-कुमार रुपाखेती
अचेल सुनको भाउ सुन्दा आङ नै सिरिङ हुन्छ । झन्डै एक लाख रुपैयाँ हुन्छ, एक तोलाका सुनको । महिलाहरूको प्रिय वस्तु हो, सुन । हुने खानेहरूले त सुनको अम्बार नै लगाएका हुन्छन् । सुन महँगो हुँदै गए पनि, यो गरीबको पहुँच बाहिर पुगे पनि सुनका पसलहरू छ्याप्छ्याप्ती खुलेका छन् । वैध, अवैधरूपमा समेत वीरगंज शहरका गल्ली–गल्ली भित्र सयौंका सङ्ख्यामा सुनपसलहरू सञ्चालनमा देखिन्छन् । जसमध्ये अधिकांश पसलेहरू वारि–पारि गर्ने धन्दामा देखिन्छन् भने केहीले सुनपसलको आडमा अवैधरूपमा हुण्डीको कारोबारसमेत गरेका देखिन्छन् ।
अहिले सुनको मूल्यले आकाश छोए पनि महिलाहरूको पहिलो रोजाइ सुनको गहना नै हो । भनिन्छ, विश्व बजारमा सधैं नै सुनको मूल्य उकालो लाग्नुका थुप्रै कारण छन् । यसको अत्यधिक प्रयोगले भने यसको मूल्यववृद्धि भएको होइन । विवाह, व्रतबन्ध, तीज, दशैं आदिका बखत नेपालमा सुन किन्नेहरूको घुइँचो नै देखिन्छ बजारमा । सुन खरीद गर्दा मख्ख पर्ने राम्रा महिलाहरूको नेपालमा कुनै कमी छैन ।
बरु भोकै बस्ने, घरजग्गा नजोडने तर सुन जोड्ने चलन अझै छ हामीमा । एकताका राम्रो र असली गहना बनाउने शाक्य परिवारहरू वीरगंजमा थुप्रै थिए । तर सुरक्षा र अन्य कारणले गर्दा उनीहरूले यो पेशा त्यागे पनि एक्कादुक्का शाक्यहरूको बिडो थामेका पुराना सुनपसल अझै वीरगंजमा छन् । तर च्याउसरी उम्रिएका नयाँ सुनपसलहरूको भीडमा पुराना विश्वासप्रFप्त यस्ता पसलहरू हराएको देखिन्छ ।
भनिन्छ, २०६३ को भीडभाडमा अधिकांश भारतीय सोनारहरूले नागरिकता लिए अनि वारिपारि नै सुनपसल खोलेर वारान्यारा गरी मालामाल हुँदैछन् । अचेल नेपाल राष्ट्र बैंकबाट सुन किनेर वाणिज्य बैंकहरूसमेतले सुनचाँदीको कारोबार गर्ने छुट पाएका छन् । धेरैले पहिलेदेखि नै सुनचाँदीका गरगहना थुप्र्याउने घनाढ्यहरूको घरमा डाँका लाग्ने गथ्र्यो ।
अहिले त सुनले झकिझकाउ भएर हिंड्नसमेत स्वर्णप्रेमी महिलाहरू डराउँछन् । सक्कली सुनको गहना बैंकको लकरमा सुरक्षित राख्ने अनि सुनजस्तो देखिने नक्कली गहना लगाएर हिंड्ने चलन चलेकाले बैंकको लकर व्यापार निकै फस्टयाएको छ । पेट काटेर लाखौं खर्च गरेर सुनको गहना खरीद गर्ने र भाडा तिरेर बैंकको लकरमा राख्ने अनौठो प्रथा देख्दा मलाई पनि अचम्म लाग्छ ।
२०१३ सालतिरको पुरानो घटना हो । तिनताका मेरी फुपूको विवाहमा रु २५ प्रतितोला पर्ने सुन एक्कासि बढेर प्रतितोला रु ३० पुग्दा मेरो हजुरबुबाले मेरी फुपूलाई दश तोलाको सट्टा आठ तोलाको गहना दिने खुइँय गर्दै भन्नुभयो रे । धनीमानीहरूलाई सुन अझै सान र मानको वस्तु हो । जतिसुकै महँगो भएपनि पहेंलो सुन सबैलाई प्रिय बनेको छ ।
पहिले पहिले राजा महाराजा भाग्नुपर्दा हात्ती, खच्चड, घोडामा सुनको भारी लिएर भाग्थे । दलाई लामाले तिब्बतबाट पलायन हुँदा खच्चडहरूको लस्करमा अरू सबै चीज छाडेर सुन मात्र बोकाएर भारत आएका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘हातको मैला सुनको थैला के गर्नु धनले’ भन्ने वाक्यले नेपाली समाजलाई प्रभाव पार्न अझै निकै समय लाग्ने देखिन्छ ।
नेपाल बैंकमा सुन जाँच्ने नोकरीबाट अवकाश पाएका अधिकांश भूतपूर्व कर्मचारीहरूले अहिले सुनपसल सञ्चालन गरेको देखिन्छ । नेपाल बैंकका पूर्व कर्मचारी रामचन्द्र ठाकुरको ठाकुरजी ज्वलेर्स गणेशमान चोक बिर्तामा अहिले मध्यम वर्गीयहरूको भरपर्दाे र रोजाइको सुनपसल भएको छ ।
‘ल्हासामा सुन छ, मेरो कान बुच्चै’ भनेझैं अचेल सुनका गहनाहरू महिलाको सट्टा बैंकको लकरको सौन्दर्य बनेको छ । ‘सुनभन्दा कम छैन, हरायो भने गम छैन’ भन्ने नक्कली गहनाले पनि बजार पाएकै छ ।
मन्दिर र भीखमाग्ने
नेपालका अधिकांश र प्रचलित अनि भीडभाड हुने मन्दिरहरू अचेल भीखमाग्ने मगन्तेहरूको अखडामा परिणत भएको छ । काठमाडौंको पशुपतिनाथमा त सडकडौं भीखमाग्नेहरूको भीडभाड नै रहन्छ । कोरोनाले महीनौं मन्दिर बन्द हुँदा मन्दिरअगाडि बसेर माग्नेहरूको बिचल्ली नै भएछ ।
वीरगंजको गहवामाईको मूल ढोकाअगाडि नै डेरा जमाएर बस्ने र माग्नेहरूले दर्शनार्थीहरूलाई हायलकायल नै पारेका छन् । यिनलाई न सामाजिक दूरी, न मास्क, न कुनै कानून नै लाग्दैन रै‘छ । कतिपय असहाय रोगीसमेत मन्दिर परिसरबाहिर मागिरहेका देखिन्छन् । मन्दिर सञ्चालकहरूलाई दर्शनार्थीहरूको पीडा, मर्का र सुरक्षाको कुनै सरोकार नै देखिंदैन । गहवामाई मात्र होइन महावीरमन्दिर, अलखियामठसमेतमा यही दृश्य देखिन्छ । सरोकारवालाहरूको लापरवाहीले गर्दा अचेल त वीरगंजमा चलनचल्तीका भीडभाड हुने चोक र बैंकहरूको अगाडिसमेत फूटपाथ ढाकेर असाध्य रोग लागेकाहरू लर्काे लागेर भीखमाग्ने नाममा बटुवाहरूलाई हैरान गरिरहेको देखिन्छ । त्यसैले त अस्ति वीरगंजमा एकजनाले काठमाडौं पशुपतिनाथमा बाँदरले र वीरगंजमा भीखमाग्नेले श्रद्धालुहरूलाई आतङ्कित पारेको बताउँदै थिए ।
भीख माग्न र चना चटपटेसम्म बेच्न यहाँ रक्सौलबाट एकाबिहानै भारतीयहरू मितेरी पुल हुँदै वीरगंज पुग्छन् र बेलुका उतै फर्कन्छन् । त्यसो त रोहगिंया र अफगानीहरूसमेत भागेर काठमाडौं पुगिसके भने नाथे मितेरी पुल पार गरेर वीरगंज छिर्नु कुन ठूलो कुरा हो र ।
महान् ठग चाल्र्स शोभराजले नेपालको एयरपोर्ट भन्सारबाट हात्ती छिराउन सकिन्छ त्यसै भनेका हुन् र । अहिले सौराहामा पर्यटकहरू नपुग्दा हात्ती पाल्न नसकेर हात्ती बेच्न थालिएको छ । भनिन्छ, करीब एक दर्जन हात्ती भारतीय सर्कसवालाले रु ३० लाखदेखि ५० लाखसम्म तिरेर रातारात वीरगंज नाकाबाट सीमा कटाएर लगिसके । तर हाम्रो प्रशासन कानमा तेल हालेर बसेको छ । यसरी हात्ती पारि लग्नु अवैध हो । केही समयअघिसम्म पर्सा जिल्लामा समेत गाउँघरका धनाढ्यहरूले हात्ती पाल्थे ।
सौराहाका एकजना हात्ती मालिकका अनुसार माहुते खर्चबाहेक एउटा हात्तीमा दैनिक खाना, घाँसपात र औषधिमा रु पाँच हजार खर्च छ । अनि पर्यटकहरू नआउँदा हात्ती घाडो भएको बताए । केहीअघिसम्म सौराहामा रु पाच हजार दैनिक तिरेर हात्ती भाडामा लिने चलन थियो ।
उद्योगभन्दा टे«डिङ राम्रो अचेल नेपालमा उद्योगधन्दा खोल्नुभन्दा ट्रेडिङ खोल्ने र बाहिरबाट मरिच, छोहोडा, केराउ, ल्वाङ्ग, इलाइची मगाएर बेच्ने चलन चलेको छ । उद्योग खोल्दा पहिला नै ठूलो लगानी गर्नुपर्ने, कर्मचारी समस्या र हडताल, नेता र सरकारी कर्मचारीहरूले उद्योगलाई दुहुनो गाई बनाउने आदि इत्यादि झन्झटभन्दा ट्रेडिड्ढो कारोबार सजिलो रे ।
नेपालको जनसङ्ख्याभन्दा सयौं गुणा परिमाणको माल मगाउने र सजिलै भारत पठाउने विनाझन्झट मनग्गे नाफा । ट्रेडिङहरूले नेपालको होइन भारतको खपत अनुसार सामान मगाउँछन् ।