काठमाडौं, १६ असोज/रासस
इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।
आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मटीतेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर एक हजार ९६१.८८ रुपैयाँ लागत पर्ने देखिएको छ ।
निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यस अनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मटीतेलको ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर रु एक हजार ४५० मूल्य तोकिएको छ । उल्लिखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मटीतेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धन १.९३ रुपैयाँ, बाह्य हवाई इन्धनको १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानीको अवस्था छ ।
निगमलाई नाफा भएको मटीतेल तथा हवाई इन्धनको माग तुलनात्मकरूपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै एक अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
बढ्दै नोक्सानी
प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ ।
निगमले भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको अवस्था थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यति बेला निगमको आलोचनासमेत भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान मासिक पाक्षिक ८४ करोडको हाराहारीमा झारेको थियो । तर आइओसीले त्यसपछि दुईपटक मूल्य बढाएर मूल्यसूची पठाएको छ ।
सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मटीतेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको निगमले जनाएको छ ।
सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा एक अर्ब पाँच करोड नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन । अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सानी बढेर डेढ अर्ब नाघेको छ ।
निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धराशयी बन्दै गएको बताउँछन् । “अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागतभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ,” प्रवक्ता उपाध्यायले भने, “यसरी नोक्सानी बढ्दै जाँदा निगम वित्तीयरूपमा धराशयी हुँदै जान्छ, त्यसैले पनि निगम मूल्य समायोजन गर्नैपर्ने बाध्यतामा छ ।”