• कुमार रुपाखेती

२००९ असोज २१ गतेको राजपत्र सूचना अनुसार अड्डाको कागजात जतिसक्दो गोप्य राख्नुपर्छ । अड्डाको कागजात बेसरोकारवालाहरूलाई देखाउनु, बताउनु हुँदैन । विनाकाम अड्डामा पस्न र घरायसी कुरा गर्न दिनुहुँदैन भन्ने उल्लेख छ । त्यसबाहेक सेवाग्राहीले जुन कागजात लिनुपर्ने हो त्यसको दरकार किन प¥यो ? भन्ने प्रमाण देखाएपछि मात्र नक्कल सार्न पाइने कानूनी व्यवस्था छ ।

नेपाल सरकारले प्रत्येक जिल्लामा आवश्यकता अनुसार मालपोत कार्यालय स्थापना गर्ने नीति लिएको देखिन्छ । मालपोत कार्यालयले जिल्लाभित्रका प्रत्येक जग्गा तोकिएबमोजिम दर्ता गरेर राख्नुपर्दछ । मालपोत भन्नाले जग्गावालाले प्रचलित कानूनबमोजिम नेपाल सरकारलाई तिर्नुपर्ने मालपोत तथा सोसरह अरू कुनै तिरोलाई सम्झिनुपर्दछ । यससम्बन्धी काम गर्ने सरकारी निकाय मालपोत कार्यालय भनेर चिनिन्छ ।

यस्तो महŒवपूर्ण जिम्मेवारी वहन गर्ने मालपोत कार्यालयहरू अचेल सेवाग्राहीभन्दा बढी लेखनदास र जग्गा माफियाहरूले खचाखच भरिएका देखिन्छन् । जग्गा दलालहरूको सहयोगविना जग्गा बेचबिखन, खरीद–बिक्री असम्भव जस्तै छ । मनग्य लुट्न पाइने, कमिशन आउने भएकाले बेरोजगार, अनपढ र चतुरहरू अचेल यो पेशामा तन, मन, धनले लागेका देखिन्छन् । यिनीहरूसँग अपार शक्तिसमेत छ ।

केही समयअघि बारा जिल्लाको सदरमुकाम कलैयाबाट सिमरामा मालपोतको शाखा कायम गर्न गराउन स्थानीय प्रशासनलाई हम्मेहम्मे परेको थियो । बेसरोकारवाला लेखनदास, जग्गा दलालहरूले सिमरामा मालपोतको शाखा कार्यालय खोल्न नदिन ऐडिचोटी एकै गरेकै हुन् ।

मालपोत कार्यालयहरूमा नाङ्गो नाच नाच्ने लेखनदास, भूमाफिया, जग्गा दलालका अलावा त्यहाँ कार्यरत कर्मचारीहरूको मिलेमतो पनि एक प्रमुख कारण हो । नेपालका झ्यालखानामा अनियमितता गरी थुनामा जाने अधिकांश मालपोत कार्यालयकै कर्मचारी छन् । सरकारी निकायलाई लत्याउँदै बेसरोकारवालाहरूले मालपोत कार्यालयहरूमा रजाइँ गर्दै श्रेस्ता र अन्य महŒवपूर्ण कागजात केलाइरहेको सहजै देख्न सकिन्छ ।

जसरी जग्गा दलाल र लेखनदासविना जग्गा खरीद–बिक्री गर्न नसकिने वातावरण सिर्जना गरिएको छ, ठीक त्यसरी नै यस्ताहरूसँग घाँटी नजोडी कर्मचारीहरूले अतिरिक्त दानापानी कमाउन पनि असम्भव छ । बेसरोकारवालाहरू र भ्रष्ट कर्मचारीबीचको गठबन्धनले आफ्नै पुस्तैनी श्रीसम्पत्ति गुमाउनेहरूसमेत थुप्रै छन् ।

अचेल त मालपोतको अलावा नापी, भूमिसुधार, जिल्ला प्रशासन, प्रहरी चौकीतिर समेत दलालहरू डेरा जमाएर बसेका देखिन्छन् । झन् मालपोत कार्यालय त यिनको ससुराली नै भएको छ । भ्रष्ट कर्मचारी र ‘एनी हाउ पैसा कमाउ’ भन्नेहरूको भीडमा जग्गाधनीहरू पीडित र निस्सासिएको, असिन–पसिन भएको जुनसुकै मालपोत कार्यालयअगाडिको आम दृश्य बनेको छ ।

खराब काममा सदाबहार चर्चामा आइरहने मालपोत कार्यालयको लापरवाहीले अहिले वीरगंज बजार गर्माएको छ । अहिले मालपोत पर्साका अधिकांश श्रेस्ता च्यातिएका, गायब गरिएका अवस्था छ । अहिले पनि यहाँ तीन दर्जनभन्दा धेरै कर्मचारी कार्यरत रहँदारहँदै जनताका नासोहरू नष्ट गरिंदासमेत जिम्मेवारी लिने कोही देखिएको छैन । सरकारी कार्यालयभित्र गैरजिम्मेवार तरीकाले यसरी श्रेस्ताहरू धुजाधुजा गरी च्यातिएको नेपालकै पहिलो घटना हो । दुर्गम क्षेत्रमा बाढी, पहिरोले नष्ट पार्ने महŒवपूर्ण श्रेस्ताहरू वीरगंजमा मान्छेले नै करामत गरिदिएका छन् ।

अचेल मापलोत कार्यालयहरूमा दुई/चार हजार दिएर श्रेस्ताबाट जग्गाधनीको नाम, ठेगानासहितको विवरणको प्रतिलिपि लिएर हिंड्नेहरू थुप्रै भेटिन्छन् । पहिले पहिले लालपुर्जामा जग्गाधनीको नाम र जिल्ला मात्र लेखिंदो रहेछ । २०२८ सालसम्मको जग्गाधनीको पुर्जामा नाम र जिल्ला मात्र लेखिएका थुप्रै जग्गाधनीको नाम र लिस्ट दलालहरूको हातमा देखिन्छ ।

यस्तै, एउटा लालपुर्जाको प्रतिलिपि मलाई पनि एकजना जग्गा दलालले देखाए । ती दलालका अनुसार पर्सा मालपोतका कर्मचारीहरूलाई दुई/चार हजार रुपैयाँ दिएर यस्ता पुराना लालपुर्जाको प्रतिलिपि झिक्ने, अनि जग्गा खोज्दै गाउँ पुग्ने र लावारिस यस्ता जग्गा मेरो हो भन्दै भोगचलन गरिरहेकाहरूलाई प्रमाण देखाऊ भन्दै धम्काउने अनि आफूले प्राप्त गरेको लालपुर्जाको प्रतिलिपि देखाउँदै ‘मलाई जग्गाधनीले पठाएको हो, लालपुर्जा यो हो । तिमीले के आधारमा खनजोत गरिरहेका छौं’ भन्ने प्रश्न तेस्र्याउने अनि यति गरिसकेर जग्गाधनी खोज्न थाल्ने ।

नामः विद्यादेवी, ठेगाना जि. मकवानपुर, जग्गा ३ बिघा १० कट्ठा, जग्गा पर्सा जिल्लामा भएको र २०२८ सालदेखि विद्यादेवीको नाममा दर्ता सो जग्गाधनीको कुनै अत्तोपत्तो नभएकोले मकवानपुर जिल्ला बस्ने, उमेर मिल्ने जोसुकै विद्यादेवी भएपनि सो जग्गा पास गर्न सकिने भन्दै गरेको एकजना दलाललाई मैले पनि भेटेको र राम्ररी चिन्दछु पनि । ती दलालका अनुसार पर्सा जिल्लामा यस्तै आधा अधूरा नाम ठेगाना भएका जग्गाधनीलाई जग्गा छ भन्ने थाहा नभएका सयकडौं लालपुर्जा छन् रे ।

अनि जग्गा दलालहरूले मालपोत पर्साबाट अलिअलि खर्च गरेर यस्ता लालपुर्जाको नक्कल झिकेर गैरकानूनीरूपमा मेरो हो भन्दै खनजोत गरेर खाइरहेका कथित किसानहरूलाई धम्काउन थालेपछि गाउँमा यसरी जमीनमा रजाइँ, कमाइ गरेर खाइरहेकाले मालपोतको श्रेस्ता च्यातिदिए। दलालहरूबाट मुक्ति पाउने भएकोले पनि श्रेस्ता च्यातिने काम भइरहेको बताइन्छ ।

काठमाडौं बस्ने तर पर्सामा आफ्नो जग्गा भएको भनक नपाएका एकजनालाई खोजतलाश गरी दलालहरूले उनको जग्गा करीब १० बिघा पत्ता लागेको भनी बोलाएर सस्तोमस्तोमा ५० लाख रुपैयाँमा बिक्री गराएर लाखौं कमिशन पाएका छन् । यस्तो काम (कथित बेवारिसे जग्गा)बाट लाखौं आम्दानी हुन थालेपछि एकथरी दलालहरूले यस्ता मात्र जग्गा पत्ता लगाउने ऐडीचोटी एक गरी जग्गाधनी पत्ता लगाइ बोलाउन थालेपछि वर्षौंदेखि आफ्नो हो भन्दै भोगचलन गर्नेहरूले श्रेस्ता च्यात्ने, गायब गर्ने गराउने गर्न थालेकोसमेत चर्चा छ ।

आखिर यी सबै काम मालपोत पर्साकै कर्मचारीहरूको मिलेमतोविना सम्भव नभएकोले तथा पर्सा जिल्लाका नागरिकहरूलाई आतङ्कित गर्ने खालको यी श्रेस्ता च्यातिने अभियानका खलनायकहरूलाई हदैसम्मको कारबाई होस् र आमनागरिकको मालपोत रहेको अभिलेख सुरक्षित रहोस्, जथाभावी मान्छेको हातमा नपरोस् भनेर सबै सजग हुनु जरुरी छ । यस्तै हो भने मालपोत कार्यालयलाई जालझेल कार्यालय नामकरण गरे भइगयो नि कार्यालयको श्रेस्ता र कागजातहरू सुरक्षित राख्न नसक्ने पर्सा मालपोत कार्यालयले तपाईं हाम्रा घरजग्गा असुरक्षित बनाउँदै गएको प्रस्टै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here