महाभारतबाट सङ्कलन तथा अनुवाद

  • उमाशङ्कर द्विवेदी

अम्बष्ठले एउटा गह्रुँगो गदा हातमा लिएर बारम्बार अर्जुन र श्रीकृष्णमाथि चोट पु¥याउन थाले । अर्जुनले दुइटा बाण हानी गदासहित उनको दुवै भुजा काटिदिए र एउटा बाण हानेर उनको मस्तक पनि छप्काइदिए । राजा अम्बष्ठ यस प्रकार काटिएर धराशयी हुन पुगे ।

यस प्रकार अर्जुनले जयद्रथको वध गर्ने इच्छाले द्रोणाचार्य र कृतवर्माको सेनालाई चिर्दै व्यूहमा छिरेपछि तथा उनको हातबाट सुदक्षिण र श्रुतायुद्धको वध भएपछि आफ्नो सेनालाई तर्सेर भागिरहेको हेरेर दुर्योधन एक्लै आफ्नो रथमाथि चढेर बडो फुर्तीसाथ द्रोणाचार्यको छेउमा आएर भन्न थाल्यो–आचार्य, पुरुक्षसिंह अर्जुन हाम्रो यस विशाल वाहिनीलाई चिर्दै व्यूहभित्र छरिसकेका छन् । अब तपाईंले विचार गरेर उनको नाश गर्ने उपायतर्फ लाग्नुहोस् । हामीलाई त तपाईंकै भरोसा छ ।

आगोले जसरी तृणलाई डढाइदिन्छ त्यस्तै गरी अर्जुनले हाम्रो सेनाको संहार गरिरहेका छन् । यतिबेला जयद्रथका रक्षकहरू बडो सन्देहमा परेका छन् । हामी पक्षका राजाहरूलाई पूर्ण विश्वास थियो कि अर्जुन जिउँदै तपाईंलाई नाघेर व्यूहमा छिर्नै सक्दैनन् तर उनी त तपाईंको सामुमैं व्यूहमा छिरिसके । आज मलाई आफ्नो सम्पूर्ण सेना विकल र विनष्टझैं भइरहेका छन् जस्तो लागिरहेको छ । सिन्धुराज जयद्रथ त आफ्नो घर जान लागेका थिए ।

यदि तपाईंले मलाई अर्जुनलाई मैले रोकिदिन्छु भन्ने वर नदिएको भए मैले उनलाई रोक्ने थिइनँ । मैले मूर्खताको कारण तपाईंको रक्षामा विश्वास गरेर सिन्धुराजलाई सम्झाइबुझाइ रोकेको थिएँ । मलाई विश्वास छ कि यमराजको गाँसबाट बच्न सके पनि आज रणभूमिमा अर्जुनको फेला परेपछि जयद्रथको प्राण कस्तै गरे पनि बाँच्न सक्दैन । अतः तपाईंले कुनै यस्तो उपाय गर्नुहोस्, जसबाट सिन्धुराजको रक्षा हुन सकोस् । अत्याहटमा मैले कुनै अनुचित कुरा गरेको भए त्यसबाट कुपित नभएर कुनै पनि प्रकारले जयद्रथको रक्षा गर्नुहोस् ।

द्रोणाचार्यले भने– राजन्, मैले तिम्रो कुनै पनि कुराको दुःख मान्दिनँ । मेरोलागि तिमी अश्वत्थामाको समान छौ तर जुन सत्य कुरा हो त्यो तिमीलाई भन्दैछु, ध्यान दिएर सुन । अर्जुनका सारथि श्रीकृष्ण छन् तथा उनको घोडा पनि अत्यन्त गतिमान छ । त्यसैले अलिकति बाटो पाउने बित्तिकै ती तत्काल छिरिहाल्दछन ।

मैले सबै धनुर्धारीहरूको सामु युधिष्ठिरलाई समात्ने प्रतिज्ञा गरेको थिए । यतिबेला अर्जुन उनको नजीक छैन तथा उनी आफ्नो सेनाको अघिल्तिर उभिएका छन् । त्यसैले अब म व्यूहको द्वार छाडेर अर्जुनसित लड्न जान्नँ । तिमी कुल र पराक्रममा अर्जुनको समान नै छौ । त्यसैले आफ्ना सहायकहरूलाई लिएर अर्जुनसित युद्ध गर, कुनै पनि कुराको भय नमान ।

दुर्योधनले भने– आचार्यचरण, जसले तपाईंलाई पनि नाघ्न सक्यो, त्यस अर्जुनलाई म कसरी रोक्न सक्छु । ऊ त सबै शस्त्रधारीमध्ये सर्वश्रेष्ठ छ । मेरो विचार अनुसार युद्धमा वज्रधर इन्द्रलाई जित्न सजिलो हुन सक्छ तर अर्जुनबाट पार पाउन सहज छैन । जसले कृतवर्मा र तपाईंलाई पनि परास्त गरेर श्रुतायुद्ध, सुदक्षिण, अम्बष्ठ, श्रुतायु र अच्युतायुलाई नष्ट गरिदियो र सहस्त्रौं म्लेछहरूको संहार गरिदियो, त्यस शस्त्रकुशल दुर्जय वीर अर्जुनको सामु मैले कसरी युद्ध गर्नेछु ?

द्रोणाचार्यले भने– कुरुराज, तिमीले ठीक भन्दैछौ, अर्जुन अवश्य दुर्जय छ तर मैले एउटा उपाय गरिदिन्छु, जसको सहायताले तिमी उसलाई सहजै सहन गर्न सक्छौ । आज श्रीकृष्णको सामु नै तिमीले अर्जुनसित युद्ध गर्नेछौ । यस अद्भुत प्रसङ्गलाई आज सबै वीरले हेर्नेछन् । मैले तिम्रो यो स्वर्णकवचलाई यस प्रकारले बाँध्नेछु, जसले बाण अथवा कुनै पनि शस्त्रको असर तिमीमाथि हुनेछैन । कुनै पनि मानिससहित देउता, असुर, यक्ष, नाग, राक्षस र तीनलोकका वीरहरू पनि तिमीसित युद्ध गर्न आउँदा पनि तिमीलाई कुनै भय हुनेछैन ।

त्यसैले यस कवचलाई धारण गरेर तिमी स्वयं नै क्रोधातुर अर्जुनको साथ युद्ध गर्न जाऊ । यति भनेर आचार्यले तुरुन्तै आचमन गरेर टल्किंदो स्वर्ण कवच लगाइदिएर भने–परमात्मा, ब्रह्मा र ब्राह्मणले तिम्रो कल्याण गरून् । यसपछि उनी फेरि भन्न थाले– भगवान् शङ्करले यो मन्त्र र कवच इन्द्रलाई दिएका थिए, यसैबाट उनले संग्राममा वृत्रासुरको वध गरेका थिए । फेरि इन्द्रले यो मन्त्रमय कवच अङ्गिराजलाई दिएका थिए । अङ्गिराजले यो मन्त्रमय कवच आफ्नो पुत्र बृहस्पतिलाई र बृहस्पतिले अग्निवेश्यलाई दिएका थिए । उनै अग्निवेश्यले यो मन्त्रमय कवच मलाई दिएका थिए । त्यसै कवचलाई तिम्रो शरीरको रक्षा गर्ने उद्देश्यले मन्त्रोच्चारपूर्वक तिमीलाई लगाइदिइरहेको छु ।

आचार्य द्रोणको हातबाट यस प्रकार युद्धको लागि तयार भएर दुर्योधन त्रिगत्र्त देशका सहस्त्रौं रथी र अनेकौं अन्य महारथीहरूलाई साथमा लिएर बाजागाजाको साथ अर्जुनतिर लागे ।

क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here