कञ्चनपुर, ३१ साउन/रासस
“राजनीतिमा संलग्न व्यक्तिले छोटो अवधिमैं शहर बजारमा घर घडेरी किन्छ तथा गाडी चढ्छ” भन्ने सर्वसाधारणको बुझाइ छ ।
पार्टीमा लामो समयदेखि क्रियाशील व्यक्तिले ठेला रिक्सा चलाएर जीविका चलाइरहेका छन् । शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका ५२ वर्षीय जनक कुँवर परिवारको खर्च चलाउन एक दशकदेखि ठेला रिक्सा चलाउँदै आएका छन् । उनी राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश सदस्य र पार्टीको ट्रेड युनियनको प्रदेश संयोजक हुन् । पार्टीको जिल्ला सचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी उनले वहन गरेका छन् ।
सामाजिक क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि सामुदायिक वनको अध्यक्ष रहेर उनले कुशलतापूर्वक कार्य सम्पादन गरेका छन् । राजनीति र सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका उनले परिवारको जीविकोपार्जनका लागि ठेला रिक्सा चलाउँदै आएका छन् ।
बिहान झिसमिसेमैं घरबाट नाश्ता गरेर ठेला रिक्सा लिएर बजार क्षेत्रमा निस्कने उनी साँझ अबेर मात्रै घर फर्कन्छन् । नौजनाको परिवार उनकै आश्रित छ । ठेला चलाएर दैनिक रु सात सयदेखि एक हजारसम्म कमाइ हुने गरेको छ । त्यही कमाइले कुँवर परिवारको चुलोमा आगो बल्छ ।
झलारी, वनसमिति, कलुवापुर बजारमा ठेलामा सिमेन्ट, फर्निचर, फलामे छडलगायत सामग्री उनी दैनिक रिक्सामा बोक्छन् । कुँवरले पीठ्युँमा सिमेन्टका बोरा बोकेर ठेलामा राख्दै गरेको दृश्य यस क्षेत्रका बासिन्दाका लागि नौलो होइन ।
ठेला चलाएर आएको रकमबाट उनले एउटा छोरालाई बिएसी र अर्कोलाई बिबिएससम्म पढाएका छन् ।
परिवारको खर्च ठेला चलाएर मात्रै नधानिने भएपछि उनले कर्जा लिएर घरमैं बाख्रापालन समेत गरेका छन् । “शुरूआतमा पाँचवटा बाख्रा पालेको छु”– उनले भने–“यस व्यवसायलाई बिस्तारै बढाएर लैजाने योजना छ । बाख्राका लागि घाँसखेती समेत गरेका छौं ।”
व्यावसायिक कार्यमा विपन्न वर्गको पहुँच पु¥याउनका लागि सरकारी पक्षबाट सञ्चालित अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुग्नुपर्ने उनले बताए ।
“खेत जोत्नका लागि पावर टिलर ५० प्रतिशत अनुदानमा उपलबध भए पनि आर्थिक अवस्थाले नधान्दा ल्याउन सकिएन”– उनले भनें–“मजस्तै अन्य विपन्नका लागि सरकारले अनुदानका योजना ल्याउनुपर्छ । व्यवसायमा संलग्न भएका र गर्न चाहनेका लागि अनुदान हुनुपर्छ ।”
एक दशकदेखि ठेला चलाउँदै आएका उनी राजनीति गर्ने व्यक्तिले समाजका लागि योगदन दिन सक्नुपर्छ भन्छन्– “राजनीतिलाई कमाइ खाने भाँडो बनाइँदा राजनीति गर्ने व्यक्ति बदनाम हुन थालेका छन्–उनले भने–“राजनीति गर्नेहरू समाजमा सबैभन्दा धनी भएका छन् । त्यतिकै बदनाम पनि छन् ।
खुट्टामा चप्पलसमेत नहुनेसँग अहिले चढ्नका लागि चिल्ला कार छन् । आलिशान घर छन् । न उनीहरूसँग व्यापार–व्यवसाय छ, न पुख्र्यौली सम्पत्ति नै ।” राजनीति गर्नेको सम्पत्ति छानबीन गरी भ्रष्ट्राचारमाथि अंकुश नलाउँदासम्म समाज र राष्ट्रले फड्को मार्न नसक्ने उनको भनाइ छ ।
राजनीति गर्नेले अर्थोपार्जका लागि कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्छ । त्यसो गरिए भ्रष्ट्राचार न्यूनीकरणमा सघाउ पुग्ने उनले बताए । नैतिकता हराउँदै जान थालेकाले राजनीति गर्ने बदनाम भएको चर्चा गर्दै उनले राजनीतिमा प्रवेश गर्ने नयाँ पीढीलाई असल राजनीतिक संस्कार दिनु जरूरी रहेको बताए । काम नभएका बेला उनी ठेलामैं बसेर अध्ययन गर्छन् । राजीतिक दर्शनदेखि समाजका प्रबुद्ध व्यक्तिले लेखेका पुस्तक पढ्छन् ।
प्रस्ट वक्ताका रूपमा रहेका कुँवर राजनीति गर्नेका लागि अध्ययन जरूरी रहेको बताउँछन् । राजनीतिमा प्रवेश गरेका युवालाई उनी अध्ययनशील बन्न भन्छन् । राजनीति कमाउने साधन नभई असल समाज र राष्ट्र निर्माण गर्ने नीति भएको उनको भनाइ छ।
मजदूरी गरेर जीविकोपाजर्न गर्ने व्यक्तिको एक दशकदेखि ज्याला नबढेकोमा उनी चिन्तित छन्। “दश वर्ष पहिले जुन ज्यालामा मजदूर काम गर्दथे, अहिले पनि त्यही ज्याला छ”–उनले भने–“ठेला मजदूरले सामान ढुवानी गरेबापत रु एक सयदेखि पाँच सयसम्म कमाउछ । जसले उनीहरूमा आश्रित परिवारको खर्च धान्न सकिंदैन ।”
ठेला व्यवसायसँगै राजनीतिमा संलग्न उनीसँग घरवासका लागि चार कठ्ठा जग्गा सम्पत्तिका रूपमा रहेको छ । भारतमा मजदूरी गर्न गएका बेला उनले अखिल भारतीय नेपाली एकता समाजमा आबद्ध भएर राजनीति शुरू गरेका हुन् । विसं २०५५ मा स्वदेश फर्केदेखि सक्रिय रूपमा राजनीतिमा संलग्न रहँदै आएका छन् ।