- कुमार रुपाखेती
नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र कायम रहुन्जेल राजालाई गाली गर्ने, दोष थुपार्ने काममा दलहरूले लगाम लगाएका थिए । मुलुक गणतन्त्रमा गइसकेपछि पूर्वराजाहरूलाई दोष लगाउने मामिलामा दलका शीर्ष नेताहरू छाडा भएका देखिन्छन् । प्रचण्डले एकताका ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्नेसम्म भने । देउवाले राजनीति गर्ने भए पूर्वराजा ज्ञानेन्द्रलाई दल खोल्न सुझाए । राजाकै सहमा ओलीले संसद् विघटन गरेको आरोप माधव नेपालले लगाए। प्रचण्डले राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको आरोप ओलीले लगाए । ज्ञानेन्द्रसँग मिलेर प्रचण्डले आफूहरूलाई पेलेको आरोप बाबुरामले लगाए ।
विपक्षीलाई बदनाम गर्ने मामिलामा राजाहरूको नाम जोड्ने प्रतियोगिता नै चलेको देखिन्छ । अब त राजावादी बिल्ला भिरेको राप्रपाका कमल थापाले समेत राजालाई खेद्न थालेका छन् । ‘मियाँ का दौड मस्जिद तक’ अथवा ‘घुमिफिरी रूम्जाटार’ स्टाइलमा अचेल दलहरूको विवाद आम जनतालाई भ्रमको मायाजालमा फसाउन राजा–राजा जप्न थालिएको धेरै भयो । पानीमाथिको ओभानो बन्न दलका शीर्ष नेताहरूले यस्ता आरोपहरू राजाहरूलाई थोपारेर मूतको न्यानो खोजेको मात्र प्रतीत हुन्छ ।
राजाहरूलाई गाली नगरी धेरैको खाना नै नपच्दो रहेछ । एकातिर यस्तो छ भने मोहन वैद्य किरणजस्तो क्रान्तिकारीहरूले राजासँग सहकार्य गर्न सकिने फ्लाक्न थालेका छन् । विपी कोइरालाकी नातिनी मनीषा कोइरालाले अस्ति एक सभामा राजतन्त्र नै अन्तिम विकल्प भनेर व्याख्या नै गरिन् ।
उता अस्ति ओलीले माधव नेपाललाई इङ्गित गर्दै दाम राखेर दर्शन भेट गर्ने भनेर छिःछिः दुर् दुर् पारामा बोले । आफ्ना सहकर्मीहरूलाई होच्याउन राजा भन्ने शब्द रामबाण नै साबित भएको छ । दर्द कि एक दवा राजा महाराजा । हजमोला बनेका छन् राजा । अचम्मलाग्दो कुरा के छ भने दलका शीर्ष नेताहरू राजालाई तारो बनाउँछन् तर गणतन्त्रका जनता भने दल र नेताका छाला काढिरहेका देखिन्छन् । अब लाज कसलाई लाग्नुपर्ने हो राजालाई कि शीर्ष नेताहरूलाई ? म अन्योलमा छु ।
अस्ति काङ्ग्रेसको महाधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई गाउँघरतिर चोर आयो भन्न थालेका छन् भन्दै उपस्थित नेताहरूको सरेआम धज्जी उडाउँदै माथा ठन्काइदिए । चोर, फटाहा, लुच्चा र अपराधीहरू नै नेता बन्छन् भन्ने सन्देश आम जनतामा जान थालेको धेरै भयो ।
भन्नेहरू त भन्छन्– धोएर गधा गाई बन्दैन रे । भगवान्ले नै जानून् यो उखान टुक्कामा कति सत्यता छ । ओलीलाई उखान टुक्काको उस्ताद भनिन्छ । यसको जवाफ शायद उस्तादसँग होला । एक जमाना यस्तो थियो कि राजासँग नाम जोडिंदा सान बढ्थ्यो, अचेल त अपमान गर्न राजासँग लगनगाँठो बाँधिदिन्छन् । ‘हिङ लगे न फिटकिरी माल चोखा’ भनेको यही हो । एकपटक इजरायलका एक नेता भारत आउँदा भारतीय नेताहरूले सानशौकत र रवाफ देखेर सोधेछन् तपाईंहरूको पेशा के हो ? भारतीय नेताहरूले एकै स्वरमा आफ्नो पेशा राजनीति मात्र हो भनेको सुनेर इजरायली नेता अचम्म परेछन् र भन्यो हाम्रोमा राजनीति गरेर खान पुग्दैन मेरो पेशा खेती किसानी हो ।
छिमेकी विशाल राष्ट्र भारतको असर हामीमा पर्ने नै भयो । अङ्ग्रेजले भारत त्यागेको सात दशकभन्दा बढी भएपनि अझै पनि त्यहाँका शासकहरूले गोरा भन्दै अङ्ग्रेजको चमडी उधेडी रहन्छन् । हाम्रोमा त गणतन्त्र आएको दुई दशक पनि भएको छैन, अनि बिचरा पूर्वराजपरिवारले गणतन्त्रवादी शीर्षहरूको हप्कीदप्की सुन्नु कुन नौलो कुरा हो । तर पूर्वराजपरिवारलाई धन्यवाद दिनैपर्छ किनकि धुस्रे, फुस्रे नेताहरूको आरोप उनीहरूले एक कानले सुन्छन् र अर्को कानले उडाइदिन्छन् ।
‘राजा नाम जपना पराया माल अपना’ भन्ने उखान नै छ । एक जमानामा राजाको अगाडि र पछाडि नबस्नु भन्थे । अचेल त राजा भिजेको बिरालो र अगाडि–पछाडि मडारिने शेर भएका छन् । खै शेरहरूले कहिले सवा शेर भेट्ने हुन् । मदन भण्डारी आफ्नो राजनीति चम्काउन एकपटक टुँडिखेलको सभामा ‘सरकार नाकमुख नखुम्चाइ बक्स्योस्, राजनीति गर्ने भए श्रीपेच फुकालेर आइबक्स्योस्’ भनेका थिए । शायद अहिलेका नेताहरूले पनि आफ्नो ‘डुब्ती नैया पार लगाउन’ राजा गुहारेका हुन् भन्ने भान पर्न थालेको छ । बडबोले राजा ज्ञानेन्द्र अचेल शान्त छन्, जमानामा त उनले पनि नेताहरूलाई थर्काउँदै– म दाइजस्तो टुलुटुलु हेरेर बस्ने मान्छे होइन भन्दै इँटको जवाफ पत्थरले दिएका थिए ।
भन्न खोजिएको के हो भने मुलुक र जनताको हित गर्ने म्यान्डेट पाएका नेताहरूलाई राजाबाट कुनै अवरोध नै छैन । राजाहरू त टुलुटुलु हेर्न बाध्य छन् । श्रीपेच उचालिसकिएको छ अनि मुलुक र जनताको हित छोडी किन राजा र दरबारसँग शीर्ष नेताहरू पौंठेजोरी खेल्दैछन् । देश र जनताको हित गर्न नसक्नेहरूलाई दलका बहुचर्चित महाधिवेशनबाट किन पाखा लगाउन सकिएन । कुम्लो बोकी ठिमीतिर लाग्ने नेताहरूबाट अरूको बदख्वाइँबाहेक अर्थोक के आशा गर्ने?
अब हेर्नुस् न दलहरू महाधिवेशनतिर व्यस्त भए अनि डाक्टर एशोसिएशनको निर्णय भन्दै प्राइभेट क्लिनिक चलाउने डाक्टरहरूले आफ्नो फी पाँच सयबाट बढाएर आठ सय गरिदिए । कोही चुइँक्क बोल्नेवाला छैन । त्रिमूर्ति टोल सुधार समितिले वीरगंजमैं टोल सफा राख्न उदाहरणीय काम गर्दै आएकोमा त्यस क्षेत्रमा सबैभन्दा बढी फोहर गर्ने भाजुरत्न शाखा, श्रीपुरले सरसफाइबापत सुधार समितिलाई दिंदै आएको आर्थिक सहयोग रोकेर चुनौती दिएको छ । सबै तैं चुप मै चुप छन् । यस्तो कार्यमा पनि राजालाई नै दोष दिने हो कि । किनकि कुनै बखत भाजुरत्नका मालिक राजाका मन्त्री थिए ।
अरूलाई दोष थुपारेर आफू चोखिने दिवा सपनाबाट जाग्न दलहरूले अबेर गरिसकेका छन् । आफ्नो आड्ढो भैंसी नदेख्नेहरूको यस्तै रवैया रहिरहने हो भने मनीषा कोइरालाले भनेझैं राजतन्त्र नै जनताको रोजाइमा पर्ने र राजतन्त्र नै अन्तिम विकल्प बन्ने कुरालाई किमार्थ नकार्न सकिंदैन ।
पूर्वराजा र राजतन्त्रको कनीकुथी विरोध गर्नु अबका दिनमा काग कराउँदै छ पिना सुक्दैछ जस्तै हो । गणतन्त्र र राजतन्त्रलाई त अब हामी जस्ताले हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भन्ने अवस्था आइसकेको छ । ‘डुबतेका तिनका सहारा’ र नेपालका लागि राजतन्त्र उस्तै उस्तै हो कि क्या हो ।
बकमफुसे आरोप लगाउन र आल्तुफाल्तु कुरा गर्न गणतन्त्र नेपालका शीर्ष नेता भनाउँदा खली छन् । एकअर्काको मानमर्दन गर्न यिनले पूर्वराजाको नाम जपिरहने र सहयोग लिइरहेको देखिन्छ । तर पूर्वराजाले कहिले आफ्नो नाम न यिनीहरूसँग जोड्न चाहेका छन्, न त सहयोग याचना गरेको देखिन्छ । भनेपछि यिनलाई नै अझै राजाको दर्कार छ । राजाको यिनीहरूसँग कुनै सरोकार छैन । सधैं राजा र राजतन्त्रको जपना गर्नेहरूले नै त कतै राजतन्त्र स्थापना गर्ने त होइनन् भन्ने भ्रम पनि सिर्जना भएको छ । राजा भोज र गङ्गु तेलीको कथा त हामीले बचपनमा पढेका थियौं, गणतन्त्र नेपालमा अहिले यो उमेरमा पूर्वराजा र शीर्ष नेताहरूको नालीबेली पढ्न पाउँदा पनि निकै रमाइलो लागेको छ । शीर्ष भनाउँदाहरूको भालु पुराण सुनेर दिक्क मान्ने पनि थुप्रै छन् ।
जनता समाजवादी पार्टीका उपेन्द्र यादवले त राजाहरूले २४० वर्ष राज्य गरेको कुरा कण्ठ पारेर घोकेका रहेछन् । त्यसैले होला यो पार्टीका शीर्ष भनाउँदाहरू समेत अचेल नबिराइ ज्ञानेन्द्रको बारेमा महन्थ ठाकुर र केपी शर्मा ओलीबारे तराई नजाने के के फतफताइ रहन्छन् । त्यसैले म भन्छु अब ‘राजा आउ, देश बचाउ’को सट्टा ‘राजा आउ, शीर्ष नेता बचाउ’को अभियान थालौं । अस्तु ।