काठमाडौं, १ मङ्सिर/रासस

सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७/७८ मा दुर्ई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।

कोरोना महामारीको प्रतिकूलताका बावजूद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७/७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७/७८ मा रु ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

आव २०७७/७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुर्ई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा रु दुर्ई खर्ब ८७ अर्ब छ करोड असुली भएको छ । यस्तै, सोही अवधिमा रु दुर्ई खर्ब ७७ करोड आयकर र रु एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कुल बेरुजू रु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकामा गत आवमा रु २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार फछ्र्याेट भएको विभागले जनाएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ रु ३७ हजार ८६८ करदाता दर्ता भएको र हालसम्म दुर्ई लाख ६८ हजार ४३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ ।

दूरसञ्चार कम्पनी बन्यो उत्कृष्ट करदाता

सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौं कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आज बुधवार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरूलाई सम्मान गरे ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता बनेको छ । यस्तै, निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट एसियन पेन्ट्स (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रिटेक प्रालि रहेका छन् ।

यस्तै, सहकारी तथा लघु वित्तको कारोबार गर्नेबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक तथा वित्तीय संस्थाको कारोबार गर्नेबाट नबिल बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएका छन् ।

मध्यमस्तरीय करदातामध्येबाट कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, ऊर्जामूलक उद्योगमध्येबाट हिमाल पावर लिमिटेड र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने सूर्य नेपाल प्रालि सम्मानित भएका छन् । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयममैं बुझाएर नियमित कर सहभागिता जनाएकामध्ये आव २०७७/७८ मा सबैभदा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाताका रूपमा घोराही सिमेन्ट इन्डस्ट्री सम्मानित भएको छ ।

यसैगरी, व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्सेर राणा पनि सम्मानित भएका छन् । दिवसकै अवसर पारेर विभाग मातहतका विभिन्न कार्यालयमा उत्कृष्ट सेवा प्रवाह गर्ने १० जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट करदाताका रूपमा सम्मानित नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्करकुमार रायमाझीले सम्मानले थप उत्कृष्ट काम गर्न प्रोत्साहित गरेको र पुनर्बीमा कम्पनीलाई सधैंभर उत्कृष्ट बनाउन आफू प्रयत्नशील रहेको बताए । आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानबिन्दुका रूपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते कर दिवस मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here