मसाले, मण्डले एउटै हुन् भन्ने गिरिजाप्रसादको आरोप स्थापित भएको छ । ओलीको तीव्र गतिले उनको प्रधानमन्त्रीको ताज मात्र खोसिएन, प्रदेशहरूमा समेत नङ्गाझार बनाइए । कतिले त ओलीलाई रोम जल्दा बाँसुरी बजाउने बादशाहसँग तुलना गर्न थालेका छन् । एमाले कमजोर भएपनि आफू बलियो बनिरहने रणनीति ओलीले बनाएको आरोप एमालेभित्रैबाट लाग्न थालेको छ ।

चल्ला एमालेको माउ बनेका ओलीको बालहठले उनलाई बालकोटबाट बालुवाटारको सफर बयलगाडा चढेर अमेरिका पुग्ने जस्तै बनाइसकेको छ । घरको बाघ वनको स्याल प्रवृत्तिका ओली सधैं नै स्यालको सरजाम बोकी बाघको शिकार गर्न तम्सिन्छन् । पटक–पटक संसद् विघटनले एमाले मात्र होइन, गणतन्त्रकै धज्जी उडेको चेत ओलीमा अझै नपलाउनुलाई राजनीतिक विश्लेषकहरूले हरुवा गोरुको छेरुवा दाउको रूपमा लिएका छन् ।

यस्तालाई हाम्रो तराईतिर ‘रस्सी जल गइल ऐंठल माने ना गइल’ भन्छन् । त्यसैले त अचेल बलिया बाङ्गा माधव र बूढाखाडा ओलीलाई मलाई भन्न मन लागेको छ । संसदीय निर्वाचन बहुमतले जित्ने ओलीको सपना र बाँसको सिढी बनाएर चन्द्रमा छुने रावणको मति मलाई उस्तैउस्तै लाग्छ । हिन्दी फिल्म शोलेको एउटा डायलग ‘ठाकुरने हिंजडोका फौज बनाइ है’ मलाई असाध्यै मन पर्छ ।

कुनै जमानामा कम्युनिस्टहरूले प्रयोग गर र फालको नारा बुलन्द गरेका थिए । कठै अहिले हेर्नुस् एमालेलाई प्रयोग गरेर फाल्न, अहिले थुप्रै गैरकम्युनिस्ट लाल सलाम गर्न थालेका छन् । बूढी घोडी लाल लगाम भनेकै यही हो । सुवास नेम्वाङले ओलीबाहेक कसैलाई नेता मान्दिनँ भने पनि ईश्वर पोखरेल उनीभन्दा उपल्लो तहमा उदाए ।

त्यसैगरी, नवप्रवेशीहरूलाई नाई नाई भन्दाभन्दै पनि ठालु नेता मान्न बिचरा युवा एमालेहरू बाध्य बनाइएका छन् । भीम रावलको हबिगत सबैका सामु छ । ‘भुस्कोल विद्यार्थीके बस्ता मोट’ भनेझैं कम्युनिस्टको ‘क’सम्म नजान्नेहरू लाइन लागेर एमाले बनी टोपलेको देख्दा मलाई कम्युनिस्ट आन्दोलनले कुन करवट लेला भन्दा पनि यो पार्टीको दुर्दशा भविष्यमा के होला भन्ने चिन्ता लागेको छ ।

तातै खाऊँ, जल्दै मरूँ भन्नेहरू आफ्नो मीठो वर्तमानमा रमाउँछन्, तीतो भविष्यको तिनलाई चिन्ता नै हुँदैन । मीठो वर्तमानमा बाँच्न र रमाउने ओलीलाई नमीठो भविष्यको चिन्ता देखिंदैन । मलाई त भावी नेतृत्वदायी अङ्ग बन्ने सम्भावना बोकेका युवा एमालेको सपना तोरमरोड गर्न लागेकामा चिन्ता छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here