– शंखर पहाडी
सर्लाही, २९ मङ्सिर/रासस
पूर्वपश्चिम लोकमार्गदेखि करीब दुर्ई किलोमिटर दक्षिण वाग्मती नगरपालिका– १२ मा निर्माणाधीन अवस्थामा रहेको वाग्मती फिचर फन तालमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन्। वाग्मती–१२ मा निर्माणाधीन अवस्थामा रहेको मानवनिर्मित वाग्मती फिचर फन तालमा घुम्न दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन्।
करीब १२१ बिघा क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको वाग्मती फिचर फन ताल निर्माणकै चरणमा करीब रु ६० करोड खर्च भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए। उनका अनुसार चुरेकै काखमा रहेको उक्त तालमा हाल १० सिट क्षमताका छ मोटरबोट सञ्चालन भइरहेका छन्। निर्माण सम्पन्न भएपछि ३५ सिट क्षमता भएको जेटबोटसमेत सञ्चालन गरिने छ।
ताल पूर्णरूपमा निर्माण हुन अझै करीब छ महीना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिदै गरेका हाँस र तालमा सरर गुडिरहेका मोटरबोटले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याएको छ। तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको वाग्मती इन्टरटेन्डमेन्ड प्रालिले जनाएको छ। अहिले तालमा रहेका बोटमा यात्रा गर्ने तथा ताललाई नजीकैबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढिरहेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन्।
उनका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा निर्माण गर्ने लक्ष्यका साथ नगरपालिकाले ताल निर्माणको काम गरिरहेको छ। तालमा दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका नगरपालिकाले जनाएको छ। तालको नजीकै सुमेरू पर्वत, मिनि नेपाल र शिवमूर्ति बनाउने योजनाका साथ काम भइरहेको छ।
तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि नगर बगैंचा तथा घेराबेराको काम पनि भइरहेको छ। तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले रु दुर्ई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आपूmलाई पोखराको फेवाताल घुमेको महसूस भएको सुनाउने गरेका छन्।
तालको सौन्दर्य बढाउन हाँस पालन, वरिपरि पूmल लगाइएको र तालको बीचमा रिर्साेटसमेत निर्माण गरिएको छ। अबको करीब छ महीनामा ताल निर्माणको काम सम्पन्न गर्ने तयारीका साथ नगरपालिकाले काम गरिरहेको छ। पूर्णरूपमा ताल निर्माण भइ नसक्दै करीब एक हजारजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारसमेत पाएका छन्। तालको निर्माण सम्पन्न भएपछि नगरका करीब एक हजार ५०० स्थानीय युवाले रोजगार पाउने र नगरको पनि आन्तरिक आयस्रोत बढाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताए।
तालमा सजावट र रिसोर्टको काम तीव्रगतिमा भइरहेको छ। नेपालकै सबैभन्दा ठूलो मानवनिर्मित तालको सम्पूर्ण काम सकिएपछि दैनिक करीब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटक ल्याउने नगरपालिकाको लक्ष्य छ। तालको १५ देखि ४५ फिटसम्म गहिरो छ। जोखिम रहेकोले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध गरिएको छ। साथै केही समयपछि उक्त तालमा माछापालन पनि गर्ने नगरपालिकाले योजना बनाएको छ।
नगरपालिकाले नगर बगैंचा र फनपार्कसमेत निर्माण गरिरहेको छ। नगरवासीलाई रोजगार पनि दिने र नगरको आन्तरिक आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैंचा र फनपार्क निर्माण भइरहेको नगरपालिकाले जनाएको छ। सडक निर्माण, स्तरोन्नति मात्र विकास नभई आन्तरिक आयस्रोत बढाउने र रोजगार सिर्जना गरी स्वरोजगारी बनाउने योजना ल्याउनु नै विकास रहेको नगरका जनप्रतिनिधिको निष्कर्ष रहेको कारण नगरको आन्तरिक आयस्रोत बढाउन र नगरका बेरोजगारी नागरिकलाई रोजगार सिर्जना गर्ने काम गरिएको जनप्रतिनिधिले जनाएका छन्।