- मुकुन्द आचार्य
हाम्रो भोजपुरी भाषामा थुप्रै लोककथा छन् । ती पनि खास रमाइला र सन्देशमूलक हुन्छन् । हाम्रो नेपालको वर्तमान भ्रष्ट राजनीतिलाई यसो नियाल्दा यौटा भोजपुरी लोककथा घरीघरी सम्झनामा आइरहन्छ । तपाईं पनि लोककथा सुन्ने हो त ?
त्यो लोककथाको शीर्षक मैले राखें– ‘रे … ! हम केकर फुपा हईं ?’ अब त्यो लोककथा नै सुनौं है त । हरेक लोककथाले प्राचीनताको छनक चैं दिइहाल्छ । कथा यस्तै–यस्तै छः
अलि पुरानो कुरा हो । कुनै गाउँमा एकजना धनी सज्जन व्यक्ति थिए । बिचरा सोझा र इमानदार मान्छे । पहिले पहिलेका धनीमानीले हात्ती पाल्ने शोख राख्थे । यी सज्जन सोझा धनाढ्य महाशयले पनि हात्ती पाल्ने निधो गरे । त्यतिखेर धनीको प्रतीकको प्रतीक !
अनि पशुमेलाको बेला आयो । अनि कम्मर कसेर उनी कुनै प्रसिद्ध पशुमेलामा पुगे, हात्ती किन्न। घुम्दाघुम्दै हात्तीको मोलतोल गर्दागर्दै गर्मीले असिनपसिन भएर उनी नजीकैको पोखरीको डिलमा थकाइ मार्न बसे । उनको गतिविधि कुनै स्मार्ट ठगले देखेछ ।
यस्ता मेलामा ठगहरू पनि थरीथरीका भेष बनाएर शिकार खोजिरहन्छन् । हाम्रो कथाका सज्जन धनी, सोझा महाशयलाई कुनै चतुर ठगले पछ्यायो । तर सोझो बिचरोले चाल पाएन ।
ठगले निकै शिष्टतापूर्वक ती धनाढ्यलाई प्रणामपाती गरेर ‘फुपाजी प्रणाम !’ भन्दै जालमा फसायो । सोझो भएकाले धनी बिचरोले पत्यायो । होला नि भन्ठानेर ‘फुपा’ दङ्गदास भएर कुराकानी, चियापानी पनि चल्यो । परिचय बलियो हुँदै गयो ।
गर्मीले पिल्सिएर धनी साउजीलाई पोखरीमा दुई/चार डुबुल्की मार्न मन लाग्यो । नयाँ–नयाँ उत्पन्न भएको नातेदार अर्थात् छट्टु स्याललाई लुगाफाटो जिम्मा लगाएर पोखरीमा पसिहाले बिचरा धनाढ्य महापुरुष !
दश–पन्ध्र मिनेटजति जलक्रिडा गरेर साउजी बाहिर आउँदा त उनको प्यारो हुन पुगेको छट्टु स्याल बेपत्ता भइसकेको थियो । उनको लुगा र नगदसहित ‘फुपा’को भदहो अन्तध्र्यान भइसकेका थिए ।
सोझो हुनुमा पनि ठूलो खतरै छ । बिचरा चीसो भिजेको लुगा लाएर सोध्दै हिंड्न थाले– ‘रे… हम केकर फुपा हईं ?’ (म कसको फुपाज्यू हुँ ?)
अब यो प्रश्नको जवाफ कसले दिने ?
यो कथा, आजको नेपाली राजनीतिमा ठ्याक्कै मिल्छ ।
हामी नेपाली जनता सोझो धनी साउजी हौं । हामी सोझा भएर नै मत (भोट) दिनमा उदार छौं। नेताजीहरू चतुर चलाक स्मार्ट भदहो हुन् । भोटरूपी नगद गाँठी लिएर नेताहरू अदृश्य भइदिन्छन् ।
‘रे … हम केकर फुपा हईं ?’ यो युग–युगदेखिको यक्ष प्रश्न हो । यस प्रश्नको उत्तर झट्ट कसैले दिन सक्दैन । हामी जनता बारम्बार ठगिन्छौं । भविष्यमा पनि ठगिने नै हो, यो निश्चित छ । तसर्थ ‘रे … हम केकर फुपा हईं ?’ यो प्रश्न सधैं अनुत्तरित रहनेछ ।