- कुमार रुपाखेती
अचेल दशैं, तिहार र छठ पर्वजस्ता महान् चाडहरू मूल्यवृद्धिका द्योतक मानिन थालिएका छन् । यी चाडहरू आउनुअगावै महँगीले ‘आ गले लग जा’ गरिहाल्छ । अब त चाडपर्व मात्र होइन निर्वाचन, राजनीतिक ठूला दलहरूका महाधिवेशनहरूले समेत महँगी बढाउन चाडपर्वकै बिडो थामेका छन् ।
सबैलाई थाहै छ, नेपालका दुई ठूला दल काङ्ग्रेस र एमालेको महाधिवेशन हुँदैछ । यी महाधिवेशनको प्रभावले गर्दा सस्तिने सामानहरूसमेत महँगिएका छन् । एमालेले त फिल्म छायाङ्कन योग्य भव्य सेट नै नारायणी नदीको किनारामा बनाएको छ । पर्यटकहरूसमेतले नेपालकै महँगो भनिने सौराहामा एमालेले बन्दसत्र गरेको छ । तामझाम देखाउन विद्युतीय मेशिनबाट भोटिङ पनि गरेको छ । सबैलाई थाहै छ, जेसुकै भने पनि यी महाधिवेशनहरू आम निर्वाचनमुखी हुन् ।
विधानमा एकथरी र व्यवहारमा अर्को थरी गर्ने दलहरूको परम्परा नै छ । एमालेले १०औं महाधिवेशनमा जम्माजम्मी रु सात करोड खर्च गर्ने सर्वहारा सोच राखे पनि पूँजीपती स्टाइलमा भएको यो महाधिवेशनको लागत रु ५० करोडले पनि धान्न नसक्ने देखिन्छ । खल्तीबाट मान्छे चुनिने एमालेको यो तडकभडकवाला महाधिवेशनमा ओलीको प्रतिस्पर्धा शून्यसँग हुने पक्कापक्की छ । माधव र झलनाथलाई बिदा गरेपछि अब ओलीको हाइट मिल्दोजुल्दो नेता त्यो पार्टीमा छैन । राजा ज्ञानेन्द्रलाई टिकेहरूले डुबाएझैं एमालेका नवराजा ओलीलाई एमालेकै टिकेहरूले भविष्यमा सखाप पार्ने दिनको घामझैं छर्लङ्ग छ ।
अहिलेसम्म छानिएका १६ सय प्रतिनिधिमध्ये करीब १४ सय त ओलीकै पक्षधर हुन् । कुनै बखत माधव नेपालका पक्षधर भनिने १० बुँदे पक्षीय दश भाइ अहिले बालकोट पुगेर पदको याचना गर्न बाध्य बनाइएका छन् । भनिन्छ, मुलुक कब्जा गर्छौं भनी धक्कु लगाउने कम्युनिस्टका शीर्ष नेताहरू अचेल झिटिगुन्डा बोकेर आफ्नो टुटफुट भएको पार्टी कब्जामा सीमित भएका छन् । यो घटुवा होइन र ? बिचरा ओलीले त १०औं महाधिवेशनमा पार्टीको झन्डा बोकेको गैंडाको लोगो बनाएका छन् । त्यसै पनि गैंडा नेपालबाटै लोप हुँदैछ । अब लोप हुन लागेको गैंडाले बोकेको झन्डावाल पार्टीको अवस्था पनि गैंडाजस्तै हुने पो हो हो कि भनी कार्यकर्ताहरू त्राहिमाम छन् ।
टिकेहरूकै दमखममा तिहारमा केटाकेटीहरूले पड्काउने पटाकाझैं ओली ‘एक्लै चुनाव लड्ने दम छ र ?’ भन्दै काङ्ग्रेससँग पड्किंदै छन् । भनिन्छ, पार्टीका लागि जनमत तयार गर्न नसक्नेहरू आत्तिएर पात्तिएर यस्तै लबरई गरिरहन्छन् । सङ्क्षेपमा भन्ने हो भने एमाले कमजोर भएपनि एमालेभित्र ओली शक्तिशाली छन् । पार्टीभित्र उनको भजनमण्डलीको ठूलै जत्था छ । ‘रस्सी जल गई, ऐंठन नहीं गई’ भनेको यही हो । टुट र फुटले क्षीण र थिलथिलो हुँदासमेत गर्जन नघट्नुलाई धेरैले व्यक्तिवादी, अहङ्कारी चरित्र भनी व्याख्या गर्दैछन् । तराईतिर यही वीरगंजमा समेत फगुवा (होली)मा मूर्ख, महामूर्ख, मूर्खाधिराज, मूर्ख शिरोमणिको पदवी दिइन्छ । ओली जस्तालाई खै कुन पदवीले विभूषित गर्ने होला ? उनले १०औं महाधिवशेनलाई किन फगुवा बनाएका हुन्, उनै जानून् ।
काङ्ग्रेस र एमाले मात्रै होइन नेपालका झिनामसिना दलहरूसमेत चन्दाकै भरमा चलेका छन् । कार्यकर्ताहरूबाट उठाइने शुल्क त फगत एउटा ढोंग मात्र हो । ठूला दलहरूलाई उद्योगी–व्यापारीले निर्वाचन र महाधिवेशनमा दिल खोलेर आर्थिक सहयोग, चन्दा दिन्छन् । यस्ता चन्दाहरू दुई नम्बरी, अवैध पैसा हुन् । यही अवैध पैसाले मुलुकमा भद्रगोल गरेको छ । थुप्रै अर्बपति व्यापारीले नेपालमा अवैध धनलाई वैध बनाइरहेको सबैलाई थाहै छ । यस्तो कार्यमा आफ्नो चन्दादाता दुहुने गाईलाई राजनीतिक दलहरूले सघाउनु स्वाभाविकै हो । दशैं, तिहार, छठ, महाधिवेशन र निकट भविष्यमा हुने तीनैथरीका निर्वाचनमा राजनीतिक दलको होइन, उद्योगी, व्यापारीहरूको ठूलो लगानी हुँदैछ । आफ्नो लगानी खेर जान नदिन मूल्यवृद्धि उनीहरूको एकमात्र रामबाण अस्त्र हो । दुहुनो गाईको लात (महँगी) आम जनताले भोग्नुपरिरहेको छ ।
अर्को ठूलो दल काङ्ग्रेस र सानो दल राप्रपा पनि महाधिवेशनको सङ्घारमा छन् । आफ्नो साइज अनुसार आर्थिक गाँस व्यापारीहरूले उपलब्ध गराइरहेका छन् । चन्दा वसुल्न काङ्ग्रेस, कम्युनिस्टहरू नेपालमा माहिर मानिन्छन् र अपारदर्शी खाताबही सञ्चालन गर्न यी दलहरू व्यापारी, उद्योगीझैं सिपालु हुन्छन् । अब यस्तो अवस्थामा जनताले पाउने उपहार भनेको मूल्यवृद्धि र महँगी नै हो । बजार भाउ देख्दा यो कुराको अनुमान लगाउन कठिन छैन ।
एकातिर एमालेमा अध्यक्ष पदमा ताल ठोल्ने ओलीबाहेक कोही छैन, मैदान खाली छ भने काङ्ग्रेसमा देउवाको सभापति पदमा लड्नेहरूको ठूलो भीड छ । चुनौतीविहीन र सशक्त चुनौतीको सामना गर्दै यी दुई दलका ओली र देउवा दुवैजनाले साम्यवाद र समाजवादलाई उहिल्यै तिलाञ्जलि दिइसकेको भन्ने स्पष्ट छ ।
आम जनतालाई प्रभावित र आकर्षित गर्न असफल एमाले र काङ्ग्रेसका यी महाधिवेशन चर्चामा आउनुका दुईवटा कारण छन् । पहिलो, अध्यक्ष पदमा ओलीलाई चुनौती दिने मर्द एमालेमा नदेखिनु, दोस्रो देउवालाई सभापति पदमा ठेटनाहरूले समेत चुनौती दिनु । केहीको नजरमा देउवा र ओलीको सान होला । तर काङ्ग्रेस, एमाले अब सानदार पार्टीको श्रेणीमा दरिंदैनन् ।
साहित्य सम्बन्धी
ख्यातिप्राप्त स्थानीय साहित्यकारहरूले प्रभात काव्य–यात्रालाई जीवन्त राखेका थिए । प्रतीक दैनिक परिसरमा करीब दुई दशकअगाडिभन्दा अघिदेखि प्रभात काव्य–यात्रा साहित्यिक जमघट हुन्थ्यो । पछि भएन । कालान्तरमा केही दशक स्व अरुण विक्रम शाहले नथाकेर यसलाई निरन्तरता दिए । अरुणले सञ्चालन गरेको प्रभात काव्य–यात्राको साहित्यिक कार्यक्रम प्रतीक दैनिकले अन्तिम पृष्ठको पुछारमा सङ्क्षेपमा छाप्ने गर्दथ्यो । तर एक्कासि प्रतीकले प्रभात काव्य–यात्राको कार्यक्रम आइतवार ५ गते मङ्सिरको प्रथम पृष्ठमा प्रमुख समाचार बनाएर फोटोसहित छाप्यो । कारणतिर नगएर म स्व अरुण विक्रम शाहको आत्माको चिरशान्तितिर लागें । सुन्नुभो, अरुण दाइ प्रभात काव्य–यात्राको अर्को कार्यक्रम एसपी साब’कोमा रे । प्रतीकले अब उप्रान्त पुछारमा होइन, प्रथम पृष्ठमा प्रकाशन गर्ने रे ।
यसरी अरुणको प्रभात काव्य–यात्राले उँची छलाङ लगाउन थालेकोमा धेरैजना हर्षित छन् । प्रभात काव्य–यात्राको पदोन्नति भएको छ । बिचरा अरुणले त बिरालोले कुनाकाप्चामा बच्चा सारेझैं महीनौंपिच्छे ठाउँ खोज्दै भौंतारिंदै सङ्घर्ष गर्दै कार्यक्रम स्थल खोज्दै हिंड्थे । अब त्यो अवस्था रहेन । अब त स्थानीय धनक्कड साहित्यकार, प्रशासनका हाकिम, वरिष्ठ पत्रकारहरूको संरक्षण र सङ्गतमा पुरानो अवस्थाबाट माथि झन्झन् माथि उठ्ने देखिन्छ । अरुणको त्यो निरन्तरता प्रचारमा मात्र होइन वास्तविकरूपमा साहित्यप्रति समर्पित होस् । स्थानीय साहित्यकारहरूको संरक्षण र विकास गर्ने थलो बनोस् । अरुणको आत्मालाई शान्ति मिल्नेछ, पक्का छ ।