फरक समाचार
अहिले वर्षाको मौसम छ । वर्षाको कारण धेरैजसो स्थानमा पानी जमेको छ, जमेको पानीमा थुप्रै रोगका कीटाणु हुर्किन्छन्, यसमध्ये एउटा हो लेप्टोस्पायरोसिस । यो रोग लेप्टोस्पायरा नामक ब्याक्टेरियाका कारण पैmलिन्छ र बढीजसो सङ्क्रमित जनावरबाट मनुष्यसम्म पुग्छ । एकबाट अर्को मनुष्यमा सङ्क्रमण फैलिएको मामिला कमै प्रकाशमा आएको छ ।
सङ्क्रमित जनावरजस्तै मुसाको मल, मूत्र वा दूषित पानी, खाना र माटोको सम्पर्कमा आएपछि मनुष्य सङ्क्रमित हुन्छ । धेरैजसो मनसुनको समयमा यस प्रकारको सङ्क्रमण फैलिने गर्छ र यसको कारण हो पानी जम्नु र नमी ।
मुम्बईको मसीना अस्पतालका चेस्ट फिजिशियन डा सुलेमान लधानी भन्छन्– लेप्टोस्पायरोसिसको ब्याक्टेरिया छाला, मुख, आँखा र नाकको माध्यमबाट शरीरमा पुग्छ । जहाँ सरसफाइको कमी छ, वर्षा र बाढी भएको क्षेत्र र जहाँ पानी धेरै समयसम्म जम्छ त्यहाँ यसको सङ्क्रमण बढी देखिन्छ । त्यस्तै खेती किसानी गर्ने क्षेत्र जहाँ मुसाको सङ्ख्या बढी हुन्छ, त्यहाँ पनि यस प्रकारको मामिला बढ्न सक्छ ।
त्यस्तै पानीमा बढी गतिविधि गर्ने जस्तै राफ्टिङ, स्वीमिङ गर्नेहरूलाई पनि मनसुनको क्रममा यस प्रकारको सङ्क्रमण हुन सक्छ । लेप्टोस्पायरोसिसको लक्षणः काम्नु, आँखा चिलाउनु, मांसपेशी दुख्नु, पिसाब फेर्न समस्या, टाउको दुखाइ, अचानक ज्वरो आउनु, छालामा बिमिरा आउनु, बान्ता र डायरिया हुनु आदि हो ।
विज्ञका अनुसार सङ्क्रमणको ७ देखि १० दिनपछि यसको लक्षण देखिन्छ । केही मामिलामा लक्षण ढिलो देखिन सक्छ । यसको थुप्रै लक्षण फ्लु र मेनिन्जाइटिससँग मिल्दोजुल्दो हुन्छ, यसैले मनसुनमा यस्तो कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकसँग सल्लाह लिनुपर्छ । लक्षण देखिएपछि रोगीको रक्त परीक्षण गरिन्छ । सङ्क्रमण भएपछि सेतो रक्त कोशिकाको सङ्ख्या बढी र प्लेटलेट्सको सङ्ख्या कम हुन सक्छ । कम समयमा रोग पत्ता लगाउन रोगीको एलाइजा टेस्ट गरिन्छ ।
डा लधानीका अनुसार यदि सङ्क्रमण गम्भीर छ भने शरीरको धेरैजसो भागमा नराम्रो असर पर्न सक्छ । जस्तै मिर्गौला वा कलेजो फेल हुनु, मुटु फेल, दिमाग सुन्निनु र रेस्पिरेट्री फेल्योर । एन्टिबायोटिकको मदतबाट यसको उपचार गरिन्छ ।
साधारणतया लेप्टोस्पायरा ब्याक्टेरियाबाट सङ्क्रमित रोगी एक साताभित्र रिकभर हुन सक्छ । ५ देखि १० प्रतिशत मामिला यस्तो पनि छ जसमा रिकभरी हुन समय लागेको छ । लामो समयसम्म सङ्क्रमण भएपछि अड्ड नराम्ररी प्रभावित हुन्छ जस्तै मिर्गौला, मस्तिष्क, मुटु र रेस्पिरेट्री सिस्टम ।
त्यसकारण पानी जमेको ठाउँमा नजाने, खुला हातले माटो नछुने, जनावरलाई ओछ्यानमा नराख्ने, घाउ खुला नछाड्ने, वाटरप्रूफ ब्यान्डेज प्रयोग गर्ने, पानी उमालेर पिउने र खुट्टालाई सफा राख्दा यसबाट जोगिन सकिन्छ ।