- कुमार रुपाखेती
बेला–कुबेला राजाको नाम जपेर बस्ने पार्टीको नाम राप्रपा हो । २०७४ सालको आमनिर्वाचनमा कमल थापाको राप्रपा धडाम भएको थियो । धडाम अर्थात् बीउको रूपमा राजेन्द्र लिङ्देनले मात्र संसद् भवनको मुख देख्न पाए । राजनीतिकरूपमा गइलगुजरल परिणाम बेहोर्न थालेपछि छियाछिया भएका पशुपति शम्शेर, प्रकाशचन्द्र लोहनी र कमल थापाहरू एक ढिक्का भए । अहिले यिनको पनि एकताको महाधिवेशन जोडतोडमा छ ।
कुनै बखत समानुपातिकबाट कमल थापाले दुई दर्जन सांसद भिœयाउन पाएका थिए । त्यतिखेर कमल थापाको चर्चित चुनावी नारा ‘एक भोट दाइ, एक भोट गाई’ले कमालै गरेको थियो । तर त्यतिखेरको समानुपातिक मत परिणामले फुलेर गोलगप्पा भएका कमल थापाले राप्रपाको प्रमुख एजेन्डा हिन्दु राष्ट्र र राजतन्त्रलाई लोप्पा खुवाउँदै जजसले मन्त्री पद दियो, त्यतै रमाउन थालेको आरोप उनका कार्यकर्ताहरूले लगाएका थिए । अहिले पनि राप्रपालाई राजाकै भरथेग छ रे । अन्य राजनीतिक दलका महाधिवेशनलाई नजरअन्दाज गरे पनि ज्ञानेन्द्रले राप्रपाको महाधिवेशनलाई ध्यान लगाउँदा रहेछन् ।
राजाको र हिन्दू राष्ट्रको वकालत गर्ने एकमात्र पार्टी राप्रपा नै हो । तर आरोप लगाउनेहरू त भन्छन् राजतन्त्र र हिन्दू राप्रपाको मागीखाने भाँडो हो रे । त्यही त, अधिसङ्ख्यक हिन्दू बसोबास रहेको, पूर्व राजतन्त्रको अझै झिनो जगजगी रहेको नेपालमा राप्रपा पतन हुँदै जानुको रहस्य बुझिनसक्नु छ । देखावटीरूपमा नै किन नहोस्, हिन्दूको माला जपेर जय श्रीराम घन्काएर भारतमा भाजपाले आफ्नो कायापलट नै गरेको छ । झन् अचेल त नरेन्द्र मोदीले जुँगा–दा¥ही बढाएर बाबा रामदेवलाई मात गरेका छन् । तर यसपालि एकताको नाम दिइएको वर्तमान महाधिवेशनमा आफ्नो गिर्दो साख बचाउन राप्रपा नेतृत्व दिलोज्यानले लागेको छ । त्यसो त सबै राजनीतिक दलझैं राप्रपा पनि युवा नेतृत्व भन्दैछ ।
युवा नेतृत्वको हबिगत कस्तो हुन्छ भनेर एमालेका ओलीले देखाइसके । भीम रावल र घनश्याम भुसाल, टङ्क कार्कीहरू जस्ता खारिएका युवा पुस्तालाई ओलीले पातालसम्म खेदे । ओली महात्म्य स्वीकार्ने युवा नेता योगेशहरूले शरण पाए । काङ्ग्रेसका युवाहरू त प्रतिनिधि छनोटमैं गाली होइन, गोली चलाउन थालेका छन् । प्रदेश २ मा त काङ्ग्रेस प्रतिनिधि निर्वाचनमा निधारमा अबीर घसेको हो कि रगत बगेको हो, छुट्याउनै गा¥हो भयो । भनिन्छ, ओलीको बोली र काङ्ग्रेसको गोली, यी दुवैले मान्छे घायल हुन्छन् रे ।
काठमाडौंको भृकुटीमण्डप क्षेत्र अहिले राप्रपामय भएको छ । नेतृत्व परिवर्तनको कुरालाई लिएर अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच घमासान भएको छ । झन् चर्चित नायिका रेखा थापाको छमछम चमचमले अधिवेशनमा चार चाँद थपेको छ । अध्यक्ष पदका दुवै दाबेदारले मुक्तकण्ठले राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गरिरहेका छन् । राप्रपा महाधिवेशनको लहरमा बगेर मालेका सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी राजा भन्दै गुणगान गर्दा माओवादीका प्रचण्डले आफ्नो तेजोवध भएको ठानेछन् । त्यसो त राप्रपाको यो महाधिवेशनमा मधेसवादीबाहेक सबै ठूला दलका शीर्ष नेताहरू उपस्थित हुनाले पनि राप्रपाको महŒव दर्शाएको छ तर स्वयम् राप्रपा नेतृत्व आफ्नो मूल एजेन्डाबाट भटकिनाले घर न घाटको भएको छ ।
वर्तमान एकता महाधिवेशनमा राप्रपा प्रतिनिधिहरूको जोश, जाँगर र प्रतिबद्धता देख्दा राप्रपालाई पनि चालीसे लागेछ, बैंस जागेछ भन्न थालिएको छ । भनिन्छ, नारी, पुरुषमा ४० वर्ष लागेपछि एकपटक फेरि जवानीको जोश जाग्छ रे । राप्रपा बलियो भए राजा सक्रिय हुन्छन् कि पुनः नेपाल हिन्दू राष्ट्र बन्छ कि भन्ने त्रास काङ्ग्रेस र एमालेमा देखिन्छ । सबैलाई थाहै छ कि छलछाम गरेर संसारकै एकमात्र हिन्दू राष्ट्र नेपाललाई रातारात धर्म निरपेक्ष घोषणा गरियो । २०४७ पछि प्रजातन्त्रको नाममा काङ्ग्रेस, कम्युनिस्टहरूले मुलुकमा ब्रह्मलुट मच्चाएको सबैलाई थाहै छ । जो चोर उसैको ठूलो स्वर भनेझैं यिनीहरू गणतन्त्रको दुहाइ दिंदै जोरसोरले कराएर आफ्नो कर्तुत ढाकछोप गर्छन् ।
सबैलाई थाहै छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन । अनि किन राप्रपा नेतृत्वले सगर्व आफ्नो एजेन्डा जनसमक्ष राख्न सक्दैन । राजा नेपाली हुन् । यहाँ त २०६३ मा नागरिकता पड्काउनेहरू काङ्ग्रेस, कम्युनिस्ट बनेर गर्जिन्छन् । माक्र्स, माओ, लेनिन कम्युनिस्टहरूको गुरु बन्न सक्छन् भने राजाबाट नेपाली नागरिक बनेका ज्ञानेन्द्र किन राप्रपाको हितैषी बन्न सक्दैनन् । मन, वचन र कर्मले राप्रपावालाहरू एक ढिक्का हुने हो भने कागजी बाघ बनेका बहुदलवादी भनिनेहरूको बालुवाको महल सहजै ढल्न सक्छ । यिनकै टाउकोमा टेकेर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेको राप्रपाले कसरी बिर्सियो खै ।
आकाशमा रातिपख गन्नै नसक्ने गरी तारा उदाएझैं नेपालमा उदाएका अनगिनत पार्टीमध्ये राजा र हिन्दू अनि राजतन्त्रको वकालत गर्ने एकमात्र राजनीतिक दल राप्रपा नै हो । हावा अनुसार बग्न सिपालु र राजनीतिको कखरा नजानेकाहरूसमेत अचेल राजतन्त्रको कुरा गर्दा नाक, मुख खुम्च्याउने गर्छन् । सङ्क्षेपमा भन्ने हो भने राजतन्त्रको वकालत गर्नेहरूलाई अर्कै ग्रहको प्राणी ठान्ने प्रवृत्तिको जानाजान विकास गरिएको छ ।
राजाको पार्टी भन्दै राप्रपालाई बदनाम पनि गराइन्छ । जसले आफ्नो अस्तित्व रक्षाको उठान गर्छ, राजनीतिमा त्यस्तालाई मित्रशक्ति ठानिन्छ । राजाले अथवा राप्रपाले एकअर्कालाई मित्र शक्ति ठान्नु, राजनीतिक कवच ठान्नु कुन कोणबाट गलत भयो । आफ्नो स्वार्थ पूरा नहुन्जेल राप्रपाका कमल थापालाई यिनै प्रजातन्त्रवादीहरूले पालैपालो उपप्रधानमन्त्रीसम्म बनाएका होइनन् र ? यिनकै ढाडमा टेक्दै, टाउकोमा चढेर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री बनेर यिनको नूर झार्दै राप्रपाको झन्डा फहराएको होइन र ? ज्ञानेन्द्रको कुरै छोडौं, समर्थक जम्मा गर्ने मामिलामा त अहिले जल्दाबल्दा गणतन्त्रवादी नेताभन्दा राजपरिवारकी महिला सदस्य हिमानी शाह धेरै अगाडि छिन् ।
राजतन्त्र अझै हटकेक हो । पारस धुन्धुकारि हुन् । यहाँ मैले गणतन्त्रवादीहरूको निन्दा गरेर राजतन्त्रको समर्थन गर्न खोजेको होइन, बल्की राजनीतिक अन्धविश्वासबाट माथि उठेर प्रजातन्त्रको धर्म र मर्म अनुसार थोत्रो भई थन्किएको भनिएको राजतन्त्रको लोकप्रियतालाई धृतराष्ट्रको आँखाले नहेरौं । दलहरूले आफ्नो आनीबानी सुधारून् । यो पक्कै हो, गणतन्त्र नेपालमा पक्षपात, नातावाद, भ्रष्टाचार, महँगीले आकाश छोएको, कोही कसैको नियन्त्रणमा नभएको, विदेशीहरू हाबी भएको अवस्था छ । कसरी गणतन्त्र नेपाल राजतन्त्र नेपालभन्दा पतनोन्मुख हुँदै गयो ?
आजको युगमा हामीले गणतन्त्रको तुलना राजतन्त्रसँग गर्न खोज्नु कुनै दुस्साहस नभई राजनीतिक दलहरूको असफलता नै हो । २०१७ सालको निरङ्कुश राजा महेन्द्रको अवैधानिक कदमका बेला जनताले किन खुशियाली मनाए, दीपावली गरे, किन विद्यार्थीहरूले बहुदल असफलताका प्रमुख कारणहरू के के थिए भनेर पढ्नुप¥यो । विगतको जस्तो हबिगत गणतन्त्रवादीहरूको नहोस् भनेर स्मरण गराउने काम पनि हामी जनताको होइन र ? किन आज मुलुकभरि नै ‘केपी शर्मा ओली, बाहुन बाजे लोभी’को नारा बुलन्द छ । किन आज देउवा र प्रचण्डलाई सराप्ने समाज विकसित हुँदैछ । मुलुकको मुटु मानिने राष्ट्रियता नेताहरूबाटै कमजोर बनाइएको छ । विगतमा कसैलाई सराप्दा तेरो घरमा काङ्ग्रेस पसोस् भनेझैं अब तेरो घरमा गणतन्त्रवादी पसोस् भनेर सराप्नु नपरोस् ।
जित्दा मातैमात, हार्दा पुर्पुरोमा हात लगाउने दल हो राप्रपा । राप्रपा कुनै दूधले धोएको दल होइन । विगतमा यसको ढुलमुले चरित्र र फितलो राष्ट्रवादबाट हामी अवगत छौं । राप्रपाले अझै पनि आफ्नो आचरण सुधारेन भने राजतन्त्रझैं राप्रपा पनि जनमानसको पटलबाट हराउँदै जाने देखिन्छ । स्पष्ट र इमानदारीका साथ आफ्नो एजेन्डा उठाउँदै जानु आजको राप्रपाको दायित्व हो। मरेको बाघको जुँगा सबैले उखाल्छन्, राजतन्त्र मरेको बाघ हो । अब ज्ञानेन्द्र होइन आफ्नै बलबुतामा राप्रपा फस्टाउनुपर्छ ।