द्रोण पर्व–४५

0
19

महाभारतबाट सङ्कलन तथा अनुवाद

  • उमाशङ्कर द्विवेदी

विन्दलाई मरेको हेरेर महाबली भाइ अनुविन्द हातमा गदा लिएर रथबाट हाम्फाले र दाजुको मृत्युको स्मरण गर्दै उनले श्रीकृष्णको निधारमा गदाले प्रहार गरे तर श्रीकृष्ण त्यस प्रहारबाट अलिकति पनि विचलित भएनन् । अर्जुनले तत्कालै छवटा बाण हानेर अनुविन्दको हात, खुट्टा, टाउको र गर्दन काटिदिए । अनुविन्द पर्वत शिखरको समान पृथ्वीमा ढले ।

विन्द र अनुविन्द दुवै भाइलाई मरेको हेरेर उनका साथीहरू अत्यन्त कुपित भएर सशस्त्रौं बाण वर्षाउँदै अर्जुनतिर दगुरे । अर्जुन बडो फुर्तीका साथ आफ्ना बाणहरूले उनीहरूको अन्त्य गरिदिएर अगि बढे । अनि उनले बिस्तारै श्रीकृष्णसित भने– घोडाहरू अत्यन्त व्यथित भइरहेका छन् तथा धेरै थाकि पनि सकेका छन् । जयद्रथ अझ टाढै छन् । यस्तो स्थितिमा यति बेला के गर्न उचित हुनेछ ? मेरो विचारमा जे कुरा ठीक छ त्यो भन्दैछु, सुन्नुहोस् ।

अर्जुनले यस प्रकार भनेपछि श्रीकृष्णसित भने– पार्थ, तपाईं घोडाहरूलाई फुकाइदिएर उनीहरूको शरीरमा बिझेका बाणहरूलाई झिकिदिनुहोस् । अर्जुनले यस प्रकार भनेपछि श्रीकृष्णले भने– पार्थ, तिमीले भनेको कुरा मलाई पनि उचित लाग्यो, मेरो पनि यही विचार छ । अर्जुनले भने–केशव, मैले कौरवको सम्पूर्ण सेनालाई रोकिराख्छु ।

यसैबीचमा तपाईंले सबै काम यथावत् गरिलिनुहोस् । यति भनेर अर्जुन रथबाट ओर्लेर बडो सावधानीले धनुष धारण गरी पर्वतको समान अविचल भावले उभिए । यतिबेला विजयाभिलाषी क्षत्रियहरूले उनलाई पृथ्वीमाथि उभिएको हेरेर ‘लौ मौका यही हो’ भनेर कराउँदै उनीतिर दौडिए । उनीहरूले बडो भारी रथसेनाद्वारा एक्लिएको अर्जुनलाई घेरामा हाली धनुष तानेर नानाथरीका शस्त्र र बाण हानेर अर्जुनलाई व्यथित पार्न थाले तर वीर अर्जुनले आफ्नो शस्त्रबाट उनीहरूको अस्त्रलाई चारैतिरबाट रोकी ती जम्मैजनालाई अनेकौं बाणबाट आच्छादित पारिदिए । कौरवसेना अपार समुद्र जस्तै थियो । त्यसमा बाणरूपी तरङ्ग र ध्वजारूपी भुमरी परिरहेको थियो ।

हाथीरूपी गाही, पदातिरूपी माछाहरू तैरिरहेका थिए तथा शङ्ख र दुन्दुभिहरूको ध्वनि त्यस समुद्रको गर्जना थियो । अगणित रथावली त्यसको अनन्त तरङ्गमाला थियो । पगरी कछुवा थिए, छत्र र पताका समुद्रको फिंज थियो र हात्तीहरूको शरीर मानौं शिलाहरू थिए । अर्जुन तटरूप भएर त्यस सेना समुद्रलाई आफ्ना बाणबाट रोकिराखेका थिए ।

धृतराष्ट्रले सोधे– सञ्जय, जब अर्जुन र श्रीकृष्ण पृथ्वीमाथि उभिएका थिए, अनि यस्तो अवसर पाएर पनि कौरवसेनाले अर्जुनलाई किन मार्न सकेन ?

सञ्जयले भने– राजन्, जसरी लोभ एक्लैले सम्पूर्ण गुणलाई रोकिदिन्छ, त्यसै प्रकार अर्जुन पृथ्वीमाथि उभिएको भएपनि रथमाथि चढेका सम्पूर्ण कौरवसेनालाई रोकिराखेका थिए । यसै बेला श्रीकृष्ण आत्तिएर आफ्नो प्रिय सखा अर्जुनसित भने– अर्जुन, यहाँ कुनै जलाशय पनि देखापरिरहेको छैन, रथका घोडाहरूले पानी खान खोज्दैछन् । यो सुनेर अर्जुनले तत्काल आफ्नो अस्त्रद्वारा पृथ्वीलाई फोडेर घोडाहरूले पानी खाने योग्य एउटा सुन्दर सरोवर बनाइदिए ।

त्यो सरोवर धेरै विस्तृत र स्वच्छ जलले भरिएको थियो । एक क्षणमैं तयार पारिएको त्यस सरोवरलाई हेर्न त्यहाँ नारदमुनि पनि आइपुगे । अद्भुत कर्म गर्ने अर्जुनले बाणको नै एउटा घर पनि बनाइदिए जसको खम्भा, बाँस र छत पनि बाणले नै बनेको थियो । त्यस घरलाई हेरेर श्रीकृष्णले हाँस्दै भने– अर्जुन, क्या बात । यसपछि उनी रथबाट ओर्लेर बाणबाट विधेका घोडाहरूलाई रथबाट फुकाइदिए । अर्जुनको यो अद्भुत पराक्रम हेरेर सिद्ध, चारण र सैनिकहरूले वाह, वाह भन्न थाले । सबैभन्दा आश्चर्यजनक कुरा त यो भयो कि बडे–बडे महारथीहरू पनि पैदल अर्जुनसित युद्ध गरेर पनि उनलाई पछि हटाउन सकेनन् ।

कमलनयन श्रीकृष्ण मानौं स्त्रीहरूको बीचमा उभिएका होऊन्, मुस्काउँदै घोडाहरूलाई अर्जुनले बनाएको बाणगृहमा लगे र तपाईंका सबै सैनिकको सामु नै निर्भय भएर घोडाहरूलाई लोटाउन थाले । उनी अश्वचर्यामा खप्पिस त छँदै थिए । अलिकबेरमैं उनले घोडाहरूको श्रम, ग्लानि, कम्प र घाउहरूलाई निको पारिदिए । अनि आफ्नो करकमलबाट घोडाहरूको बाण झिकी, मालिस गरेर पानी खुवाए । यस प्रकार घाँस–पानी खाएर घोडाहरू तङ्ग्रिएपछि पुनः रथमा जोतिए । यसपछि उनी अर्जुनको साथ रथमा आरूढ भएर तीव्र गतिमा हिंडे ।

यतिबेला तपाईंका पक्षका योद्धाहरू भन्न थाले– हरे, श्रीकृष्ण र अर्जुन हामीले हेर्दाहेर्दै निस्के तर हामीहरूले उनीहरूको केही पनि बिगार्न सकेनौं । हामीलाई धिक्कार छ, धिक्कार छ । बालकहरूले जसरी खेलौनाको कुनै पर्वाह गर्दैनन्, त्यसै प्रकार उनीहरू एउटै रथमा बसेर हाम्रो सेनाको कुनै पनि पर्वाह नगरी अगि बढिहाले । उनीहरूको यस्तो पराक्रम हेरेर कोही कोही राजाले भन्न थाले– एक्लै दुर्योधनको अपराधले नै सम्पूर्ण सेना, राजा धृतराष्ट्र र सम्पूर्ण भूमण्डल विनाशतिर बढिरहेको छ तर राजा धृतराष्ट्रको मगजमा यो कुरा अझैसम्म पस्न सकिरहेको छैन । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here